४ वटा वाणिज्य बैंक सीईओ विहीन, कुन बैंकमा कसको चर्चा ? « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

४ वटा वाणिज्य बैंक सीईओ विहीन, कुन बैंकमा कसको चर्चा ?



काठमाडौं । विभिन्न ४ वटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त रहेका छन् । बैंकमा सीईओ रिक्त भएको लामो समय हुँदा पनि कायममुकायम (कामु सीईओ) ले बैंक सञ्चालन भइरहेको छ । 

सीईओ रिक्त रहेका बैंकहरूमा कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डू हुन् । यी चार बैंकमा सीईओ रिक्त रहेको लामो समय भइसकेको छ, तर बैंक सञ्चालक समितिले सीईओ नियुक्तमा कुनै चासो देखाएका छैनन् । 

नेपाल राष्ट्र बैंकले बैंक वित्तिय संस्थालाई तिन महिनाभन्दा बढी सीईओ रिक्त राख्न नपाउने निर्देशन जारी गरेपछि बैंकहरूले विभिन्न कारण देखाउँदै सीईओ नियुक्ति गरेका छैनन् ।

तुलसीराम गौतमले सेञ्चुरी बैंकको सीईओबाट असार २० गते राजीनामा दिएका थिए । सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरि गौतमको राजनीमा स्वीकृति दिएको थियो । गौतमले राजीनामा दिएको झण्डै ३ महिना पुग्न लागेको छ । सञ्चालक समितिले मनोज न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी दिएको छ । विशेष स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा सूर्या लाइफका पूर्व सीईओ शिवनाथ पाण्डेलाई सेञ्चुरी बैंकको सीईओ बनाउने तयारी रहेको छ । 

त्यस्तै, कुमारी बैंकबाट पूर्व सीईओ सुरेन्द्र भण्डारीले असार ३१ मा राजीनामा दिएका थिए । भण्डारीले राजीनामा दिएको पनि झण्डै ३ महिना पुग्न लागेको छ । भण्डारीले राजीनामा दिएपछि अनुजमणि तिमिल्सेनाले निमित्तको जिम्मेवारी पाएका हुन् । 

बैंक सञ्चालक समितिले अनुजलाई नै सीईओको जिम्मेवारी दिने तयारी थालेको स्रोतले बताएको छ । उनी यसअघि  सेञ्चुरीको सीईओबाट राजिनामा दिएर कुमारीको डेपुटी सीईओ बनेका थिए । त्यसैले पनि उनी कुमारी बैंकको सीईओ बन्ने पक्कापक्की जस्तै छ । तर सञ्चालक समितिले तिमिल्सेनालाई सीईओ नियुक्तिमा बिलम्ब गर्नुलाई विकल्प खोज्न खोजेको पनि चर्चा छ । कुमारी बैंकका केही सञ्चालकहरूले ६ महिनाअघि सनराइज बैंकबाट राजिनामा गरेका जनक शर्मा पौडेलसँग पनि कुराकानी गरेको चर्चा छ ।  

यता सिद्धार्थ बैंकको सीईओबाट शम्भुप्रसाद गौतमले साउन १८ गते राजीनामा दिएका थिए । बैंकको सञ्चालक समितिले साउन २५ गतेदेखि लागुहुनेगरि गौतमको राजीनामा स्वीकृति गरेको थियो । उक्त दिनदेखि  सुन्दरप्रसाद कँडेललाई कायममुकायम (निमित्त सीईओ) को जिम्मेवारी दिएको छ । सिद्धार्थमा सुन्दरलाई नै सीईओको जिम्मेवारी दिने तयारी छ । 

त्यस्तै, गत साउन १९ गते बैंक अफ काठमाण्डूको सीईओबाट शोभनदेव पन्तले अवकाश लिए । सञ्चालक समितिले पन्तको राजीनामा भदौ ४ गतेदेखि लागू हुने गरी स्वीकृति दियो । बैंकको निमित्त सीईओको जिम्मेवारी श्रवणलाल मास्केलाई दिएको छ । बैंक अफ काठमाण्डूका सञ्चालकहरूले ग्लोबल आइएमई बैंकसँग मर्जर गराउने तयारी गरेकाले तत्काल सीईओ नियुक्ति नगर्ने बताएका छन् । केही सातामै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको एमओयु हुने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्