नुवाकोट काङ्ग्रेसका मतदाता महत वा केसी परिवारलाई स्वीकार गर्ने पक्षमा छैनन् : सभापतिको उमेदवार शाक्य « Arthapath.com
४ मंसिर २०७८, शनिबार

नुवाकोट काङ्ग्रेसका मतदाता महत वा केसी परिवारलाई स्वीकार गर्ने पक्षमा छैनन् : सभापतिको उमेदवार शाक्य



चोकराज शाक्य, जिल्ला सभापतिको उमेदवार, नेपाली काङ्ग्रेस नुवाकोट

नुवाकोट तारुकामा जन्मिएका चोकराज शाक्य काङ्ग्रेसका पुराना नेता हुन् । नेपाल तरुण दल हुँदै काङ्ग्रेस राजनीतिमा लागेका शाक्य ०५३ सालमै नेपाली काङ्ग्रेस नुवाकोटको उपसभापति भइसकेका व्यक्ति हुन् । काङ्ग्रेसको संस्थापन पक्षका शाक्यले आगामी मङ्सिर १० गते हुने १४औँ अधिवेशनमा नुवाकाेट जिल्ला सभापति पदका उम्मेदवार बन्ने बताएका छन् । उनै शाक्यसँग त्रिशूली प्रवाहका लागि उषा रेग्मीले गरेको कुराकानी :

अहिले निकै दौडधुप चलिरहेको छ, तपाईंको दौडधुपचाहिँ केका लागि हो ?
नेपाली काङ्ग्रेसको कार्यकर्ताका लागि अहिले आइराखेको महाधिवेशन एउटा पर्व पनि हो । नेपाली काङ्ग्रेसको आगामी कार्ययोजना बनाउने यो विशेष अवसर पनि हो । कस्तो सङ्गठन बनाउने, कस्तो नीति बनाउने भन्ने विषयमा बहस गर्ने समय भएकाले दौडधुप बढ्नु स्वाभाविक हो । यो दौडधुपलाई मैले सामान्य रूपमा लिएको छु ।

काङ्ग्रेसको नेता भएको हुनाले कुनै पदको उम्मेदवार पनि हुनुहुन्छ कि ?
मेरो पनि केही चाहना र प्लानहरू नभएका होइनन् । म नेपाली काङ्ग्रेसको ०५३ सालमा सम्पन्न नवौँ महाधिवेशनबाट जिल्ला उप सभापति र जगदीश्वरनरसिंह केसी सभापति रहेका थिए । लामो समयदेखि मैले पार्टीको कुनै पनि कार्यकारी पदमा आकाङ्क्षा राखिनँ । जगदीश्वरनरसिंह केसी जिल्ला सभापतिबाट बाहिरिँदै छन्, त्यसैले पनि मेरो सभापति बन्ने चाहना स्वाभाविक हो । रोलक्रमको आधारमा पनि मैले दाबी गर्ने बेला आएको छ । म आगामी महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्न लागेको छु । अहिले सभापतिका लागि भएका प्रत्यशीहरू जति छन् उहाँहरू मैले मान्नुपर्ने, सम्मान गर्नुपर्ने देखिएन । त्यसकारणले पनि मेरो दाबेदारी स्वाभाविक छ । मङ्सिर ६ गते हुने क्षेत्रीय अधिवेशन हुन लागेको छ । पर्सि ३ गते महासमिति सदस्य चयन हुने कार्यक्रम रहेको छ । महासमिति सदस्य नभई जिल्ला सभापतिको उम्मेदवार बन्न पाइँदैन ।


