निफ्रा बैंकको नाफा सामान्य घट्दा ब्याज आम्दानी बढ्यो, कर्जा लगाीन भने २९५.७७ प्रतिशत बृद्धि « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

निफ्रा बैंकको नाफा सामान्य घट्दा ब्याज आम्दानी बढ्यो, कर्जा लगाीन भने २९५.७७ प्रतिशत बृद्धि



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.२६ प्रतिशत घटेर ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद नाफा ८४ करोड ७१ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ३५ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब २३ करोड ६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेर १ अर्ब १८ करोड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ । गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ ।

गत बर्ष असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेर २० अर्ब रुपैयाँ, जगेडा कोष ४९.८५ प्रतिशत बढेर २ अबै ४० करोड ७ लाख ८१ हजार रुपैयाँ, निक्षेप २०.६५ प्रतिशत बढेर ३० करोड १६ लाख ४० हजार रुपैयाँ र कर्जा २९५.७७ प्रतिशत बढेर २ अर्ब २७ करोड ३१ लख ५२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ११७.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्