भविष्यका लागि बचत गर्नेहरूलाई ‘ओपन इन्डेड’ फण्डमा लगानी ‘बरदान’ बन्नसक्छ « Arthapath.com
१५ असार २०७८, मंगलवार

भविष्यका लागि बचत गर्नेहरूलाई ‘ओपन इन्डेड’ फण्डमा लगानी ‘बरदान’ बन्नसक्छ



सन्दीप कार्की
प्रमुख सञ्चालन अधिकृत, सिद्धार्थ क्यापिटल

सिद्धार्थ क्यापिटलले आजबाट ‘सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेण्ट स्कीम’ नामक नयाँ सामुहिक लगानी कोष योजना जारी गर्दै छ । सुरुआति चरणमा यस योजनाबाट २० करोड रुपैयाँ उठाउने कम्पनीको लक्ष्य छ । प्रतिएकाई १० रुपैयाँ दरमा लगानी गर्न पाइने यस योजनामा कम्तिमा १०० देखि २ करोड एकाईसम्मका लागि आवेदन दिन पाइन्छ ।
यो ७ वर्ष वा १० वर्षका लागि जारी गरिएको ‘क्लोज इण्ड’ फण्ड होइन । यो कोष त सिद्धार्थ क्यापिटल रहेसम्म कायम रहने ‘ओपन इण्डेड’ कोष हो । मूलतः भविष्यको योजनाका लागि अहिलेदेखि नै थोरैथोरै पैसा जम्मा गर्न चाहनेले यस्तो योजनामा लगानी गर्नु उचित हुने क्यापिटलका प्रमुख सञ्चालन अधिकृत सन्दीप कार्की बताउँछन् । कार्कीसँग अर्थपथले उक्त सामुहिक कोष योजनाको सन्दर्भमा लिएको अन्तरवार्ता यहाँ प्रस्तुत छ ।

सामुहिक लगानी कोषका एकाईहरू विक्री हुने सुनिश्चितता कति छ ?

शेयर बजार उचाइमा पुगेको बेला र घटेको बेलामा चाहे प्राथमिक शेयर होस् वा चाहे यस्ता सामुहिक लगानी कोषहरू हुन्, विक्रीमा असर त परि नै हाल्छ । बजारको मनोबलले धितोपत्रको मागलाई सधैं प्रभावित पार्छ । बजार घटेको बेलामा भन्दा अहिले ल्याउँदा विक्री गर्न तुलनात्मक रुपले सजिलो हुन्छ । अहिले लगानीकर्ताको सहभागिता बढेको छ । धितोपत्रको कारोबार बढेको छ । हरेक कोणबाट अहिलेको वातावरण निकै सहयोगी हुने छ ।

तपाइँहरूले अहिले यो सामूहिक लगानी कोष सुरु गर्नुको उपयोगिता के हो ?

अहिले हाम्रो फण्डको आकार पनि सानै छ । हामीले २० करोड रुपैयाँकोमात्रै एकाई बेच्न खोजेका छौं । यसको प्रमुख लक्ष्यित वर्ग भनेको कर्मचारी वा श्रमिकहरू हुन् । अहिले हरेक चिजको महँगि दिनानुदिन चर्किरहेको छ । भविष्यमा बच्चाको पढाइलेखाइ, विबाह, व्रतबन्धजस्ता सामाजिक कार्यजस्ता काममा ठूलो पैसा आवस्यक पर्छ । त्यसकारण अहिलेदेखि नै भविष्यका दायित्वका लागि योजना बनाउन ‘ओपन इण्डेड फण्ड’ हितकर हुनसक्छ ।

यो कोषका एकाईमा गरिएको लगानी कसरी फिर्ता लिन सकिन्छ ?

