कामना सेवा विकास बैंकद्वारा ट्राफिक लाइट उद्घाटन गरि हस्तान्तर « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

कामना सेवा विकास बैंकद्वारा ट्राफिक लाइट उद्घाटन गरि हस्तान्तर



काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक लाइट उद्घाटन गरि हस्तान्तर गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा न. ३० स्थित ज्ञानेश्वर चोकमा ट्राफिक लाइट उद्घाटन गरि हस्तान्तरण गरेको हो । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सवारी दुर्घटना जोखिम कम गर्न शुक्रबार एक कार्यक्रमबीच सो ट्राफिक लाइट उद्घाटन गरि ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो । 

कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं.३० का अध्यक्ष दल बहादुर कार्की, महानगरीय ट्राफिक महाशाखा रामशाह पथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन बस्नेतले संयुक्त रुपमा स्विच थिचेर ट्राफिक लाइटको उद्घाटन गरेका हुन् । 

बैंकले देश विकासमा टेवा पुर्याउने उद्देश्य अनुसार ज्ञानेश्वर चोकमा ट्राफिक लाइट जडान गर्न पाउँदा आफू खुशी भएको कामना सेवा विकास बैंकका सीईओ प्रविन बस्नेतले बताए । आगामी दिनमा पनि यस्ता अवसर आएमा एक कदम अगाडि बढेर सहर्ष स्वीकार गर्ने र आफ्नो जिम्मेवारी निभ्याउने सीईओ बस्नेत बताउँछन् । 

ट्राफिक लाइट जडानले सवारी दुर्घटना मात्रै नरोकेर अनुशासन र सभ्यताको परिचय पनि देखाउने प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । उक्त प्रविधि जडान गरेकोमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले कामना सेवा विकास बैंकलाई धन्यबाद व्यक्त गरे । यसले गर्दा सहरलाई सुन्दर देखाउने र बैंकले लगाएको लगानीले उचित प्रयोग र प्रतिफल दिनेमा उनको विश्वास छ । 

काठमाण्डौ महानगरपालिका वडा नं.३० का अध्यक्ष दल बहादुर कार्कीले महानगरपालिकाले गर्ने काम कामना सेवा विकास बैंकले गरेकोमा खुशी हुँदै धन्यबाद दिए । बैंकले यस अघि पनि वडा भित्रका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको जानकारी गराउँदै अध्यक्ष कार्कीले भने बैंकले वडा भित्र रहेका विभिन्न मन्दिर परिसर र विभिन्न स्थानमा सडक लाइट समेत जडान गरेको छ । 

वडा न. ३० मा एक मात्रै केन्द्रिय कार्यालय भएको कामना सेवा विकास बैंक आफू नै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने प्रस्ताव लिएर आएको उनले बताए । आफ्नो छिमेकी वडामा १४ वटा बैंकका केन्द्रिय कार्यालय र ५ वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् । उनीहरूले पनि कामना सेवा विकास बैंकले जस्तै सहयोग गर्यो भने महानगरको विकासमा टेवा पुग्ने अध्यक्ष कार्कीको भनाई छ ।

कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक जीवन शर्मा दास, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्की, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्