आईपीओ भर्नेको संख्या अत्यधिक बढ्दा सबैलाई पर्न सक्ने विकल्प के हुन सक्छ ? « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

आईपीओ भर्नेको संख्या अत्यधिक बढ्दा सबैलाई पर्न सक्ने विकल्प के हुन सक्छ ?



काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण ब्यापक रुपमा बढ्दै गएको छ । प्राथमिक बजारमा धमाधम विभिन्न कम्पनीका प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुल्न थालेपछि डिम्याट खाता खोल्नेको संख्या झण्डै ४० लाख पुगेको हो । पछिल्लो २ महिनाको अवधिमा झण्डै साढे ४ लाख जनाले नयाँ डिम्याट खाता खोलेका छन् । 

धितोपत्र बोर्डले गत आर्थिक बर्षको जेठ २७ गतेसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३५ लाख ४९ हजार २४७ डिम्याट खाता सञ्चालनमा थिए । दुई महिना अर्थात चालु आवको साउन २७ गतेसम्मको तथ्याङ्क अनुसार ४ लाख ३६  हजार ९८८ जनाले नयाँ डिम्याट खाता खोलेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ डिम्याट खाता पुगेका छन् । यो संख्या हेर्दा सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको देखिएको हो । 

२०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो । उक्त संख्या शतप्रतिशत बढेर ३५ लाख पुगेको थियो । यहि रफ्तारमा डिम्याट खाता खोल्ने संख्या बढ्ने हो भने चालु आवमा पनि उच्च दरमा डिम्याट खाता बढ्ने देखिएको छ । दुई महिनाको अवधिमा मेरो शेयर खाता प्रयोगकर्ताको संख्या पनि झण्डै ५ लाखले बढेको छ । चालु आवको साउन २७ गतेसम्म सिडिएसको तथ्याङ्क हेर्दा ३० लाख ८१ हजार २७२ जना प्रयोगकर्ता छन् । गत आवको जेठ २७ गतेसम्म मेरो शेयर खाता प्रयोगकर्ताको संख्या २६ लाख थियो ।  

हाल विभिन्न कम्पनीको आईपीओमा २२ लाख सम्म आवेदन पर्ने गरेको छ । तर यति धेरै संख्यामा आवेदन दिँदा थोरै सङ्ख्याले मात्रै आईपीओ पाउने गरेका छन् । ४० लाख डिम्याटमा २२ लाखले आवेदन दिँदा १० कित्ता पनि हात पार्न भाग्यको भर नै पर्नुपरेको छ । आईपीओ नपरेपछि लगानीकर्ता निराश हुनु परेका छन् । तर आवेदन दिएका सबै लगानीकर्तालाई आईपीओ पर्ने अर्काे विकल्पबारे नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष तथा कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । 


आईपीओ भर्नेको संख्या अत्यधिक बढिरहेको छ, सबैलाई आईपीओ पर्न सक्ने विकल्प के हुन सक्छ ? 

सबै लगानीकर्तालाई आईपीओ पर्नका लागी ठूला कम्पनीहरू आउनुपर्छ । नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा) र नेपाल रि इन्स्योरेन्स कम्पनी जस्ता कम्पनीहरू आउनुपर्ने हुन्छ । जुन कम्पनीको क्यापिटल धेरै छ त्यस्ता कम्पनीहरूले आईपीओ जारी गर्नुपर्छ । ससाना कम्पनीहरूले आफ्नो क्यापिटलको पूरै सेयर जारी गर्ने भन्ने कुरा पनि हुँदैन । कम्पनीले ३० प्रतिशतदेखि ४९ प्रतिशत आईपीओ जारी गर्छन् । सानो कम्पनीमा अप्लाई गर्ने धेरै हुने बित्तीकै सबैलाई नपर्ने भएकाले ठूला कम्पनीहरू आउनुपर्छ । अन्य विकल्प छैन्, किनभने सबैलाई परोस भनेर नै न्यूनतम १० कित्ता दिएकै छ । भोलिका दिनमा अहिले बढिरहेको चाप घट्यो भने मात्रै हो । 

पहिलो पटक सर्वाेत्तम सिमेन्टको आईपीओ बुक विल्डङ विधिमार्फत आउँदैछ, यसले लगानीकर्तालाई आईपीओ नपर्ने समस्या हुन्छ की हुँदैन ? 