काङ्ग्रेसमा दुई धार प्रस्ट छ, तपाईं संस्थापन पक्षको कि पौडेल पक्षको ?
म अहिले पार्टीको आधिकारिक संस्थापन पक्षमा छु । जसको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । ०५९ सालमा पार्टी विभाजन भएर प्रजातान्त्रिक काङ्ग्रेस बनेको थियो । त्यतिबेला म प्रजातान्त्रिक काङ्ग्रेसमा आबद्ध थिएँ । म संस्थापन पक्षमै निरन्तर छु । म जिल्लामा संस्थापन पक्षको वकालत गरेर हिँडिरहेको छु । संस्थापन पक्षको उम्मेदवार छैन भन्ने कुरामा कुनै सत्यता छैन । म आधिकारिक उम्मेदवार हुँ । नुवाकोटमा संस्थापन पक्ष सशक्त छ, यो टिमले अधिवेशनमा सभापतिसहित धेरै पदमा जित हात पार्छ ।अरू पक्षबाट को उम्मेदवार बन्नुहुन्छ मलाई त्यो जानकारी छैन । संस्थापनइतर पक्षबाट डा. केदारनरसिंह केसी र रमेश महतको चर्चा चलेको सुनेको छु ।

रमेश महत हाम्रो संस्थापन पक्षको उम्मेदवार हुँदै होइन । हामी संस्थापन पक्षको पहिचानलाई गुमाएर रमेश महतलाई सहयोग गरेर जाने पक्षमा छैनौँ ।

गत पालिका अधिवेशनहरूमा डा. रामशरण महत, प्रकाशशरण महत र बहादुरसिंह लामा एक ठाउँमा उभिएको देखियो नि, होइन ?
१२औँ र १३औँ अधिवेशनमा हामीले स्वीकार गरेको अवस्था हो । १२औँ महाधिवेशनमा हामीले देउवा पक्षबाट बहादुरसिंह लामालाई सभापतिको उम्मेदवार बनाएका थियौँ, सो समयमा डा. रामशरण महतको सहयोग हामीलाई भएको थियो । १३औँ मा रमेश महतलाई सहयोग गरेको यथार्थ हो । यसपटक रामशरण महतले हामीलाई सहयोग गर्ने पालो हो । उहाँले सहयोग गर्नुभएन भने पनि हाम्रो पक्षको उम्मेदवारी कायम रहन्छ ।

जिल्लामा भने एउटै पक्षबाट रमेश महत र तपाईंको उम्मेदवारी किन ?
रमेश महत हाम्रो संस्थापन पक्षको उम्मेदवार हुँदै होइन । हामी संस्थापन पक्षको पहिचानलाई गुमाएर रामचन्द्र पौडेल पक्षका रमेश महतलाई सहयोग गरेर जाने पक्षमा छैनौँ ।

पालिका अधिवेशनमा त तपाईंहरूले रामशरण महतपक्षसँग सहकार्य गरेको होइन ?
पालिका अधिवेशनमा क्षेत्र नं. २ मा जति उम्मेदवार थिए संस्थापन पक्षबाटै थिए । क्षेत्र नं. १ मा त्यहाँको साथीहरूको चाहनाअनुसार सहकार्य भएको हो । हामीले छुट दिएको हो । जिल्ला अधिवेशनमा यो लागू हुँदैन ।

तपाईंले जिल्ला सभापति जित्ने आधार के–के हुन् त ? संस्थापन पक्षले पाँचवटा र इतर पक्षले सातवटा पालिका जितेको अवस्था छ नि ?
पाँचवटा र सातवटाको कुरा गर्नु त्यति उचित नहोला । वडाबाट आएका प्रतिनिधि पनि हाम्रो मतदाता हुन् । हामीले क्षेत्र नं. १ मा सहकार्य गरेको कारण पालिका सभापतिको सङ्ख्या कम भएको स्वाभाविक हो, तर मतदाता हामीसँग धेरै छन् ।

जिल्लामा संस्थापन पक्षले जित हात पारेको रेकर्ड छैन नि ?
यो इतिहासले देखाउने कुरा हो, हामी यसपटक रेकर्ड ब्रेक गर्छौँ ।

