छुट्नु भयो की ? ९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
९ असार २०७८, बुधबार

छुट्नु भयो की ? ९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अषाढ ६ गते, आइतबार देखि बिक्री खुला गरिएको सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (अषाढ ९ गते, बुधबार) अन्तिम दिन हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १ हजार दरमा किन्न पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्