कुलमान विरुद्ध परेको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश, नियुक्ति फाइल ३ दिन भित्र पेश गर्नुपर्ने « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

कुलमान विरुद्ध परेको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश, नियुक्ति फाइल ३ दिन भित्र पेश गर्नुपर्ने



काठमाडौं । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।

त्यसैगरी सर्वोच्च अदालतले कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णय झिकाउन आदेश दिएको छ ।अदालतले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा गरिएको नियुक्ति र विद्युत प्राधिकरण सञ्चालक समितिले शाक्यसँग गरेको कार्यसम्पादन सम्झौताको सक्कल फाइल ३ दिनभित्र पेश गर्न आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस्