मुख्यमन्त्री त्रिलोचन भट्टले हामीसँगै प्रवासमा लामो समय काम गर्नुभयो तर प्रवासीका दुःख बिर्सिनुभयो: अम्मर विष्ट (अन्तर्वार्ता) « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

मुख्यमन्त्री त्रिलोचन भट्टले हामीसँगै प्रवासमा लामो समय काम गर्नुभयो तर प्रवासीका दुःख बिर्सिनुभयो: अम्मर विष्ट (अन्तर्वार्ता)



सुदूरपश्चिम प्रदेशमा करिव २५ लाख बढी जनसंख्या रहेको छ । १२ महिना नै काम गर्ने कुनै त्यस्तो पेशा व्यवसाय सुदूरपश्चिममा छैन् । तर घरधन्दा चलाउनका लागी कुनै पेशा व्यवसाय नभएपछि भारत जानुको विकल्प छैन् । तर आफ्नो देश छाडेर अर्काको देशमा बाध्यताले जानुपरेको छ । घरपरिवारको खर्च चलाउनका लागी भएपनि प्रदेश जानु परेको हो । त्यसको एक मात्र विकल्प भनेको भारत गएर रोजगारी गर्नु हो । तर अर्काको देशमा काम गर्न सजिलो कहाँ हुन्छ र, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । कति नेपाली रोजगारी वा अन्य कामका लागी भारत गएका छन् सरकारसँग कुनै तथ्याङ्क छैन् । तर बाक्लो सङ्ख्यामा नेपाली भारतमा रहेका छन् ।

भारत आउनु जानु भनेको एउटा गाउँबाट अर्को गाउँ जानु  आउनु जस्तै हो । यसरी आउँदा जादा होस वा उतै बस्दा होस् भारतमा नेपालीले विभिन्न समस्या खेप्नु परेको छ । यस्तै समस्या समाधान गर्न सबै नेपाली एक हुन थालेका छन् । पछिल्लो समय भारतका विभिन्न स्थानमा नेपालीहरू एकजुट भएर संगठन निर्माण गरिरहेका छन् । सोही मध्येको एक हो,सेती महाकाली प्रवास सेवा समिति भारत । यो संगठन सन् २०२० जनवरीमा स्थापना गरिएको हो । हाल सङ्गठनमा सुदूरपश्चिम प्रदेशका ६ हजार भन्दा धेरै प्रवासी नेपाली सदस्य रहेको दावी गरिएको छ । प्रवासमा नेपालीका समस्या समाधान गर्न निर्माण गरिएको सेती महाकाली प्रवास सेवा समिति भारतका केन्द्रिय अध्यक्ष अम्मर विष्टसँग गरिएको अन्तर्वार्ताको सार यहाँ प्रस्तुत गरिएको छ ।

सेती महाकाली प्रवास सेवा समिति (भारत) कस्तो संगठन हो र कुन उद्देश्यले स्थापना भएको हो ?  

(सुदूरपश्चिम प्रदेश) सेती महाकाली भूगोलभित्र बस्ने नेपाली हाल भारतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा छन् । सुदूरपश्चिम प्रदेशमा रहेका सेती र महाकाली नदिको नामबाट संगठन स्थापना गरिएको हो । विशेषगरी सुदूरपश्चिम प्रदेशका जनता सङ्गठनमा सहभागी भएका छन् । भारतका विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने नेपालीहरूको समूहलाई सङ्गठनमा सहभागी गराउँदै विकृति विसंगतिलाई हटाउने र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले संगठन विस्तार गरिएको हो । संगठन विस्तारले प्रवासमा पनि नेपालीहरू जुटेर बस्न सक्छन् भन्ने सन्देश दिएको छ । यो संगठन प्रवासको ठाउँमा मात्रै नभएर नेपालको समाजलाई नयाँ ढंगले रूपान्तरण गर्ने उद्देश्यका साथ हामी नीतिगत रुपमा अगाडि बढेका छौँ । 

हाम्रो प्रदेशको नाम सुदूरपश्चिम रहेको छ, तर तपाईँहरूले सेती महाकाली नै किन राख्नु भएको हो ? 