हामीले अहिले एकाई विक्री गर्छौं । सर्वसाधारणमा एकार्ई बाँडफाँट भएको तीन महिनापछिबाट हामीले यस्ता एकाईको खरीद-विक्री कारोबार अघि बढाउँछौं । तीन महिना अघि नै कारोबार सुरु हुन पनि सक्छ । ढिलामा तीन महिनामा हामी कारोबार गर्नसक्ने व्यवस्था मिलाउँछौं ।

‘क्लोज इण्ड फण्ड’हरू स्टक एक्सचेञ्जमा सूचीकृत हुन्छन् । बजारको माग र आपूर्तिका आधारमा कारोबार मूलय निर्धारण भएर विक्री हुन्छ । तर ‘ओपन इण्ड फण्ड’ स्टक एक्सचेञ्जमा सूचीकृत हुँदैन । यस्ता फण्डहरू चाहीँ विक्रेता कम्पनीले नै फिर्ता किनिदिनुपर्ने हुन्छ ।

यसका लागि जुन दिन कारोबार गर्ने हो, त्यसै दिनको ‘खुद सम्पत्तीको मूल्य (एनएभी)’मा आधारित भएर मूल्य तय हुन्छ । एकाई धनिले आफूलाई पैसाको आवस्यकता परेको वा एकाई बेच्न मन लागेको दिन सिद्धर्थ क्यापिटलमा ल्याएर त्यो एकाई बेच्न सक्नुहुन्छ । त्यस्ता एकाईहरू खरीद गरिदिने प्रत्याभूति हामीले दिएका हुन्छौं ।

‘ओपन इण्डेड’ र ‘क्लोज इण्डेड’ फण्डमा एकाई धनिहरूले पाउने फाइदा चाहीँ के फरक हुन्छ ?

हामीले ओपन इण्ड फण्डलाई दुई तरिकाले लिन सक्छौं । एक त, यसलाई आवस्यक परेको बेला बेचेर पैसा लिन सकिन्छ । बढीमा बाँडफाँट भएको तीन महिनामा यसको कारोबार सुरु हुन्छ । अर्को चाहीँ यसलाई बचत स्कीम वा अवकाश योजनाका रुपमा पनि प्रयोग गर्न पाइन्छ ।

म मेरा छोराछोरीको नाममा महिनाको १ हजार, १५ सय वा २ हजार रुपैयाँ हाल्दै जान्छु भन्न पनि पाइन्छ । यसरी तपाइँले हरेक महिना थोरैथोरै पैसा जम्मा गर्दै जान पनि सकिन्छ । अघिल्लो पुस्तासम्म हामीलाई बच्चा जन्माउँदा धेरै आर्थिक चासो र चिन्ता लिनु जरुरी थिएन । तर अब समय फेरिएको छ । भविष्यमा हुने बच्चाका लागि पनि अहिलेदेखि नै योजना बुन्दै जानुपर्ने आवस्यकता छ ।

भोलि बच्चाले डक्टर पढ्छु भन्ला, के गर्छु भन्ला । त्यस्तो बेला एकै पटक पैसा निकाल्न कठीन हुन्छ । त्यसकारण अहिलेदेखि नै थोरै थोरै पैसा यस्ता कोषमा जम्मा गर्ने हो भने भविष्यमा सजिलो हुन्छ । हामीले अहिले थोरै पैसा जम्मा गर्दा त्यसले हाम्रो जीविकोपार्जनमा पनि धेरै असर गर्दैन । सँगसँगै पैसा बचत पनि भइरहेको हुन्छ । यो नै ओपन इण्डेड फण्डको सबैभन्दा राम्रो फाइदा हो ।

तपाइँले महिनाको २-३ हजार यसरी जम्मा गर्नुभयो भने ५ वर्ष वा १० वर्षमा ठूलो रकम जम्मा भइसक्छ । योसँगै तपाइँले शेयर बजारको लाभ पनि पाउनु हुन्छ । आजको दिनमा हामीले यो फण्डबाट आएको पैसा शेयर बजारमै लगानी गर्छौं । शेयर बजार सधैं यसरी बढ्ने पनि हुँदैन ।

तपाइँले ५ वर्ष, ७ वर्ष वा १० वर्षका लागि लगानी गर्नुभयो भने बजारको सर्कल पुरा भएको हुन्छ । त्यस्तो बेलामा औसत प्रतिफल नै अन्य क्षेत्रमा पाउनेभन्दा बढी हुन्छ । यसरी ओपन इण्डेड फण्डले तपाइँको बचत र प्रतिफल दुबै बढाउन सघाउँछ ।

दोस्रो बजारमा किन्न नपाइने भएपछि यसले लगानीकर्तालाई अलमलमा पार्दैन ?

