बाहिरी जिल्लामा यातायात सञ्चालन गर्न नपाएको भन्दै व्यवसायिको बिरोध

काठमाडौं । यातायात व्यवसायीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन भइसक्दा पनि बाहिरी जिल्लामा प्रतिबन्ध कायम राखिएको भन्दै विरोध जनाएका छन् । उनीहरुले संक्रमणको सबैभन्दा उच्च जोखिम भएको ठूलो शहरमा यातायात सञ्चालन भइसक्दा समेत बाहिरी जिल्लामा खुला नगर्नुैलाई ‘विभेद’ भनेका छन् ।
उपत्यकामा आजदेखि जोरबिजोर प्रणालीमा २५ भन्दा बढी सीट क्षमताका बसहरु सञ्चालनमा आएका छन् । तर उपत्यका बाहिर अझै पनि अधिकांश जिल्लामा सार्वजनिक यातायात सञ्चालन भएका छैनन् । उपत्यका बाहिरबाट भित्र आउने र यहाँबाट बाहिर जाने सार्वजनिक सवारी साधनमा पनि प्रतिबन्ध कायमै राखिएको छ ।
व्यवसायीहरुले यस्तो विभेदप्रणर् नीति सच्याएर यातायात सञ्चालन गर्न दिने व्यवस्था नगरे १८ असारबाट विद्रोह गर्ने चेतावनी समेत दिएका थिए । सरकारले कोभिड-१९ को दोस्रो लहरसँगै निषेधाज्ञा लागू गरेपछि दुई महीनादेखि सार्वजनिक यातायात बन्द रहेको थियो ।
यातायात व्यवसायीले दुई महीनादेखि यातायात बन्द रहँदा श्रमिकलाई बिहान बेलुकाको छाक टार्न पनि समस्या भएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले काठमाडौं बाहिर पनि सञ्चालन गर्नुपर्ने बताए । उनले उपत्यका बाहिर सवारी साधन सञ्चालन नहुँदा हजारौं यातायात मजदूर मर्कामा परेको बताएका छन् ।
यातायात व्यवसायीले उपत्यकाभित्र लागू गरिएको जोर-बिजोर प्रणाली पनि हटाउन माग गरेका छन् । यसले गर्दा यात्रुको चाप बढेर कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने उनीहरूको भनाइ छ ।