अजोडको भित्री कारोबारबारे सेबोनलाई स्पष्टीकरण « Arthapath.com
१३ भाद्र २०७८, आईतवार

अजोडको भित्री कारोबारबारे सेबोनलाई स्पष्टीकरण



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको भित्री कारोबार सम्बन्धमा भइरहेको अनुसन्धानबारे अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत साता पत्र पठाएर अनुसन्धानको अवस्थाबारे सोधेको हो ।

झन्डै पाँच महिनासम्म पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएपछि त्यसबारे जानकारी मागिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । करिब २ महिनाअघि अनुसन्धान सकिए पनि सेबोनले कारबाही परको कुरा, प्रतिवेदनसमेत सार्वजनिक गरेको थिएन । मन्त्रालयको पत्रमा के कारणले प्रतिवेदन गुपचुप राखियो, अनुसन्धानको निष्कर्ष के रह्यो ? लगायत विषयमा जानकारी मागिएको स्रोतको भनाइ छ ।

अजोड इन्स्योरेन्सको भित्री कारोबार सम्बन्धमा जानकारी माग्दै धितोपत्र बोर्डलाई पत्र पठाइएको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीले स्वीकार गरे । ‘हामीले विभिन्न कुराहरू माग गर्दै हरेक दिनजसो पत्र पठाइरहेका हुन्छौं । सोही क्रममा अजोड इन्स्योरेन्सको सम्बन्धमा पनि पत्र पठाइएको हो,’ उनले भने, ‘सेबोनबाट जवाफ पनि आइसकेको छ ।’ गत चैत १९ मा सेयर बजारमा अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भएको थियो ।

त्यसको भोलिपल्ट मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो । उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको थियो । सो दिनको बाँकी कारोबार ब्रोकर नम्बर ५० बाट भएको थियो । उक्त कम्पनीबाट ११ हजार २ सय १९ कित्ता सेयर किनबेच भएको थियो ।

ब्रोकर नम्बर ३३ बाट पनि १० हजार ८ सय ४० कित्ता सेयर किनबेच नेप्सेको तथ्यांक छ । ब्रोकर नम्बर ५० र ३३ बाट भएको कारोबार उक्त दिन अजोड इन्स्योरेन्सको कुल सेयर कारोबारको करिब १०/१० प्रतिशत हो । सो दिन यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको देखिन्छ । भित्री सूचनाका आधारमा कुमारी बैंक र कुमारी क्यापिटलले सेयर खरिद गरेको भेटिएपछि त्यसको छानबिन गर्न अर्थ मन्त्रालयले चैत २४ मा निर्देशन दिएको थियो । निर्देशनमा उक्त कारोबार बारे छानविन गरी अबिलम्ब अर्थ मन्त्रालयलाई जानकारी पठाउने भन्ने उल्लेख थियो । तर, सेबोनले गत सातासम्म जानकारी पठाएको थिएन ।

सोही निर्देशनपछि सेबोनले निर्देशकको संयोजकत्वमा अध्ययन समिति बनाएर अनुसन्धान थालेको थियो । ‘समितिले करिब २ महिनाअघि नै अनुसन्धान सकेको थियो,’ स्रोतले भन्यो, ‘प्रारम्भिक प्रतिवेदन सेबोन अध्यक्षलाई बुझाइएको थियो । त्यहाँबाट केही प्रतिक्रिया नआएपछि थप काम अघि बढेको थिएन ।’ अहिले अर्थ मन्त्रालयले पत्र काटेपछि सोही प्रतिवेदनलाई अन्तिम रुप दिएर पठाइएको स्रोतले बतायो । ‘तयारी अवस्थामा रहेको प्रतिवेदन किन लुकाइयो ?’ स्रोतले भन्यो, ‘तयारी नभएको भए अर्थ मन्त्रालयको पत्र आएकै भोलिपल्ट पठाउन कसरी सम्भव भयो ?’ सेबोनका यी गतिविधि शंकास्पद रहेको स्रोतको दाबी छ ।

‘अनुसन्धानमा पूर्वसूचनाकै आधारमा कुमारी बैंक र कुमारी क्यापिटलले ठूलो परिणाममा अजोड इन्स्योरेन्सको कारोबार गरेको भेटिएको छ,’ स्रोतले भन्यो, ‘कुमारी क्यापिटल र बैंक कर्मचारीका श्रीमतीका नाममा सेयर खरिद भएको छ ।’ स्रोतका अनुसार सो अनुसन्धानमा सकेसम्म कुमारी क्यापिटल र कुमारी बैंकको नामसमेत उल्लेख नगर्न बोर्ड नेतृत्वबाटै अध्ययन समितिलाई दबाब गएको थियो । तर अर्थ मन्त्रालयमा पठाइएको प्रतिवेदनमा अनुसन्धानमा भेटिएका सबै विवरण उल्लेख रहेको स्रोतले बताएको छ ।

‘अर्थ मन्त्रालयले के भन्छ, त्यसकै आधारमा कारबाही अघि बढाउने–नबढाउनेबारे निर्णय होला,’ स्रोतले भन्यो, ‘अनुसन्धानमा भने भित्री कारोबार स्पष्ट रूपमा पुष्टि भएको छ ।’ अजोड इन्स्योरेन्सको भित्री कारोबारपछि नियामक निकाय बिमा समितिले पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ । बिमा कम्पनीमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त व्यवस्था गरिएको थियो । यसअघि यस्तो व्यवस्था थिएन ।कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्