‘हामी कम्पनीहरूको सुक्ष्म अध्ययन गरेर लगानी गर्छौँ’ « Arthapath.com
३ भाद्र २०७८, बिहीबार

‘हामी कम्पनीहरूको सुक्ष्म अध्ययन गरेर लगानी गर्छौँ’



सबिर बादे श्रेष्ठ सीईओ, मेगा क्यापिटल लि.

मेगा क्यापिटल मार्केट लिमिटेडले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड १ निष्काशन गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्दैछ । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याईएको छ । फण्डको अवधि १० वर्षको रहेको छ ।

यो एक बन्दमुखी योजना हो । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गते र ढिलोमा १८ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । अर्थपथ डटकमले म्युचुअल फण्डका बारेमा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठसँग कुराकानी गरेको छ । उक्त कुराकानीको सार यहाँ प्रस्तुत छ

मेगा क्यापिटलले पहिलो पटक म्युचुअल फण्ड जारी गर्दै छ, बजारबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 

‘मेगा’ भन्नेबित्तिकै बजारमा यो ब्रान्ड मेगा बैंकको रुपमा चिनिन्छ । तर मेगा क्यापिटल पनि डिम्याट र पोर्टफोलियोमा ठूलो ग्रोथ गरेको कम्पनीहरूमा पर्छ । त्यो ब्रान्डले गर्दा म्युचुअल फण्ड निकाल्न लागेको छ भनेपछि बजारमा सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीले पोर्टफोलियो व्यवस्थापनमा पनि राम्रो गरिरहेका  छ । कुनै पनि म्युचुुअल फण्ड भनेको पनि आफ्नै पोर्टफोलियो व्यवस्थापन  वा लगानी नै हो । मेगा क्यापिटलले मेगा बैंकको संरक्षणमा राम्रो लगानी व्यवस्थापन गर्छ भन्ने विस्वासमा सबैले लगानी गर्छाैं भनेका छन् । 

शेयर बजार एउटा उचाइमा पुगिसकेको र अब ओरोलो लाग्ने आँकलन हुन लागेको बेला म्युचुअल फण्ड जारी गर्दा कस्तो प्रभाव पर्छ ? 

शेयर बजार धेरै करेक्शन भएको छैन् । निश्चित स्तरमा नाफा बुक गर्नु स्वभाविक नै हो, बुलिश मार्केटमा पनि । हाम्रो फण्ड कलेक्शन भैसकेपछि लगानी गर्दा पनि हामीले महँगोमा शेयर किन्दैनौं । मार्केट हरियो वा रातो जे भए पनि हाम्रो रणनीति त्यही हो । छनोटमा परेका शेयरमात्रै किन्ने हो । बजारको आधारभूत र प्राविधिक दुबै विश्लेषण गरेरमात्रै लगानी गर्ने हो । मान्छेको लगानी मनोबृत्तीलाई समेत हामीले विश्लेषण गरेर कारोबार गर्छौं । 

त्यसकारण हाम्रा लागि आजै र भविष्यमा पनि शेयर बजारको सामान्य करेक्शनले थप अवसर दिन्छजस्तो लाग्छ । राम्रो शेयरहरू सस्तोमा किन्नलाई हामीलाई अवसर हुनेछ । अहिले सञ्चालनमा रहेका म्युचुअल फण्डहरूले राम्रै प्रतिफल दिइरहेका छन् । त्यसमा अझै बढी कमाएर एकाई धनिहरूलाई प्रतिफल दिउँ भन्ने हाम्रो लक्ष्य छ । मार्केटलाई पचाउने मात्रै होइन, मार्केटलाई फिट नै गर्ने हिसावले हामी लाग्छौं । कहिलेकाहीँ करेक्शन हुँदा हामीलाई सस्तोमा बजार छिर्न पाइन्छ । त्यसलाई हामीले अवसरका रुपमा लिएका छौं । 

अहिले बजारले उचाइ ग्रहण गरिरहेको बेला म्युचुअल फण्डहरूले पनि राम्रो आम्दानी गरेका छन् । त्यसैले उनीहरूको लाभांश पनि बढी छ । तर यही अवस्थालाई हेरेर भविष्यको योजना बनाउनु कत्तिको जायज हुन्छ ? 

