कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।
३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।