कसैलाई तुरुन्तै पैसा चहियो भने फण्ड म्यानेजर वा फण्ड म्यानेजरले नियुक्त गरेका वितरकहरूकहाँ गएर एकाई विक्री गर्न सकिन्छ । मैले पैसा हालेँ, अब ५-६ वर्षपछि मात्रै पैसा आउँछ भनेर कुरिरहनु पर्दैन । किन्नलाई पनि त्यस्तै व्यवस्था हो ।

‘क्लोज इण्डेड फण्ड’ किन्छु भन्नेले स्टक एक्सचेञ्जमै गएर किन्नुपर्ने हुन्छ । तर यसमा त्यस्तो पर्दैन । जागिरे मान्छेले नागरिक लगानी कोष वा कर्मचारी सञ्चय कोषमा पैसा हालेजस्तै गरी पैसा लगानी गरिरहन पनि पाइन्छ । नियमित बचत गर्छु भन्नेका लागि ‘ओपन इण्डेड फण्ड’ निकै फाइदाको प्रडक्ट हुन्छ । यसमा अलमलमा पर्नुपर्ने केही छैन ।

नेपालको बजारमा ‘ओपन इण्डेड’ नयाँ योजना हो । यसले जनविस्वास पाइहाल्ने संभावना छ र ?

एक-डेढ वर्षअघि एनआईबीएल क्यापिटलले नेपालमा ओपन इण्डेड सुरु गरेको थियो । त्यसपछि खर्चरैमात्रै एनआईसी एसिया क्यापिटलले सुरु गरेको छ । यसकारण नेपालका लागि यो नयाँ योजना नै हो । नेपाल बाहिर त हामीले नयाँ भन्न मिल्दैन । विदेशतिर धेरैजसो ठाउँमा ‘क्लोज इण्ड’भन्दा ‘ओपन इण्ड’ नै बढी चलाइएको पाइन्छ ।

हामी तेस्रो योजना ल्याउँदै छौं । अरु संस्थाहरूले पनि अहिले अनुमति माग्ने क्रम चाहीँ बढेको छ । अबको ५-१० वर्षमा ‘ओपन इण्ड’को बजार पनि विस्तारै विकास हुन्छ । अहिलेका लागि म्युचुअल फण्ड भनेको धेरैले ‘क्लोज इण्ड’लाई बुझेको हुनसक्छ । विस्तारै मानिसहरू यसमा पनि अभ्यस्त हुने छन् ।

सबै मान्छेले बजार बुझेका हुँदैन । बजारबारे यथेष्ट जानकारी नभएका मान्छेले म्युचुअल फण्डमा पैसा लगानी गरेर चुपचाप बस्न सक्छन् । कोष व्यवस्थापकहरूले नै त्यो पैसाको अधिकतम उपयोग गरेर बढी प्रतिफल निकाल्ने कोषिस गरिरहेका हुन्छन् । थाहा नहुने र जोखिम लिन नखोज्ने मान्छेका लागि म्युचुअल फण्ड महत्वपूणर् हुन्छ । यसले सर्वसाधारणलाई जोड्दै जाँदा जनविस्वास पनि बढ्दै जान्छ ।

सामूहिक लगानी कोषहरूको प्रतिफल अपेक्षाकृत हुन सकेन भन्ने गुनासो बढ्न थालेको छ नि ?