सेती र महाकाली नदि हिमालदेखि बगेका नदि हुन् । परापूर्वकालदेखि प्राकृतिक रुपमा बहदै आएका यी नदिले सुदूरपश्चिमको विशेषता झल्काउँछ । यी दुवै नदिले समग्र सुदूरपश्चिमको भूगोललाई समेटेको छ । हिमालबाट उत्पत्ति भएर तराईतिर बग्ने भएकाले सम्पूर्ण भूगोललाई समेटेको हो । आफैमा ऐतिहासिक र महत्व बोकेका सम्पदा भएकाले यसको नामबाट नै हामीले नामाकरण गरेका हौँ । 

जयपृथ्वी बहादुर सिंह, भीमदत्त पन्त, दशरथ चन्द जस्ता व्यक्तित्वले देशका लागी योगदान गरेर शहीद बनेका छन्, उहाँहरूको नामबाट पनि राख्न सकिन्थ्यो नी ? 
 
जयपृथ्वी बहादुर सिंह, भीमदत्त पन्त, दशरथ चन्द, जयराज भट्ट जस्ता बिर ब्यक्तिहरूलाई हामीले अभिभावक र दर्शनका रुपमा बुझेका छौँ । उहाँहरूको त्याग र बलिदानले हामीलाई नामाकरण गर्न प्रेरित गरेको हो । तर उहाँहरूलाई हामीले अभिभावक र दर्शनका रुपमा अगाडि सार्यौ ।  सेती महाकाली दुईटै नदिलाई ऐतिहासिक महत्वपूर्ण गाथा बोकेको हुनाले हामीले यही नै नाम राखेका हौँ ।

सेती महाकाली प्रवास सेवा समितिले केके काम गर्छ ? 

संगठन बनेपछि आफै सामाजिक विकास कार्यमा टेवा पुर्याउँछ तर पनि महत्वपूर्ण उन्नति र समाजको लागी गर्नुपर्ने भूमिका चाँहि फरक हुन्छन् नै । हामीले धेरै किसिमका व्यवस्था परवर्तन भएका देख्यौ । संविधानदेखि ब्यवस्था नै परिवर्तन गर्यौ । तर संविधान र ब्यवस्था मात्रै परिवर्तन गरेर समाज परिवर्तन नहुँदो रहेछ । मानव समाजलाई परिवर्तन गर्न वैचारिक रुपमा परिवर्तन हुनुपर्ने रहेछ । वैचारिक परिवर्तन गर्नका लागी सङ्गठनले समाजभित्र रहेका विकृतिविसङ्गतिलाई अन्त्य गर्नुपर्छ, समाजमा विकासका साथै चेताना दिनुपर्ने हुन्छ । परम्परागत सोच बदल्नका लागी नयाँ तरिका र नयाँ भिजन हुनुपर्ने हुन्छ । समाजलाई विकास गर्न जनताका मौलिक हक अधिकारको सुनिश्चितता हुनुपर्छ । समाजमा भएका केही ब्यक्तिका स्वेच्छाचारिता र भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने हुन्छ । हाम्रो सङ्गठनले यी सबै कुरालाई पुरा गर्नेमा विश्वस्त छौँ ।

यो सङ्गठनमा कुन–कुन जिल्लाबाट सहभागी भएका छन् ? 

विशेषगरि सङ्गठनमा बझाङबाट बढी सहभागी भएका छन् । किनभने मुख्य नेतृत्व बझाङबाट नै गरिएको छ । बाजुरा, डोटी, बैतडी, कैलाली, कञ्चनरपुरबाट धेरै सङ्ख्यामा हाम्रो सङ्गठनमा जोडिएका छन् भने डडेल्धुराबाट अलि कम सहभागी छन् । प्राय हामीले सुदूरपश्चिमका सबै जिल्लालाई छुने प्रयास गरेका छौँ । तर जति धेरै संख्या बझाङबाट छ, अरु जिल्लाबाट हुन सकेको छैन् । सबै जिल्लाका प्रवाशीहरुलाई जोड्नका लागी हामी निरन्तर रुपमा लागी रहेका छौँ । 

सबै जिल्लाबाट धेरै सङ्ख्यामा सहभागी गराउन संगठनको योजना केके छन् ? 

संगठन विस्तार गर्नका लागी रणनीति नै बनाएका छौँ । हामीले सुदूरपश्चिमका ९ वटा जिल्ला मात्रै नभएर नेपालका अन्य जिल्लाबाट पनि सहभागी गराउने भन्ने योजना छ । फाट्टफूट्ट अन्य जिल्लाबाट सहभागी भएका पनि छन् । संगठनका पदाधिकारीले आ–आफ्नो क्षेत्रबाट निस्वार्थ भावनाले दिनरात नभनि खटिरहनु भएको छ । उहाँहरूको प्रयासले नै देशभरिका प्रवाशी जनतालाई समेट्ने छौँ । 

भारतका कुन–कुन राज्यमा संगठन विस्तार गर्नुभएको छ ? 

