केजी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्यायो एसवाईएम बाईक, एक वर्षभित्र एक हजार बाइक बिक्री गर्ने « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

केजी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्यायो एसवाईएम बाईक, एक वर्षभित्र एक हजार बाइक बिक्री गर्ने



काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा भित्र्याएको एसवाईएम कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ । एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो ।

शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।एसवाईएम ताइवानको उत्पादन हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याएको छ ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०/१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

कमलपोखरीसँगै कम्पनीले चाबहिल, शंखुवासभा र इलाममा पनि शोरुम सञ्चालनमा ल्याउँदैछ । देशभर शोरुम विस्तार गरिने खत्रीले बताइन् । पहिलो चरणमा टेष्ट ड्राइभ गर्न सकिने र बुकिङ गर्ने ग्राहकलाई छिट्टै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
बाइकको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।

स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्