प्रतिफल भनेको कहिलेकाही संस्था अनुसार तलमाथि पनि हुनसक्छ । तर औसतमा हेर्ने हो भने पनि अहिले कोषहरूले वर्षमा १५-१६ प्रतिशतको प्रतिफल दिएका छन् । यो मुद्दति खाताको ब्याजभन्दा बढी नै हो । हाम्रो सिद्धार्थ क्यापिटलको पहिलो म्युचुअल फण्डले ४८ प्रतिशतसम्म प्रतिफल दिएको थियो । शेयर बजार घट्दो बेलामा निकालेका फण्डले पनि ९ देखि १३ प्रतिशतको वार्षिक प्रतिफल दिएका छन् ।

त्यस कारण खासगरी शेयर बजारमा जोखिम बढी भएको समयमा र बजारलाई राम्रोसँग नबुझेका लगानीकर्ताको सन्दर्भमा सामुहिक लगानी कोषको प्रतिफल राम्रै छ । यस्ता फण्डहरू ल्याउनुको ‘कन्सेप्ट’ पनि जोखिम नलिने वा अञ्जान लगानीकर्ताको हित गर्ने नै हो ।

प्रतिफलको हिसाबले मात्रै मापन गर्ने हो भने ‘क्लोज इण्डेड’ फण्डमा भन्दा ‘ओपन इण्डेड’मा कत्तिको फरक पर्छ ?

हामीले कोषमा जम्मा भएको पैसा लगानी गर्ने तरिका त लगभग उस्तै नै हो । लगानी गर्ने क्षेत्र पनि एउटै हो । शेयर बजार, मुद्दति निक्षेप, कर्पोरेट बण्ड (ऋणपत्र)मा लगानी गर्ने हो । तर ‘ओपन इण्ड’ विचार गर्नुपर्ने कुरा के हुन्छ भने, यसका एकाईहरू धितोपत्रको दोस्रो बजारमा कारोबार हुँदैन । नेप्सेमा सूचीकृत नहुने भएपछि तपाइँले हाम्रो एकाई किन्नु भएको छ र तपाइँलाई भोलि ती एकाई बेच्न मन लाग्यो भने हामीकहाँ नै आउनुहुन्छ ।

यही कारण जसरी बैंकहरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्नका लागि भनेर ऋण नदिइकन केही पैसा बैंकमै राख्नुपर्ने हुन्छ, हामीले पनि त्यसरी नै केही पैसा छुट्याउनु पर्छ । ताकी, भोलि कोही एकाई धनिले आफूसँग भएको एकाई बेच्न चाहेमा हामी किन्नका लागि सदा तयार रहन सकौं । यसरी हामीले नगद व्यवस्थापन गर्नु पर्ने भएकाले एकाई बेचेर आएको सबै पैसा लगानी गर्न सकिँदैन ।

यसले गर्दा ‘क्लोज इण्ड’भन्दा ‘ओपन इण्ड’मा केही कम प्रतिफल हुन पनि सक्छ । तर यो कुरा कोष व्यवस्थापकले कसरी काम गर्छ भन्नेमा भर पर्छ । बढ्दो बजारमा थोरै पैसा लगानी गर्नेले पनि कहिलेकाहीँ धेरै नाफा कमाएका हुन्छन् भने धेरै लगानी गर्नेले पनि कहिले काहीँ कम नाफा कमाउन सक्छन् । त्यसकाण यो व्यवस्थापन कौशलमा भर पर्छ ।

अहिले हाम्रो बजारमा अवकाश योजना वा भष्यिको बचतका लागि जीवन बीमा, सरकारी ऋणपत्र र नागरिक लगानी कोषजस्ता बचत योजनाहरू छन् । ‘ओपन इण्डेड’ सामूहिक लगानी कोष ती परम्परागत विकल्पभन्दा के फरक हुन्छ ?

