गरिमा विकास बैंक सबै सूचकमा चम्कियो, नाफा ४३ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी २२.४५ रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४२.९६ प्रतिशत ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत बढेर १ अर्ब ९३ करोड ६५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब ६२ करोड २३ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४३.८४ प्रतिशत बढेर १ अर्ब १६ करोड ९० लाख ९२ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर २ अर्ब ६५ करोड २४ लाख ८९ हजार रुपैयाँ रहेको छ । तर बैंकको नेट फि कमिशन आम्दानी ७९.४६ प्रतिशत घटेर ३९ करोड १५ लाख ६८ हजार रुपैयाँमा सिमित भएको छ ।
बैंकको वितरणयोग्य मुनाफा ६० करोड ५७ लाख १२ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.५० प्रतिशत बढेर ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ, जगेडा कोष ४६.०३ प्रतिशत बढेर १ अर्ब ६१ करोड ७८ लाख ७४ हजार रुपैयाँ, निक्षेप ५०.६० प्रतिशत बढेर ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैयाँ र कर्जा ४८.६० प्रतिशत बढेर ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा बढेर २२ रुपैयाँ ४५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी १७.८२ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।