तामिलनाडू, कर्नाटक, आन्द्र प्रदेश, दिल्ली, गुजरात, देहरादून, मुम्बै लगायतका राज्यहरुमा हाम्रो संगठन विस्तार गरेका छौँ । आगामी दिनमा भारतभरि नै जहाँ नेपाली उपस्थिती रहेको छ, त्यो ठाउँमा संगठन विस्तार गर्ने रणनीतिमा छौँ । 

हालसम्म कति सदस्यहरु छन् र कार्यक्रम कसरी गर्नुभएको छ ?
 
हालसम्म ६ हजार सदस्यहरु हाम्रो सङ्गठनमा जोडिनुभएको छ । कोरोना महामारीको समयमा नै हामीले संगठन विस्तार गर्यौ । समय समयमा हामीले भर्चअल (अनलाइन) मिटिङ गर्ने गरेका छौँ । अब कोरोना महामारी सकिएपछि हामीले भौतिक उपस्थितीमा कार्यक्रम गर्ने योजना बनाएका छौँ । 


भारतमा सेती महाकाली प्रवास सेवा समिति जस्तै अन्य थुप्रै संगठनहरु रहेका छन्, अब यी सबै संगठनलाई एकिकृत गर्ने कुनै योजना छ ? 

हाम्रो लक्ष्य र उद्देश्य एकिकरण नै हो । भारतमा बस्ने नेपालीले धेरै संगठन खोल्नुभन्दा पनि एउटा शसक्त रुपमा वैचारिक समूह नै विस्तार गर्ने हो । विधिसम्मत रुपमा अगाडि बढ्नुपर्छ भन्ने हो । भारत हाम्रो छिमेकी देश हो । भारतबाट हामीले धेरै फाइदा लिनसक्ने छौ । नेपाल सरकारले भारतबाट धेरै फाईदा लिनसक्ने त्यस्तो कुनै नीति नल्याएपनि हाम्रो सङ्गठनले गर्न सक्ने भन्ने कुरा छन् । तर धेरै संगठनहरु स्वार्थका लागी मात्रै निर्माण भएका देखिन्छन् । केही सङ्गठनले लामो समयसम्म सङ्गठनमा काम गरेर आर्थिक हिनामिना गरेर भागेका घट्नाहरु पनि छन् । त्यस्तो स्वार्थ भएका ब्यक्ति र संगठनहरु एकिकृत हुन चाहेको देखिदैँनन् । 

आर्थिक हिनामिना गरेर भाग्ने कुरा उठाईहाल्नुभयो, तपाईको सङ्गठनमा पनि यस्तो अवस्था हुँदैन भनेर कसरी विश्वास गर्ने ? 

यो विषयमा हामी दृढ विश्वास छौकी, आर्थिक गतिविधि अब्बल, राम्रो ब्यवहार भएको र जिम्मेवार ब्यक्तिलाई सङ्गठनले पहिचान गरि जिम्मेवारी दिन्छन् । हामीले जिल्ला, राज्य र केन्द्र स्तरमा आर्थिक गतिविधिका लागी कोषध्यक्षलाई जिम्मेवारी दिने गरेका छौ । हामीले सानोतिनो रकम संकलन गरेर समस्यामा परेकालाई सहयोग गर्ने गरेका छौँ । आर्थिक समस्यामा परेकालाई सबैले दिएको रकम नै सहयोग गर्ने हो । हामी त्यस्तो उद्देश्यले संगठन स्थापना गरेका होइनौ । अरुको सङ्गठनमा जस्तो हाम्रो सङ्गठनमा त्यस्तो हुँदैन । संगठनका सदस्य साथीहरुलाई पनि त्यस्तो भ्रममा नपर्न आग्रह गर्छु । हामीसँग शुन्य रकम छ । तर पनि सामाजिक कार्य गर्न हामी पछाडि परेका छैनौ । दिल्ली राज्यमा र कर्नाटक राज्यमा हामीलाई समस्या परेका ब्यक्तिबाट सहयोगका लागी सूचना आएको छ, अब हामीहरु नै जसले जति सक्यो रकम संकलन गरेर खर्च जुटाउने तयारीमा छौँ । 

नेपालमा राजनीति गर्न नसकेका ब्यक्तिहरु भारतमा गएर संगठन विस्तार गर्दै राजनीति गरेको आरोप पनि लाग्ने गरेको छ नी ? 