अहिलेको फण्डहरूले २–३ बर्षसम्म प्रतिफल दिनै नकसेको अवस्था पनि छ । दिन चाहेर पनि नसकेको अवस्था थियो । कति फण्डहरू घाटामै गएका पनि छन् । मचाहीँ त्यसलाई ‘पुरानो तरिका’ भन्छु । 

म्युचुअल फण्डले एक पटक शेयर किन्ने र त्यसलाई बोकिराख्ने प्रबृत्ती धेरैमा देखिएको छ । बीचमा कहिले पनि शेयर नबेच्ने र अन्तमा लाभांश दिने दबाब परेपछिमात्रै बेच्ने पुरानो किसिमको विचारधारा हो । अब हामीले अपनाउन लागेको रणनीति त्यसको विपरित हुन्छ । कतिपय अवस्थामा स्थायित्व दिने कम्पनीहरूमा पनि  लगानी गर्ने हो । 

डिभिडेण्ड दिने कम्पनीहरूमा पनि लगानी गर्नु पर्छ । तर अल्पकालिन ब्यापार भन्छौं नि हामी, दुई–तीन हप्तामै किनबेच गर्ने,  ३–४ प्रतिशत नाफा लिइहाल्ने र त्यही चक्रलाई दोहोर्याउँदै अघि बढ्ने हाम्रो योजना हो । त्यसकारण हामीलाई बजार धेरै माथि जानु पर्दैन । २५–३० प्रतिशत प्रतिफल दिनलाई बजार माथि नगएपनि दिन सक्छांै । 

बजार धेरै माथि नगए पनि हामीले दीर्घकालमा बार्षिक औसत २५ प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखेका छौं । पहिलाको तरिकामा लगानी गर्दा बजार माथि गयो भनेमात्रै प्रतिफल दिनसक्ने, नत्र भने शून्य हुने अवस्था छ । कम्पनीहरूले छिटोछिटो किनबेच नगर्ने परिपाटीले त्यस्तो भएको हो । हामीले नियमित ब्यापार गर्ने हो भने घटबढ भएको बजारमा नै धेरै लाभांश दिनसक्छांै । त्यसैले हामीले लगानी गर्दा अन्य म्युचुअल फण्ड भन्दा फरक हुने छ ।

तपाइँले प्रतिफलको प्रक्षपण त गर्नुभयो । तर त्यो स्तरको प्रतिफल पाइन्छ भनेर एकाई धनिहरूले विस्वस्त हुने आधार के छ ? 
 
हामी शेयर बजारमै बढी केन्द्रित हुन्छौं । डिबेञ्चर र मुद्दति निक्षेपमा थोरैमात्र लगानी गरिने छ । कुल लगानीको १० प्रतिशत रकम मात्रै डिबेञ्चर र निक्षेपमा राख्छौं । ९० प्रतिशत लगानी शेयर बजारमै हुन्छ । शेयर बजार सधैंभरी बैंक निक्षेप र डिबेञ्चर भन्दा आकर्षक लगानी क्षेत्र हो । हामीले लगानीलाई धेरै विविधिकरण गर्दैनौं । 

अहिले सामुहिक लगानी कोषहरूले धेरै कम्पनीको शेयर किनेर जोखिम व्यवस्थापन गरिरहेका छन् । त्यसले गर्दा उनीहरूले धेरै नाफा कमाउने अवसरबाट पनि बञ्चित हुनु परेको छ । धेरै कम्नपीमा लगानी गर्दा एउटामा बढ्छ, अर्काेमा घट्छ । त्यसबाट औसतमा ठिकैमात्र नाफा हुन्छ । यस्तो लगानी प्रबृत्तीले कम्पनीलाई ठूलो खतराबाट त बचायो होला, तर जति नाफा हुन सक्थ्यो त्यो पाईएन । 