सबैले प्राप्त गरेको पैसालाई लगानी गर्ने भनेको उस्तैउस्तै ठाउँमा हो । बीमा कम्पनीहरूले पनि मुद्दति खातामा राखेको हुन्छ, शेयर बजारमा लगानी गरेको हुन्छ । ऋणपत्र र नियामकले तोकेको सीमाभित्र घरजग्गमा लगानीस् गर्छन् । हामीले पनि धितोपत्र बोर्डले तोकेको भन्दा बाहिर लगानी गर्न पाइँदैन । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले गर्ने लगानी पनि त्यसरी नै हो । खाली यसका क्षेत्र र सीमा थोरबहुत फरक पर्छ ।

सबै सम्पनीले त्यही लगानीबाट आएको पैसा शेयरधनि वा एकाई धनिलाई बाँढ्ने हो । यसको धेरै फरक पर्दैन । हामीले धेरैजसो लगानी शेयर बजारमा लगाँछौं । यो क्षेत्र अरुभन्दा बढी जोखिम हुन्छ । अरुमा संस्थाले मुद्दति निक्षेपमा हालेको पैसाको जोखिम कम हुन्छ ।

तपाइँहरूको अनुमानित प्रतिफल दर कस्तो छ ?

हामीले भविष्यमा फण्डलाई कसरी विकास गर्न सक्छौं, यसको उच्च प्रतिफल कसरी हासिल हुन्छ भन्ने कुरा अहिले नै अनुमान गर्न कठीन हुन्छ । तर सामान्य रुपमा हामी १० वर्ष जतिमा दोब्बर पैसा दिनसक्छौं भन्ने योजनामा छौं ।

हाम्रो परम्परागत भएर गरिएको अनुमानले पनि १० वर्षमा ७० देखि ८० प्रतिशत प्रतिफल कम्तिमा दिनसक्छौं भन्ने अनुमान गरिएको छ । यसो भन्दै गर्दा हामीले कोषको आकार कसरी बढाउन सकिन्छ भन्ने कुराले महत्वपूणर् भूमिका खेल्ने छ । कोष जति बढाउन सकियो, त्यति नै धेरै प्रतिफल दिन सकिने हुन्छ ।

तपाइँहरूको नयाँ योजनामा ग्राहकलाई केही नयाँ सुविधा पनि छ की ?

हामीले यस पटक लगानीकर्तालाई ग्रोथ अप्सन र डिभिडेण्ड अप्सन भन्ने दुई वटा विकल्प दिने सोचेका छौं । सिस्टेमेटिक इन्भेस्टमेण्ट प्लान (एसआईपी)मार्फत् हामीले यो प्राथमिक निष्काशनको बाँडफाँट भएर कारोबार सुरु भएपछि हामीले यी दुई विकल्प प्रस्तुत गर्ने योजना बनाएका छौं ।

यसमा ग्रोथ अप्सन भनेको कस्तो भने, हामीले अर्को वर्ष मानौं ५ प्रतिशत ल ाभांश दिने भयौं । अब कोही लगानीकर्ताले त्यो लाभांशलाई पुनः एकार्ई किन्नमा सिधै खर्च गर्ने सुविधा पनि हुने छ । यसलाई ग्रोथ अप्सन भनिएको हो । त्यसो नगरेर ‘होइन, मलाई पैसाको खाँचो छ, म पैसा लिन्छु’ भन्न पनि पाइन्छ । यसलाई ‘डिभिडेण्ड अप्सन’ भनिएको हो ।

यसमा कसैले १५ वर्षपछि मेरो सन्तान पढाउनु छ, अहिले हरेक सालको लाभांश किन लिनु ? बरु त्यसको पनि एकाई किन्दै जाउँ भन्ने सुविधा हुन्छ । तर प्राथमिक निष्काशनभन्दा पछि किन्दा चाहीँ एनएभीकै मूल्यमा किन्नुपर्ने हुन्छ । यद्यपि, हामीले बीचमा ग्रोथ अप्सनलाई डिभिडेण्ड अप्सनमा वा डिभिडेण्ड अप्सनलाई ग्रोथ अप्सनमा रुपान्तरण गर्ने सुविधा पनि एकार्ई धनिले पाउने छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्