यस्ता किसिमका कपोकल्पित आरोप लाग्नु स्भाविक नै हो । हिजोका दिनमा हामी राजनीतिक पृष्ठभूमिबाट आएकाले आरोप पनि लाग्नु स्वभाविक हो । हामीले निस्वार्थ भावनाले प्रवासी नेपाली समुदायलाई बौद्धिक रुपमा विकास गर्न खाजेका हौँ । नेपालमा भएका बेथिती र भ्रष्ट्राचारका बारेमा संगठनभित्र वैचारिक रुपमा उठान भएको छ । स्थानिय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधिले नै भ्रष्ट्राचारको ठूलो पर्खाल निर्माण गरेका छन् । कालो सम्पत्ति आर्जन गरेका छन् । यस्ता मुद्धाहरुलाई सङ्गठनले विरोध गर्ने भएकाले आरोप लगाएका हुन सक्छन् । हिजोका दिनमा हामी राजनीतिक पृष्ठभूमिबाट आएपनि निस्वार्थ भावनाले संगठन नै स्थापना गरेका हौँ । बिशेषगरि गैर नाफामुलक संस्था भएपनि हाम्रो मुद्धा भनेको सामाजिक विकास र सुदूरपश्चिमका विषयबस्तु माथि नै हुन्छ । यसले गर्दा उनीहरु भयभित भएर आरोप लगाएको हुनसक्छ । 


यो संगठन नेपालमा आएपछि लागू हुन्छ की हुँदैन ? 

नेपालमा रहेका जनता र प्रवासमा रहेका नेपाली जनता अत्यन्तै दृढ रुपमा सङ्गठनमा लाग्नुभएको छ । तपाईंहरुले भारतमा मात्र नभएर नेपालमा पनि सामाजिक काम गर्नुपर्छ, हाम्रो पनि सहयोग र समर्थन छ भनेर प्रतिक्रियाहरु आएका छन् । तर ततकालको लागी भारतको भूमिमा मात्रै संगठन विस्तार गर्ने योजना हो । निकट भविष्यमा नेपालमा पनि संगठन विस्तार गर्ने छौँ । कहिले गर्ने भन्ने एकिन नभएपनि जनताले गरेको विश्वास र आशा छिट्टै पुरा हुन्छ । नेपालमा पनि विस्तार गर्नुपर्छ भनेर संगठनभित्र आवाज उठेको छ । तर अहिले हुँदैन समय लाग्छ । 

भारतमा रहेका नेपालीहरुका समस्या केके पाउनु भएको छ ? 

भारतमा रहेका नेपालीहरुका समस्याहरुलाई आधार बनाएर नै संगठनको निर्माण गरिएको हो । गरिखाने बर्गले पहिले देखि नै पिडा भोग्दै आएका थिए । सो पिडा पनि प्रवासको ठाउँमा भोग्न बाध्य भएको अवस्था छ । कुनै ठाउँमा जुवाको पर्खाल छ भने कुनै ठाउँमा मदिराको भण्डार छ, कुनै ठाउँमा अशक्त गरिबलाई विभिन्न किसिमका डरधम्की दिएर पैसा खाएको पाईएको छ, कुनै ठाउँमा महिला बेचविखन गरेको र भारतमा पनि नेपाली महिलाले हिंसा खेप्नु परेको पाईएको छ । हाम्रो सङ्गठनले यस्ता सबै कुराहरुको अध्ययन गरेर प्रवासको धर्तीमा प्रवासी नेपालीहरू संगठित भएर त्यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न र समाधान गर्ने गरेका छौ । भारतमा बस्दा नेपालीले पाउनुपर्ने अधिकारका बारेमा पनि भारतिय प्रशासनमा गएर आवाज उठाउने गरेका छौँ । यस्ता कुनै समस्याहरु आयो भने नजिकको कार्यालयमा गएर उजुरी गर्नुहोला भनेर सबैलाई भनेका छौ । त्यो मुद्धा हामीकहाँ आयो भने सङ्गठनले समाधान गर्न सक्छ की सक्दैन भनेर हेर्छाै र त्यो भएन भने भारतको प्रशासनसँग गएर समाधान गर्ने प्रयास गर्छाै । ठाउँ–ठाउँका संगठनका पधाधिकारीलाई यस्ता किसिमका कुनै समस्या आएमा प्रशासनसम्म पुर्याउन सहयोग गर्न भनेर निर्देशन समेत दिएका छौँ । 
 