त्यही भएर आम लगानीकर्ताहरू म्युचुअल फण्डबाट खासै नाफा आउँदैन भन्ने बुझाइमा पुगिसकेका छन् । हालसालै मात्र त्यो मनोविज्ञान परिवर्तन हुँदै छ । त्यस्तो परिपाटीलाई चिर्न हामीले स्थायित्व दिने खालका कम्पनीमात्र नभइर जोखिम लिने खालको कम्पनीमा पनि हामी लगानी गर्छौं । 

यसका लागि हामी आधारभूत र प्राविधिक दुबै विश्लेषण गर्छौं । धेरै मान्छेले कुन शेयर मन पराइरहेको छ भनेर हेर्छौं । कुनै कम्पनीको लाभांश बाँड्ने तयारी भएको छ वा कुन कम्पनीले कतिसम्म लाभांश दिनसक्छ भन्ने बारेमा हामी भित्रि सूचनाको पनि मिल्नेसम्म अनुसन्धान गर्छौं । त्यसले हामीलाई अल्पकालिन लगानीबाट प्रतिफल लिन सक्ने बनाउँछ । त्यसै आधारमा मेगा म्युचुअल फण्ड फरक हुने छ । 

लाभांश प्रत्याभूति गर्ने पनि त्यही हो । हामी धेरै मिहेनत गर्छौं । छिटोछिटो किनबेच गर्छौं र नाफा बढाउँछौं । कोषमा पैसा जम्मा भएको ८–९ महिनामै हामीले यति पैसा कमायौं भनेर कोष बढाउनेतिर जान्छौं । कोष बढ्नेवित्तिकै लगानीकर्तालाई हाम्रो म्युचुअल फण्डले नाफा कमाइसकेको जानकारी हुन्छ । 

मसँग चार वटा म्युचुअल फण्ड सञ्चालन गरेको अनुभव छ । २ वटा म्युचुअल फण्ड स्थापनादेखि नै सञ्चालन गरेको र २ वटामा बीचबाट काम गरेको छु । ती फण्डहरूले राम्रै लाभांश दिईरहेका छन् । नबिल ब्यालेन्स, नबिल ब्यालेन्स २, समृद्धि फण्ड, समृद्धि फण्ड २ मा मैले काम गरेको छु  । मेरो टीम अनुभवि छ । ४–५ वटा म्युचुअल फण्ड सञ्चालन गरिसकेको टिम हो । 

हामीले शेयर बजार बुलिश भएको पनि देखेका छौं, बियरिश भएको र भूकम्प एवम् नाकाबन्दीका बेलाको बजार पनि देखेका छौं । हालसालैको बजार पनि देख्यौं । सबै तीतो मीठो अनुभव लिएको हुनाले कुन अवस्थामा कसरी शेयर बजारबाट कमाई गर्न सकिन्छ भन्ने बुझेका छौं । 

शेयर बजार बढेको बेला आईपीओको शेयर पनि महँगो मूल्यमा बेचेका बेला नाफा बढाई रहेको देखिन्छ । तर बजार घटेको बेलामा चाहीँ कसरी व्यवस्थापन गर्ने ? 

कोरोना महामारी हटिसकेपछि चीनसँगको दुई पक्षीय ब्यापार बढ्ने र वित्तीय प्रणालीबाट पैसा बाहिर निस्किने अवस्था आउँछ भन्ने पनि धेरैको अनुमान छ । यसले बैंकिङ प्रणालीमा तरलता अभाव सिर्जना गर्छ भन्ने पनि गरिन्छ । 

