सबै रेकर्ड तोड्दै नेप्सेमा नयाँ रेकर्ड, हालसम्मकै उच्च बिन्दुमा पुगेर साढे १९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । नयाँ–नयाँ उचाईमा पुगेको नेप्सले साढे २९ सय माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । नेप्सेमा कम मूल्य भएका कम्पनी मर्जरमा जाने हल्ला चलेपछि नेप्से बढेको अनुमान लगानीकर्ताले गरेका छन् ।
त्यस्तै, लगानी गर्ने अन्य क्षेत्र ठप्प हुँदा नेप्सेमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य क्षेत्र कोरोना भाइरसको कारण बन्द रहेका छन् । जेठ १५ गतेको बजेट भाषण र केही दिन अघिको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि सेयर बजारलाई उत्साह थपेको छ ।
जेठ महिनामा नेप्सले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । कारोबार रकममा आएको उछालदेखि नेप्से परिसूचक अझै बढ्ने देखिएको छ । कहिले काहीँ बजारमा सामान्य करेक्शन देखिएपनि नेप्से अझै नयाँ उचाइमा पुग्ने सेयर विज्ञहरु बताउछन् ।
आइबार नेप्सेमा १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ भने २९८३.११ अंकमा बन्द भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यस अघि मंगलबार नेप्से परिसूचक २९६०.१४ अकंमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड आइतबार आज ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, कारोबारमा पनि उछाल आएको छ । आइतबार दिनभरि २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर १ लाख ८२ हजार पटक किनबेच हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो । यो हालसम्म कै उच्च कारोबार थियो । उक्त रेकर्ड ब्रेक गर्दै आइतबार नयाँ रेकर्ड बनाएको हो ।