बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओ साउदबीचको विवाद सतहमा देखियो

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको विवाद सतहमा देखिन थालेको छ । नियामक निकाय धितोपत्र बोर्डले गरेका निर्णयको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विरोध गरेको छ ।
नेपाल धितोपत्र बोर्डले १ असारमा सूचीकृत ५१ कम्पनीको सूची सार्वजनिक गर्दै दोश्रो बजार मूल्य अत्यधिक बढाइएको बताएको थियो । ती कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको भन्दै लगानीकर्तालाई सचेत गराइएको थियो । बोर्डले यो सूचना सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाबीचको विवाद सतहमा देखिएको हो ।
उक्त कदमको विरोध गर्दै नेप्सेका सीईओ साउदले ‘गलत व्याख्याविश्लेषण गरेर बोर्डले सूचना सार्वजनिक गरेको’ आरोप लगाएका छन् । त्यसपछि बोर्डको उक्त कदमको ‘विरोध किन गरेको’ भन्दै बोर्डका अध्यक्ष ढुंगानाले साउदलाई प्रश्न गरेका थिए ।
सीईओ साउदले समयसमयमा बोर्डको खुलेरै विरोध गर्दै आएका छन् । उनले यसअघिदेखि नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने भन्दै बोर्डलाई दिएको पत्र कार्यान्वयन नभएको आरोप लगाएका थिए । धितोपत्र बोर्डका कारण नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच झगडा हुने गरेको उनले आरोप लगाउने गरेका छन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पूर्व अर्थमन्त्री युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको थियो भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ साउदले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नियुक्ति पाएका थिए । नेप्सेका सीईओ साउदलाई कांग्रेस र सेवोनका अध्यक्षलाई एमालेको ट्याग लाग्ने गरेको छ । नियामक निकाय र कार्यान्वयन निकाय फरकफरक पार्टीले नियुक्त गरेको हुँदा बेलाबेलामा विवाद हुने गरेको जानकार बताउँछन् ।