त्यही हुन्छ भन्ने पनि छैन । तर हाम्रो अनुसन्धानबाट साँच्चै त्यस्तो संकेत देखियो भने हामी केही प्रतिशत नगद ‘होल्ड’ गर्छौं । पैसा छ, सर्वसाधारणबाट पैसा आएको छ, अब हामीले किनिहाल्नुपर्छ भन्ने निचोडमा हामी जाँदैनौं । एउटा शेयरको मूल्य योभन्दा तल जाँदैन, वा यो शेयरको मूल्य पछि हामीले भेट्टाउनै नसक्ने अवस्थामा पुग्छ भनेर हडवडाहट चाहीँ हामी गर्दैनौं । शेयर बजारमा कसैले पनि कुनै पनि मूल्य छुटाएको हुँदैन । मान्छेले धैर्यमात्रै छुटाएको हुन्छ । त्यही हुनाले हामी खस्न लागेको बजारमा लगानी गर्दैनौं । बरु नगद होल्ड गरेर बस्छौं । 

घट्ने क्रम नरोकिएसम्म हामी धैर्यधारण गर्छौं । त्यसपछि राम्राराम्र कम्पनी पनि किन्न लायक मूल्यमा आइसकेका हुन्छन् । त्यसपछिमात्रै हामी शेयर किन्छौं । त्यसरी किनेको शेयर बढाउने हाम्रो प्रयत्न हुन्छ । पहिलेकै मूल्यमा आयो भने पनि हामीले २०–२५ प्रतिशतको नाफा पाउँछौं । यसरी हामी घटेको बजारलाई अवसरका रुपमा प्रयोग गर्छौं । 

म्युचुअल फण्डले एउटामात्रै ब्रोकरबाट कारोबार गर्ने भएकाले इनसाइडर ट्रेडिङ भएको भन्ने सुनिन्छ । फण्डहरूले फरक फरक ब्रोकरबाट कारोबार गर्न मिल्दैन ?

मैले अहिलेसम्म म्यानेज गरेको फण्डमा      फरक फरक ब्रोकरमा नै गर्ने हो । एकलौटी दिनुहुन्न ब्रोकलाई । किनभने त्यसले तुलनात्मक लाभ र गोपनीयता भंग गर्छ । हामी पनि एउटै ब्रोकरमा जाँदैनौं । फरक फरक ब्रोकरमा जान्छौं र जान मिल्छ पनि । जानु पनि पर्छ जस्तो लाग्छ ।

हामीले आफ्नो शेयर कारोबारबारेको सूचना नचुहियोस् भनेर किन्ने वा बेच्ने अर्डर नगरेसम्म त्यो जानकारी चुहाउन नपाउने व्यवस्था गरेका छौं । कसैगरी सूचना चुहियो भने सम्बन्धित कर्मचारीलाई कडाभन्दा कडा सजायँ हुने व्यवस्था मिलाएका छौं । अन्तिम समयसम्म किन्ने वा नकिन्ने भन्ने निश्चित हुँदैन । निश्चित भइसकेपछि पनि त्यो सूचना बजारमा प्रवाह भएको छ भने त्यो गैह्रकानूनी नै हुन्छ । त्यस्तो अवस्थामा हामीले जतिसुकै उच्च ओहोदाको कर्मचारीलाई पनि कडा कारबाही हुन्छ । यसबारे हामीले आफ्ना कर्मचारीलाई स्पस्ट पारिसकेका छौं । 

हामी सामान्यतया ६–७ वटा ब्रोकर प्रयोग गर्न खोज्छौं । अरुलाई पनि कमाउन दिनुपर्छ र सँगसँगै ५ जना ब्रोकरबीच प्रतिस्पर्धा पनि हुनुपर्यो । कसको सेवा राम्रो हुन्छ, कसले ठूलो कित्ताहरू हाम्रो लागि खोजिदिन सक्छन् भन्ने हेर्नुपर्छ । किनभने, जति ठूलो अंकको कारोबार भयो, हामीलाई राजश्व उति नै कम पर्छ । सानोसाना कित्तामा बढी शुल्क र राजश्व लाग्छ । त्यसकारण हामी ब्रोकरहरूको सेवा कस्तो हुन्छ भन्ने हेर्छौं र विजनेश बाँड्छौं । बाँड्नै पर्छ भनेर सबैलाई बराबर बाँड्ने कुरा हुँदैन । जसको सेवा राम्रो छ, उसलाई व्यवसायिक हिसाबले नै विजिनेश बाँड्छौं । 

अहिले बैंकले ब्रोकर लाइसेन्स मागिरहेका छन् । तर क्यापिटलले ब्रोकर लाइसेन्स नपाउनुपर्ने के कारण छ ? 