तारकेश्वरलाई हेर्ने हो भने एक भोटले तपाईंको उम्मेदवार पराजित हुनुभयो, तपाईंको पालिकामा नै तपाईं कमजोर हुनुभएन र ?
भोटको नै आकलन गर्नुहुन्छ भने हामी कमजोर भएका छैनौँ । कहिलेकाहीँ प्राविधिक त्रुटि हुन्छ । हामीले आफ्ना मतदाताको व्यवस्थापन गर्न नसकेका कारण पराजित भएका हौँ । तीन–चारवटा मत बदर भएको अवस्था छ । त्यो बदर भएका मत हाम्रो उम्मेदवारले पाउने मत हो । प्राविधिक हिसाबले मत बदर भएका कारण हामी पराजितजस्तो देखिएको हो । तर, मतदाता हामीसँग छन् । अलिकति नातागोता, टोल, वडा, छिमेकी यी सबै कारणले असर गर्ने भएको हुँदा केही समस्या भएको हो । तर, अहिले जिल्ला अधिवेशन आइरहँदा ६५ देखि ७० जना मतदाता हाम्रो पक्षमा रहेका छन् ।

संस्थापन पक्षको धेरै मत १ नम्बर क्षेत्रमा रमेश महतले काट्दा तपाईंलाई असर गर्दैन ?
स्वाभाविक रूपमा १ नम्बर क्षेत्रमा हामी कमजोर छौँ, त्यसलाई नकार्दैनौँ । २ नम्बर क्षेत्रमा उहाँहरूको केही पनि छैन । केही पनि छैन, भन्नुभन्दा उहाँहरूलाई मिनिमाइज गर्नु नपर्ला । उहाँले व्यक्तिगत रूपमा केही भोट लिनुहोला, त्यो फरक कुरा हो । तर, उहाँहरूको २ नम्बर क्षेत्रमा कुनै पनि पहिचान छैन । १ नम्बर क्षेत्रमा मतदाता सङ्ख्या अलिकति बढी पनि छन् । २ नम्बर क्षेत्रमा भन्दा ८० मत बढी छन् । १ नम्बर क्षेत्रमा हामी कमजोर छौँ, त्यो स्वाभाविक हो, तर मेकअप गर्छाैँ । म ०४६ सालको जिल्ला सभापतिमा लडेको व्यक्ति हुँ । ०५६ देखि ०५९ सम्म जिल्लामा बसेर काम गरँे । मैले गरेका काम, क्रियाकलापहरू, मैले लिएको नेतृत्व र मेरो कार्यकालमा भएका कामलगायत सबै कुराको इतिहास पनि छ । गाउँगाउँका साथीहरूले मलाई सहयोग गर्नुहुन्छ । नुवाकोटका काङ्ग्रेसका मतदाता महत वा केसी परिवारलाई स्वीकार गर्ने पक्षमा छैनन् । जुनसुकै चाहे केसी होस् वा महत परिवार होस् नुवाकोटको काङ्ग्रेसले स्वीकार गर्ने छैन । अंकगणितको हिसाबले जहाँ जस्तो देखिए पनि मत खस्दा म ढुक्क हुनेछु ।

महाधिवेशन प्रतिनिधि कतिजना छन्, कतिजनाको बनाउने तयारी छ ?
महाधिवेशन प्रतिनिधि जम्मा २५ जनाको सङ्ख्या रहेको छ । त्यसमध्येमा १४ जनाको खुला आधारमा गरिन्छ । चारजना महिला, १० जना अन्य पुरुषहरू, १५ जना समावेशी आधारमा हुन्छन् । जसमा दुई–दुईजना खसआर्य महिला र पुरुष, दुईजना जनजाति महिलाबाट र अरू तीनजना बाँकी जनजाति पुरुषबाट, एकजना दलित, एकजना अल्पसङ्ख्यक यसरी २५ जनाको उम्मेदवार हुन्छ ।


प्रतिक्रिया दिनुहोस्