सेयर बजारकाे ओरालो यात्रामा लागेन ब्रेक, कारोबार रकम दिनदिनै घट्दै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागिरहेको छ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज २ समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरी अध्ययन शुरु गरेपछि नेप्सेमा नकारात्मक प्रभाव पारेको छ ।
नेप्सेमा ओरालो लाग्ने यात्रा निरन्तर रहेको छ । बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ । हिजो बुधबार नेप्से परिसूचक ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा बन्द भएको थियो ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । २० अर्ब रुपैयाँको कारोबार भएको नेप्सेमा बिहीबार भने मुस्किलले ७ अर्बको कारोबार भएको छ । बिहीबार दिनभरिमा २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार कित्ता ७८ हजार पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो बुधबार दिनभरिमा २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार कित्ता सेयर ९१ हजार पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ट्रेडिङ समूह २६.१७ अंक, अन्य समूह ३०.२० अंक, जीवन बीमा समूह १४३.८८ अंक, म्युचुअल फण्ड समूह ०.०३ अंक, इन्भेष्टमेन्ट समूह १.६५ अंक, डेभलपमेन्ट बैंक समूह ७२.७३ अंक, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रो समूह ३३.९८ अंक, माइक्रोफाइनान्स समूह ४९.५८ अंक, बैंकिङ्ग समूह ७.७२ अंक, फाइनान्स समूह २९.०८ अंक, निर्जीवन बीमा समूह १७७.२४ अंकले घटेको छ ।
त्यस्तै, बिहीबार होटल तथा पर्यटन समूह ४१.२३ अंक र जलविद्युत् समूह ५५.५० अंकले बढेका छन् ।