खुलेकाे तेस्राेे दिनमै रेकर्ड राखेकाे जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । शुक्रबारदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सोमबार साँझ ५ः३० बजेसम्म १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् । सोमबारसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ता शेयरका लागी आवेदन दिएको क्यापिटलले जनाएको छ । यो हालसम्मै उच्च आवेदन परेको हो ।
संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागी आवेदन दिन सकिन्छ । मागभन्दा बढी आवेदन परेकाले आज नै आईपीओमा आवेदन बन्द गरिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।