२५ प्रतिशत लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न समता घरेलु लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओे जारी गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन तथा बिक्री गर्ने बिशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । लघुविको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा पौष ७ गते बोलाएको छ ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७७–७८ को प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने छ ।
त्यस्तै, संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरूको निर्वाचन गरी नियुक्ती गर्नेछ । संस्सथापक सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुने गरी एफपीओ जारी गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गर्ने छ ।
वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमाजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
