घरजग्गाको मूल्यबृद्धि २४.४५ प्रतिशतले बढ्यो, भाराङ्क २३.३३ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक बर्ष २०७६–७७ मा घरजग्गा मूल्यबृद्धि २४.४५ प्रतिशतले बृद्धि भएको देखाएको छ । प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ मा जग्गाको मूल्य सूचकाङ्क २७.६८ प्रतिशतले र घर भएको जग्गाको सूचकाङ्क २२.१४ प्रतिशतले बृद्धि हुँदा घरजग्गा मूल्यको कुल राष्ट्रिय सूचकाङ्क २४.४५ प्रतिशतले बृद्धि भएको जनाएको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७७–७८ को पहिलो ९ महिनामा जग्गाको सूचकाङ्कमा १४.५८ प्रतिशतले र घर भएको जग्गाको मूल्य सूचकाङ्क १६.१९ प्रतिशतले बृद्धि हुँदा घरजग्गा मूल्यको कुल राष्ट्रिय सूचकाङ्क १६.३१ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक गरेको हो । जसका लागि राष्ट्र बैंकले देशभरिका विभिन्न २० वटा ठाउँलाई तथ्याङ्क केन्द्र स्रोत केन्द्र ताकेको थियो । जग्गाका स–साना टुक्राहरुको कारोवार धेरै हुने भएकाले राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क घर–जग्गाको भाराङ्कको तुलनामा ३ गुणा भन्दा बढी रहेको छ । जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घर–जग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको छ ।
जसमा प्रदेश १ मा २७.१३ प्रतिशत भार रहेको छ । त्यस्तै, प्रदेश २ मा १२.०४ प्रतिशत, बागमती प्रदेशमा २९.२२ प्रतिशत, गण्डकी प्रदेशमा ६.८१ प्रतिशत, कर्णाली प्रदेशमा ३.६३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.७५ प्रतिशत जग्गा र घर–जग्गाको कूल प्रदेशगत भार रहेको छ ।