हाम्रो पनि ब्रोकेज विजनेशमा जाने इच्छा थियो । अन्तराष्ट्रिय बजारमा पनि क्यापिटल मार्केटले ब्रोकरको लाइसेन्स पनि लिएको हुन्छ । ब्रोकरेज सर्भिसको आफ्नै अडिट हुन्छ, म्युचुअल फण्डको आफ्नै अडिट हुन्छ । एउटै संस्था भएपनि ३–४ वटा सर्भिसको लाइसेन्स फरक अडिट गरेर स्वार्थ बाझिने विषयहरू मिलाइएको हुन्छ । जोखिम व्यवस्थापन गरिएको हुन्छ । 

हामीलाई ब्रोकरेज विजनेशमा अवसर दियो भने गर्न सक्छौ र इच्छा पनि हो । सहायक कम्पनी बनाएर गर्नुपर्छ भनेर राष्ट्र बैंकले नियम ल्याएको छ । क्यापिटललाई नगर्ने, दोस्रो सहायक कम्पनीलाई दिने भनेर हाम्रो नियाक र हाम्रा प्रबद्र्धक कम्पनीको नियाकको समेत चाहना देखिन्छ । यस्तो बेला हामीलाई दिनैपर्छ भनेर विरोध गर्ने कुरा हुँदैन । बैंकले नै ब्रोकर लाइसेन्स पाए भने हामीलाई पनि व्यवसायमा सहजै हुन्छ । 

मर्चेण्ट बैंकरहरूले थप काम गर्न खोजिरहेका थिए । यस्ता काम चाहीँ के–के हुन् ? 

मर्चेण्ट बैंकरहरूसँग कतियक सेवाको लाइसेन्स अहिले पनि छँदैछ । संस्थागत परामर्श सेवाको लाइसेन्स पनि कतिपयसँग छ । विजनेश मोडलिङ, विजनेशलाई ऋण मिलाईदिने, सानो–ठूलो विजनेशलाई ऋणमात्रै नभएर लगानीकर्ता पनि खोजिदिने, कम्पनीको व्यवसायिक संभाव्यता र पुर्वानुमान गरिदिनेजस्ता काम गर्न सक्छौं ।  

अरुका सेवा र उत्पादनको बजारीकरण गरिदिने काम पनि हामी गर्न सक्छौं । हामी लगायतका अरु प्राविधिक विज्ञलाई टीममा ल्याएर काम गर्न सकिन्छ । त्यस्तो काम गर्नलाई कसैले पनि रोकेको छैन । हामीजस्तै अरुले पनि गर्न सक्छन् । नबीलमा हुँदा मैले शुरु गरेको थिएँ । त्यहाँ अहिले राम्रै आम्दानी गर्ने अवस्था सिर्जना भएको छ । यहाँ पनि उक्त सेवाका लागि काम सुरु भइसकेको छ । अरुले त्यसमा त्यति धेरै अवसर नबुझेको होकी भन्ने शंका छ । नत्र त्यसमा राम्रै माग छ । 

अर्काे भनेको भेञ्चर क्यापिटलको लागी हामी पनि लाइसेन्स पक्रियामा छौं । अरु दुईचार कम्पनीले लाइसेन्स पाइसकेका छन् । उहाँहरू पनि तयारी चरणमा हुनुहुन्छ । हामी पनि प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलमा लगानी गर्न खोज्दै छौं । प्राइभेट इक्वीटी फण्डले विस्तारै उँभो लागेका व्यवसायमा र कतिपय नयाँ स्टार्टअपमा लगानी गरेर उनीहरूको व्यवसायिक विस्तारमा सघाउँछ । 

अहिले म्युचुअल फण्डहरूको समस्या के छ ? धितोपत्र बोर्डले के गर्यो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ ? 

