जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्ती बाट भुक्तानी गर्न सकिने

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी, खल्तीले JALTAN सँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यो सँगै जेएलपीटी परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।
विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू JALTAN को कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाइन बसी शुल्क तिर्ने झन्झट गर्नु पर्ने भएकाले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको खल्तीले जनाएको छ ।
उक्त सम्झौतामा यसको लागि JALTAN को अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक सोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।
२० लाख भन्दा बढी प्रयोगकर्ताहरू भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ। ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न, सुन्न, र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ। उक्त परीक्षण बर्षको एकपटक लिइन्छ। जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ।
५ डिसेम्बर २०२१ मा संचालन हुने जापनीज भाषा परिक्षको लागि आवेदन फारम १ हजारजनाले मात्र भर्न पाउने छन् ।