कोरोना भाइरस विरुद्ध लगाईएको निषेधाज्ञामा धेरै नेपाली समस्यामा परे, यो महामारीका बेला प्रवासी नेपालीलाई के–कसरी सहयोग गर्नुभयो ? 

कोरोना भाइरसबाट बच्नका लागी हामीले सबै प्रवासी नेपालीलाई जनचेतना दिने काम गर्यौ । साथै, खान, लगाउन समस्यामा परेकालाई हामीले त्यो ब्यवस्था जुटाएका थियौँ । आर्थिक अवस्था नभएका केही ब्यक्तिलाई रकम पनि सहयोग गर्यौ । यसपालिको निषेधाज्ञामा खासै समस्या परेन । दुईचार जनाको समस्या आएको थियो, त्यो समस्या हल गर्न हामीलाई सहज भएको थियो । तर गत बर्षको लकडाउनमा धेरै परिवालाई समस्या परेको थियो । त्योबेलामा खाद्यान्नको सहयोग गरेका थियौ भने आउने जानेको टिकटको समेत व्यवस्था गरेका थियौ । गत बर्षको भन्दा यस बर्ष त्यति धेरै समस्या नआएकाले हामीलाई पनि सहज भएको थियो । 

सेतीमहाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन कसरी ब्यवस्थापन गरिरहेको छ ? 

आधार कार्ड भएका सबै नेपालीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । कतिपय ठाउँमा प्रवासी नेपालीले लगाउन बाँकी रहेको छ । भारत सरकारले तपाई नेपालीहरू कति हुनुहुन्छ, एक ठाउँमा आउनुहोला र यसको ब्यवस्थापन गर्छाै भनेको छ । कतिपय     सांसद, नगर प्रमुखले हामीसँग सहकार्य गरेर कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता पनि जनाएको छ । 

तपाईहरु रोजगारीको शिलशिलामा प्रदेशमा हुनुहुन्छ, तर भ्रष्ट्राचार र बेथितीको बारेमा विरोध गर्ने भन्नु भयो, यो कसरी सम्भव हुन्छ, तपाईँहरूले गरेको विरोध कसले सुन्छ, कुन माध्यमबाट तपाईँहरूले खवारदारी गर्नुहन्छ ? 

