नेपालमै कोरोनाको खोप उत्पादन गर्ने गठबन्धन सरकारको घोषणा !
काठमाडौं । सरकारले खोप उत्पादनका लागि नेपालमै “भ्याक्सिन ल्याब” स्थापना गर्न पहल गर्ने योजना अघि सारेको छ । आज गठबन्धन दलहरूको संयुक्त सरकारको साझा न्यूनतमक कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारिएको हो ।
यसअघि रूस सरकारले नेपालमै उनीहरुको खोप उत्पादन गर्न सघाउने प्रस्ताव गरेको समाचार आएका थिए । रूसले “स्पुतनिक” खाेप उत्पादन गरिरहेको छ । संसारमा पहिलो पटक उसले मानवमा कोभीड-१९ विरुद्धको खोप प्रयोग गरेको थियो ।
नेपालमा हालसम्म खोपको उत्पादन भएको छैन । औषधि उत्पादनमा स्वदेशी कम्पनीहरु निकै अग्रसर भइसकेको भए पनि खोपको उत्पादन भने अघि बढ्न सकेको छैन । अधिकांश खोप नेपालले छिमेकी मुलुक भारतबाट आयात गर्दै आएको छ ।
भारत संसारकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भएकाले पनि नेपालमा खोप उत्पादनको संभाव्यता कमजोर रहेको औषधि उद्योगीहरूले बताउँदै आएका छन् ।
यद्यपि, सरकारले खोप उत्पादनको साँच्चै पहल गर्ने हो वा होइन, कसरी उत्पादन गर्ने हो भन्ने कुनै स्पस्ट मार्गचित्र प्रस्तुत गर्न सकेको छैन । हाललाई सैद्धान्तिक रुपमा गठबन्धन दलहरू स्वदेशमै खोप उत्पादनबारे विचार गर्न सहमत भएका छन् । यो प्रस्ताव देशभित्रै रसायनिक मल उत्पादन गर्ने योजनाजस्तै कालान्तरसम्म लम्बिन पनि सक्छ ।