म्युचुअल फण्डलाई तत्कालै सल्टाइहाल्नु पर्ने खालको जटिल समस्या अहिले छैन । पछिल्लो समय म्युचुअल फण्डमा संस्थागत आयरक लाग्ने की नलाग्ने भन् पछिल्लो बजेटका बेला कर्पाेरेट ट्याक्स लाग्ने की नलाग्ने द्वीविधा थियो । तर पछिल्लो पटक अध्यादेशमार्फत् आएको बजेटले यसलाई ‘नलाग्ने’ भनिसकेको छ । अब अहिलेको सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याए पनि त्यो कुरामा  कुनै परिवर्तन हुन्न भन्ने लाग्छ । 

बजेटको त्यो व्यवस्थाले हामीलाई धेरै राहत भएको छ । नत्र हामीले म्युचुअल फण्ड क्लोज नै गर्नुपथ्र्याे । म्युचुअल फण्डमा पनि ३० प्रतिशत ट्याक्स लाग्ने भएको भए प्रतिफल दिनै सकिँदैनथ्यो । यसमा नयाँ गर्न सकिने भनेको ‘ओपन इण्डेड’ फण्डहरूको बारेमा सचेतना जगाउनु आवस्यक छ । 

यो काम धितोपत्र बोर्ड र हामी म्युचुअल फण्ड सञ्चालकहरूले मिलेर गर्नुपर्छ । म्युचुअल फण्ड भनेको के हो ? कस्तो खालको हुन्छ ? यसमा लगानी गरेर किन फाइदा छ ?, यसलाई आईपीओ वा शेयरसँग होइन, मुद्दति निक्षेपसँग तुलना गर्नुपर्छ भन्ने बारेमा हामीले मानिसहरूलाई सिकाउनु पर्छ । शिक्षा दिनुपर्ने छ । 

म एउटा उदाहरण दिन्छु, म्युचुअल फण्डमा ५–१० प्रतिशत मात्रै पूँजिगत लाभ हुन्छ, अरुमा भए ६–७ सय प्रतिशत बढ्छ भन्ने धेरैले विश्लेषण गरेको देखिन्छ । त्यो बुझाईको कमजोरी हो । आईपीओ र म्युचुअल फण्डको तुलना गर्नै मिल्दैन । कम्पनीको शेयरमा लगानी गर्ने हो भने बढी जोखिम हुन्छ । तर म्युचुअल फण्डमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । 

म्युचुअल फण्डलाई मुद्दति निक्षेपसँग तुलना गर्नु उचित हुन्छ । निक्षेपमा ६–७ प्रतिशतमात्रै ब्याज आउँछ । तर म्युचुअल फण्डले गाह्रो समयमा पनि १०–१२ प्रतिशत बृद्धि गरिरहेको छ । अझ राम्रो समयमा त धेरै नै ग्रोथ गर्छ । यसको बारेमा कार्यविधी नै बनाएर म्युचुअल फण्डको साक्षरताका लागि काम गर्न सक्यो भने धितोपत्र बोर्ड र हामीलाई पनि राम्रै हुन्छ । 

नयाँ आउने म्युचुअल फण्डका लागि त झनै राम्रो हुन्छ । बुझेकोले मात्रै नभएर बझ्नसक्नेले पनि एकाई खरीद गर्न सकोस् । अहिले नेपालमा ४० लाख डिम्याट खाता छन् । तर पनि म्युचुअल फण्डमा ५०–६० हजार मात्रैले आवेदन दिएका हुन्छन् । त्यो भनेको धेरै कम हो । यो ४० लाखले  नबुझेको होकी वा आकर्षण नै नभएको हो । यसमा कारण खोज्न जरुरी छ । त्यो कुरा पत्ता लगाउन धितोपत्र बोर्ड र हामीले संरचनागत रुपमा अनुसन्धान गर्नु जरुरी छ । 


प्रतिक्रिया दिनुहोस्