जुन ठाउँमा बढी जनसंख्या हुन्छ, त्यहि ठाउँमा नै त्यसले असर गर्दछ । सुदूरपश्चिमको ठूलो जनसंख्या भारत निर्भर छ, हाल पनि ठूलो सङ्ख्यामा सुदूरपश्चिमेलीहरु भारतमा छन् । पछिल्लो समय पढेलेखेका नेपाली युवाहरु भारतमा छन् । यहाँ आएर जसरी पनि पैसा कमाउनुपर्ने हो भन्ने सोच पाईएको छ । तर यो सोचलाई परिवर्तन गर्न आवश्यक छ । जबसम्म हाम्रो समाजले चेतनाको विकास गर्न सक्दैन, तवसम्म भ्रष्ट्राचार र कालोबजारी ब्यापक रुपमा बढ्छ । भ्रष्ट्राचार किन, कसरी, के का लागी गर्छन भनेर मूल कुरा पत्ता लगाउनुपर्छ । गाउँमा आएका योजनाहरुमा जनताको पहुँच नहुनु भनेको चेतनाको कमी हो । भ्रष्ट्राचार अन्त्य गर्न चेतना आवश्यक हुन्छ । त्यसैले भारतमा रहेका युवाहरुलाई भ्रष्ट्राचार विरुद्ध लाग्न प्रशिक्षण गरिरहेका छौँ । हामीले अपराधीको विरुद्ध लड्नका लागी हिम्मत हार्नु हुँदैन र सबै जनताको एकता कायम गर्नुपर्छ । समाजलाई कसरी भ्रष्ट्राचारमुक्त गर्ने भनेर नै निरन्तर प्रशिक्षण गरेका छौँ । यसको प्रभाव छिट्टै देखिने छ भन्नेमा हामी विश्वस्त छौँ । नेपाल गएका संगठनभित्रका पदाधिकारीहरुले भ्रष्ट्राचारको खोजि गर्न शुरु पनि गरिसकेका छन् र नेपाल गएका बेला पदाधिकारीहरुले यस्ता बेथितीमा नजर लगाएका छन् । घरछुट्टीका बेला नेपाल गएका पदाधिकारीले खोजी गर्नुहुन्छ । त्यहि माध्यमबाट नै सङ्गठनले विरोध गर्छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतमा बस्ने नेपालीहरुका समस्या समाधान गर्ने प्रतिवद्धता गर्नुभएको थियो, समाधान गर्नुभयो त ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजोका दिनमा हामी सँगै काम गर्नुभएको हो । उहाँले प्रवासमा लामो समयसम्म काम गर्नुभयो । तर उहाँले त्यो कुराहरु भुल्नु भएको जस्तो मलाई लाग्छ । भुल्न नपर्ने कुराहरु उहाँले भुल्नुभएको छ । नेपालको सबैभन्दा गरिव जनता भारतमा छन् । हरेक चुनावको बेला जनमत दिने अधिकार अथवा भारतबाट नै मताधिकार प्रयोग गर्न पाउने उतीबेला नै उठान गरेका थियौँ । यो मुद्धालाई हाम्रो सङ्गठनले अहिले पनि उठाएको पनि छ । भारतमा रहेका नेपालीहरुले धेरै सिपहरु सिकेका पनि छन् । जस्तै, जुत्ता बनाउने, वाईरिङ गर्ने जस्ता धेरै सिप सिकेका छन् । तरपनि मुख्यमन्त्री भट्टज्यूले त्यतातिर पटक्कै ध्यान दिएका छैनन् । उहाँले यस्ता सिप सिकेका ब्यक्तिहरूलाई नेपालमा नै प्रयोगमा ल्याउन पहल गर्नुपथ्र्याे । 

स्वदेशमा लगानीको अभावमा विस्तार गर्न उपयुक्त वातावरण सरकारले नबनाएको गुनासाहरु हामी कहाँ आएका छन् । भारतमा सिप सिकेका युवाहरु नेपालका लागी केही गर्न आतुर छन् । केही ब्यक्तिले नयाँ उद्योग स्थापना गर्न चाहन्छन् भने हाम्रो सङ्गठनले पनि लगानी गर्ने योजना बनाएको छ । कसरी नेपाली युवाहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ । तर सुदूरपश्चिमका मुख्यमन्त्रीले यत्रो समय भारतमा बिताउँदा पनि छिमेकी देशबाट नेपालले केके कुराको फाइदा लिने हो र सरकारको मुख्यमन्त्री भैसकेपछि जनतालाई कसरी आत्मनिर्भर गर्ने हो ? भनेर फुटो कौणी काम गर्न सकेका छैनन् । यदि तपाईसँग त्यो योजना छैन् भने  हामीसँग सहकार्य गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छाै । यसका लागी हामी साथ दिन तयार छौँ । मुख्यमन्त्रीले प्रवासी नेपालीका समस्या समाधान गर्न कुनै काम नगरेकाले परिणाम पनि छिटै देखिनेछ । 

भारत आउँदा र जाँदा सिमा नाकामा नेपालीले धेरै समस्या खेप्नु परेको छ, बाटोमा लुटीएका घट्नाहरु धेरै आउँछन्, यसको समाधान के हुन सक्छ ? 

बझाङ, डोटी र बैतडीको केही ब्यक्तिहरु यस धन्दामा बढी संलग्न भएका देखिन्छन् । तामिलनाडुमा रहेका साहुहरुले आफ्ना बसहरु नै सञ्चालन गरेर लुटेका पनि छन् । तपाइहरु लुटिने तरिकाले नजानु्होस्, यो अत्यन्तै डरलाग्दो विषय छ भनेर यसका बारेमा जनतालाई सम्झाउने गरेका छौँ । कतिपयका ज्यान पनि गएका छन् । हामीले हाम्रो संगठनको सम्पर्कबाट जानुहोस भनेका छौँ । संगठनका माध्यमबाट जाँदा कुनै ठाउँमा अफ्ठ्यारो पर्दा हाम्रो संगठनका साथीहरुले सहयोग गर्नुहन्छ । तर हाम्रो समुदाय नै मान्दैनन् । बस ब्यवसायीहरुलाई पनि धेरै पटक भनेका छौँ, धेरै रकम लिएर जनतालाई लुछ्ने काम नगर्नुहोस, यसले गर्दा हाम्रो सममाज निकै आतंकित भएको छ । तर यस विषयमा सरोकारवाल निकाय नै मौन बसेको छ । नेपाल पुर्याउँछु् भनेर लग्ने र बाटोमा अलपत्रसम्म पारेका घट्नाहरु छन् । त्यसका लागी हाम्रो सङ्गठनले एक्शन पनि लिएको हो । यसबारेमा हामीले मुख्यमन्त्रीलाई पनि भनेका थियौ तर त्यो कुनै सुनुवाइ नै भएन । 

