आगामी वर्ष माला आयात गर्न नपरोस : अर्थमन्त्री शर्मा « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

आगामी वर्ष माला आयात गर्न नपरोस : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशलाई फूलमा आत्मनिर्भर गराउन पुष्प व्यवसायीहरूलाई अनुरोध गरेका छन् । शुक्रबार १४ औं गोदावरी पुष्प प्रदर्शनी मेलाको उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले आगामी वर्ष तिहारलाई फूल आयात गर्न नपर्ने गरी उत्पादनमा लाग्न अनुरोध गरेका हुन् ।

नेपालको वार्षिक मागको ९० प्रतिशत फूल स्वदेशी उत्पादनले धान्दै आएको छ । बाँकी १० प्रतिशत व्यवसायीले बाहिरबाट आयात गर्छन् । पुष्प खेतीले अर्थतन्त्रलाई चलायमान गराई व्यापार घाटा न्यूनिकरणमा सहयोग पुर्याउने भन्दै अर्थमन्त्री शर्माले पुष्प व्यवसायलाई विस्तार गर्न आग्रह गरे । विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण तहसनहस भएको पुष्प व्यवसायीले पछिल्लो समय परेको बेमौसमी वर्षाको क्षति समेत बेर्होन परेको अर्थमन्त्री शर्माले बताए ।

पुष्प व्यवसाय विस्तारको लागि सरकार सहयोग गर्न तयार रहेको शर्माको भनाइ छ । उनले भने, ‘फूलको अनुसन्धान, उत्पादन र बजारीकरणमा राज्यले सहयोग गर्छ ।’ वर्षैनी करोडौंको विरूवा आयात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले स्वदेशमै त्यस्ता विरुवाको उत्पादन गर्नुपर्ने बताए । पुष्प व्यवसायीहरूको वजारीकरणको लागि चोभारमा छुट्टै मार्केट हाउस निर्माणाधीनको क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले बताए ।

मन्त्रालयले पुष्प व्यवसायलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी स्वीकृतको चरणमा पुगेको छ । उनले भने, ‘अनाधिकृत रूपमा आउने फूलको लागि हामीले कार्यविधि बनाएका छौं । अहिले मन्त्री ज्युलाई दिएका छौं । मन्त्री ज्युबाट पारित भएपछि मन्त्री परिषद्मा लजान्छौं ।’ वनस्पति विभागका महानिर्देशक बुद्धि सागर पौडेललेकोभिडबाट थलिएको पुष्प व्यवसायलाई यो मेलाले प्रचार प्रसार गर्न सहयोग पुर्याउने बताए ।
उनका अनुसार विभागले टिस्युकल्चर प्रविधिबाट गोदावरी फूलको प्रद्र्धन गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रममा अर्थमन्त्री जनाद्र्धन शर्मालाई व्यवसायीलाई चाहिने कच्चा पदार्थ आयातमा सहजीकरण गरिदिने आग्रह गरे । पछिल्लो समय बोट बिरूवाको लागि आवश्यक पर्ने फर्टिलाइजर आयातमा समस्या आएको भन्दै उनले सहजीकरण गरिदिन मन्त्री शर्मालाई आग्रह गरेका हुन् । श्रेष्ठले सरकारले कुनै पनि व्यवसायलाई नियन्त्रण र नियमन गर्ने भन्दा प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने बताएका छन् ।

ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी पुष्प मेला आजदेखि सुरू भएको छ । फूल प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको हो । कृषि विभाग र फ्लोरिकल्चर एसोसिएसनको संयुक्त आयोजनामा उक्त मेला हुने भएको छ । नजिकिएको तिहार तथा छठ लक्षित आयोजना गरिएको मेलामा विभिन्न प्रजातिका फूल तथा विरूवा प्रदर्शनीमा राखिएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने अभियानका साथ आयोजना गरिएको मेला प्रदर्शनीमा व्यावसायिक ४४ र सूचनामूलक चार गरी ४८ वटा स्टल छन् । पुष्प व्यवसायीहरू प्रतिस्पर्धाका लागि आवश्यक पर्ने फूल–विरूवा कोभिडले तयारी गर्न नसकेका कारण यस वर्ष गोदावरीको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी राखिएको छैन ।

मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई उत्कृष्ट थापा नर्सरीलाई नगद तथा प्रमाणपत्र दिइएको छ । मेलामा ३५ हजार बढीको अवलोकनबाट ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । मेलाले पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउने आयोजकले विश्वास लिएको छ । मेला कात्तिक १५ गतेसम्म चल्ने छ । तिहारमा सयपत्री, गोदावरी र मखमली गरी १८ लाख बढी मालाको माग छ । जसमा सयपत्री १५ लाख ५० हजार, गोदावरी १५ हजार र मखमली ३ लाख हुन्छ ।

तिहारका लागि सयपत्रीका १३ लाख ५० हजार वटा माला आन्तरिक उत्पादनले धान्दै आएको छ भने २ लाख माला छिमेकी मुलुक भारतबाट आयात हुन्छ । यस वर्ष भने थप ५० हजार वटा माला आयात गर्नुपर्ने एशोसियसनका अध्यक्ष मीन बहादुर तामाङले बताए । सयपत्रीको व्यवसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, सर्लाही, सिराहा, रूपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा हुँदै आएको एसोसिएसनले जानकारी दिएको छ ।

मखमलीको व्यवसायिक उत्पादन काठमाडौं उपत्यकका इचंगुनारायण, गुण्डु, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा हुँदै आएको छ । यस वर्ष माला प्रतिगोटा ८० देखि ९० रूपैयाँ पुग्ने तामाङले बताए । ‘प्रतिगोटा ५० देखि ६० रूपैयाँ थोक मूल्य नै छ । त्यसमा २० देखि २५ प्रतिशत नाफा राख्दा ८० देखि ९० रूपैयाँसम्म पर्न सक्छ,’ उनले भने । उनका अनुसार सयपत्री आयात गरिए पनि तिहारमा मखमली भने निर्यात हुँदै आएको छ । नेपालीहरू बस्ने अष्ट्रेलिया, युरोप लगायत खाडीका केही देशमा एक लाख माला निर्यात हुँदै आएको छ ।

पछिल्लो समय कोरानाका कारण बर्सेनि फूलको कारोबार घट्दै गएको एशोसिएसनले बताएको छ । कोरोनाअघिको सामान्य अवस्थामा आ.व. ०७५÷०७६ मा २ अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो । २०७६÷०७७ मा कोभिडका कारण २ अर्ब १५ करोड रूपैयाँको कारोबारमा सीमित भयो । ०७७÷७८ मा वर्षभरी निषेधाज्ञाले गर्दा झनै कमी आई १ अर्ब ६३ करोडको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्