आफ्नै रेकर्ड तोड्दै नेप्सेमा नयाँ कीर्तिमान, हालसम्मकै उच्च बिन्दुमा पुगेर १९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । कोरोना महारमारीले अर्थतन्त्र ठप्प भएको बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भने रौनकता छाएको छ । देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी छ तर सेयर बजारमा भने ठूलो चलायमान भएको छ । त्यसैले लगानी गर्ने अन्य क्षेत्र सबै ठप्प भएका बेला लगानीकर्ता भने सेयर बजारमा ओइरिएका छन् ।
नयाँ–नयाँ उचाईमा पुगेको नेप्सले ३ हजार पुगेर नयाँ रेकर्ड बनाएको हो । नेप्सेमा कम मूल्य भएका कम्पनी मर्जरमा जाने हल्ला चलेपछि नेप्से बढेको अनुमान लगानीकर्ताले गरेका छन् ।
त्यस्तै, लगानी गर्ने अन्य क्षेत्र ठप्प हुँदा नेप्सेमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य क्षेत्र कोरोना भाइरसको कारण बन्द रहेका छन् । जेठ १५ गतेको बजेट भाषण र केही दिन अघिको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि सेयर बजारलाई उत्साह थपेको छ ।
जेठ महिनामा नेप्सले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । कारोबार रकममा आएको उछालदेखि नेप्से परिसूचक अझै बढ्ने देखिएको छ । कहिले काहीँ बजारमा सामान्य करेक्शन देखिएपनि नेप्से अझै नयाँ उचाइमा पुग्ने सेयर विज्ञहरु बताउछन् ।

सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यस अघि हिजो आइतबार ३८.३२ अंकले बढेर २९८३.११ अंकमा बन्द भएको थियो । जुन हालसम्म कै उच्च बिन्दु थियो, उक्त रेकर्डलाई सोमबार ब्रेक गर्दै नयाँ किर्तिमानी कायम गरे हो ।

त्यस्तै, कारोबारमा पनि उछाल आएको छ । सोमबार दिनभरिमा २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार कित्ता सेयर १ लाख ७५ हजार पटक किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । तर नयाँ रेकर्डमा भने पुग्न सकेन । यसअघि हिजो आइतबार १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको कारोबार भएको थियो । यो नै हालसम्म कै उच्च कारोबार हो ।