सर्वाेत्तम सिमेन्टको आईपीओ दुई तरिकाले हेर्नुपर्छ, एउटा कम्पनीको तर्फबाट र अर्को सर्वसाधारणको तर्फबाट । रियल सेक्टरका कम्पनीहरू ल्याउने भनिएको छ तर १ सय रुपैयाँमा इस्यू गर भनेर तिनिहरु आकर्षित नभएका हुन् । त्यस्ता कम्पनीहरू ल्याउन बुक विल्डीङमा जानैपर्छ । बुक विल्डीङमा जाँदा सबैलाई नपर्न सक्छ । धेरै बर्ष पुराना कम्पनी र राम्रो लाभांश दिनसक्छ भने १ सय रुपैयाँमा आईपीओ ल्याउ भन्दा अप्लाई गर्नलाई पनि सुहाउँदैन नि । कम्पनी खोल्न नसकेपनि त्यसको रियल भ्याल्यूको आधारमा सेयर किन्ने पनि हुन्छन् । त्यस्ता कम्पनीमा अहिलेको जस्तो धेरै अप्लाई गर्नेहरु घट्छन् होला । किनभने अहिले १ हजार रुपैयाँमा १० कित्ता अप्लाई गर्न पाउँछ । परे ठिकै छ नपरे भने त्यो पैसा फिर्ता आउँछ । भोलि त्यहि १० कित्ताको लागी मानौ ७ सय रुपैयाँ भयो भने १० कित्ताका लागी अहिलेको ७ पटक हाल्नु पर्यो । कतिपयले त्यो नहाल्न पनि सक्छन् । 

करिब ४० लाख डिम्याट खाता पुगेका छन, तर आईपीओमा आवेदन दिनेको संख्या २२ लाख छ, अझै १८ लाख जतिले आवेदन किन दिएनन् ? 

ठूला इन्भेष्टरहरु यहि ४० लाख डिम्याट खातामध्ये नै हुन् । १० कित्ता परेर पनि के नै हुन्छ भन्ने पनि छन् । संघसंस्थाहरु जसको डिम्याट छ, उनीहरुले १० कित्ता हाल्दैनन् । कतिले के खुलिरहेको छ भनेर ध्यान नदिएको पनि हुन सक्छ । 

डिम्याट बढ्दा बजारमा लगानीकर्ता आकर्षित भएका छन् यसले के सन्देश दिन्छ ?

एउटा सर्वसाधारणले पनि बजार बुझे । सर्वसाधारणको पहुँचसम्म बजार पुग्यो भन्ने हुन्छ । अर्काे अनलाइनले पनि सजिलो भएको छ । पहिला लाइन लागेर हाल्नुपर्थ्यो । अहिले त पैसा होल्ड हुने मात्रै हो, भोलि परेन भने आफ्नै खातामा पैसा रहन्छ । सिस्टमले सजिलो बनाई दियो । मार्केटमा चार्मिङ पनि छ । बजारमा कूल जनसंख्याको १२ प्रतिशत जति लगानीकर्ता आइसकेका छन् । सबै हिसावले हेर्दा यो त्यति सानो संख्या होइन, ठूलै हो । नेपालको सेयर बजार हेर्ने हो भने प्रतिशतका हिसावले भारतमा पनि यति धेरै छैनन् । भारतमा साढे २ प्रतिशत मात्रै छ । 


प्रतिक्रिया दिनुहोस्