साढे १५ लाख लगानीकर्ताले किन दिएनन् आईपीओमा आवेदन ?

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार डिम्याट खाताको संख्या ३६ लाख ३१ हजार ५९८ रहेको छ । जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ८८७ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । यो तथ्याङ्क अनुसार अझै १५ लाख ४३ हजार ७११ जनाले आईपीओमा आवेदन दिएनन् ।
यो तथ्याङ्कले प्राथमिक सेयर (आईपीओ) मा आवेदन नभर्ने भन्दा भर्ने ६ प्रतिशत बढी रहेको छ । जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड बनाएपनि ५७.५ प्रतिशतले मात्रै आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङको कारणले नभई अन्य कारणले गर्दा साढे १५ लाखले आईपीओमा आवेदन नदिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताएका छन् । धेरै समय संचालनमा नआएपछि बैंक खाता जस्तै डिम्याट खाता पनि निष्क्रीय हुने सीईओ आचार्य बताउँछन् ।
आईपीओमा आवेदन नदिनुको कारणबारे सीईओ आचार्य भन्छन्, “केही मान्छेको मृत्यु भएको हुन्छ, केही ब्यक्ति विदेशमा हुन्छन्, केहीसँग इन्टरनेटको पहुँच हुँदैन्, २०६४ सालमा कृषि विकास बैंकको आईपीओमा आवेदन दिनका लागी दुर्गमका जनतालाई पनि डिम्याट खाता खोल्न लगाए तर तिनीहरु अहिले मार्केटमा सक्रिय छैनन् ।”
जलविद्युत प्रभावित क्षेत्रका स्थानिय प्रभावितलले सेयर किन्न डिम्याट खाता खोल्छन् तर बजारमा खासै सक्रिय रुपमा नआउने गरेको सिडिएसका सीईओ आचार्यले बताए । उनले भने, “जलविद्युतले प्रभावित क्षेत्रकालाई सेयर दिन्छन् तिनीहरु बजारमा एक्टिभ्ली आउँदैनन् ।” तर यति धेरै आवेदन पर्नुनै अधिकतम भएको उनको भनाई छ ।
सिडिएस एण्ड क्लियरिङका सीईओ आचार्यका अनुसार पछिल्लो समय सेयर र क्यापिटल मार्केटमा मध्यम र धनी बर्गका मान्छेले एप्लाई गर्न छाडेका छन् । किनभने २०–२१ लाखले आवेदन दिएका हुन्छन्, १० प्रतिशत पनि पर्ने सम्भावना हुँदैन, १० कित्ताका लागी किन भर्ने भन्ने सोचले पनि आवेदन दिन छाडे । खेतीको समय भएकाले र कोरोनाले गर्दा गाउँमा रहेकाले पनि केही ब्यक्तिले आवेदन दिन नपाएको उनले बताए ।
जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिँदा मेरो सेयरमा समस्या नदेखिएको उनले दावी गरेका छन् । यसअघि मेरो सेयरमा समस्या आउँदा केही लगानीकर्ता आवेदन दिनबाट बञ्चित हुने गरेका थिए तर यस पटक भने कुनै समस्या नदेखिएको आचार्यले बताए । ६ महिनादेखि लगानीकर्ताबाट आउने गुनासोलाई सम्बोधन गर्न सफल भएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।