यस्ता भन्दामा मुख्यमन्त्रीका आसोपासे नै संलग्न रहेका देखिन्छन् । नेपालीहरुका समस्याका बारेमा मुख्यमन्त्री भट्टले केही काम गर्न सकेका छैनन् । सिमा नाकामा हुने समस्यालाई सहज बनाएको छैन् । धनगढी बसपार्क र अत्तरिया बसपार्क वरिपरि नै नेपालीहरू ठगिएका छन् । मुख्यमन्त्री भट्टको कार्यालय नजिक भएपनि केही गर्न सकेनन् । यसबारेमा मुख्यमन्त्री त्रिलोचन भट्टको कानमा पुग्नेगरी भन्छु, रोजगारीका लागी भारत जानेहरुका समस्या किन समाधान हुन सकेनन् ? उहाँलाई मुख्यमन्त्रीको कुर्चीमा पुर्याउने हामी नै हो, कुर्चीमा पुग्ने वित्तीकै भारतमा रोजगारी गर्दाखेरिका समस्या बिर्सिनु भयो की ? भारतमा बसेका नेपालीहरूको संगठनको पैसाले उहाँ मुख्यमन्त्री बन्नुभयो, संगठनको पैसाले नै उहाँले आफ्ना समस्या परिपुर्ती गरेको इतिहास सत्य छ । तर सुदूरपश्चिमका जनतलाई आत्मनिर्भर बनाउन नसकेपनि आउँदाजाँदा हुने समस्या समाधान गर्न पनि कुनै चासो देखाएनन् । हिजो गरिखाने बर्गको मुख्यमन्त्री भनेर हामीले सोचेका थियौ तर त्यो असत्य सावित भयो । आज उहाँ भ्रष्ट, दलाल पूँजीपतिहरुको मुख्यमन्त्री रहेछन् भनेर ब्यवहारबाट पुष्टि भएको छ । 

तपाईंले संगठनभित्र राजनीति गरेको आरोप लागेको छ नी ? 

यतिसम्म निराधार आरोप लगाउने तत्वको कमी छैन् । जनताको आवाज बुलन्द गर्ने, सुदूरपश्चिमका समाजलाई चेतनामुलक बनाउने र युवालाई आत्मनिर्भर बनाउन हेतुले गैर राजनीतिक र गैरनाफामुलक संगठन विस्तार गरेका हौँ । हामी संगठित भएको देखेर भ्रष्ट र कमिसन खान पल्केकाहरुले अनेक आरोप लगाउने गरेका छन् । हामी सबै संगठित भएपछि उनीहरुका सबै कर्तुत बाहिर आउने भएकाले पनि आरोप लगाउन सक्छन् । हिजोका दिनमा राजनीतिक पृष्ठभूमिबाट आएको सत्य कुरा हो । जनताले दुख पाएका छन्, पिडा सम्झेर नै समाजमा चेतना दिन ससंगठन विस्तार गरिएको हो । राजनीतिक पृष्ठभूमि भएकाले भोलिका दिनमा राजनीति नगर्ने भन्ने हुँदैन । तर अहिले गैरनाफामुलक र गैरराजनीतिक संगठनका रुपमा विस्तार गरिरहेका छौँ । आगामी दिनमा राजनीति गर्ने भन्दा पनि राजनीतिले नै हामीलाई खोजदै आउनेछ । तर अहिलेको लागी समाजलाई चेतनामुलक र शिक्षित गर्न मात्रै खोजेका हौँ । त्यसको डाहा गरेर नै अनेक आरोप लगाइएका हुन् । 


प्रतिक्रिया दिनुहोस्