बोर्ड अध्यक्ष विहीन हुँदा ६ लघुवित्तको २९ करोड २१ लाख रुपैयाँको आईपीओ पाइपलाइनमा « Arthapath.com
१५ पुष २०७८, बिहीबार

बोर्ड अध्यक्ष विहीन हुँदा ६ लघुवित्तको २९ करोड २१ लाख रुपैयाँको आईपीओ पाइपलाइनमा



काठमाडौं । विभिन्न ६ वटा लघुवित्त वित्तिय संस्था आईपीओ निष्काशन गर्ने तयारीमा छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशन अनुमति माग्दै ६ वटा लघुवित्तले आवेदन दिएका छन् । तर धितोपत्र बोर्डले स्वीकृति नदिँदा पाइपलाईनमा छन् ।

आईपीओ निष्काशन गर्न अनुमति माग्दै ६ लघुवित्तले २९ करोड २१ लाख ७५ हजार रुपैयाँ बराबरको २९ लाख २२ हजार ३ सय ३६ कित्ता प्राथमिक शेयर (आईपीओ) आवेदन दिएका हुन् ।

राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिवाईसि लघुवित्त, उपकार लघुवित्त र आर्दश लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

राष्ट्र उत्थान लघुवित्तले सबैभन्दा बढी ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर र सबैभन्दा कम आर्दश लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँको ६० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशको लागि सबै तयारी सकेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । तर बोर्ड अध्यक्ष विहीन भएपछि अनुमति पाउन सकेका छैनन् ।

सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना बर्खास्त भएसँगै लामो समय भइसक्दा पनि बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन । बोर्डका तत्कालीन अध्यक्षलाई पदबाट बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन । सरकारले दैनिक प्रशासनिक काम चलाउनका लागि कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मा दिएको छ । तर धेरै अधिकारहरु नदिँदा कामकारबाहीहरु नियमित हुन सकेका छैनन् ।

बोर्डमा ६ लघुवित्त वित्तिय संस्था सहित अन्य २५ कम्पनीको ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ पाइपलाइनमा छ ।

१. राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था
राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । बोर्डमा लघुत्तिले गत असार २४ गते बोर्डमा निवेदन दिएको हो । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआएविएल एस क्यापीटल रहेको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले देशका विभिन्न ३६ जिल्लामा रहेका ८५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

२. नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्था
नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर जारी गर्नेछ । आईपीओ निष्काशन गर्न बोर्डमा गत असारमा आवेदन दिएको थियो । लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ । पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ५६ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । १७ करोड २१ लाख २५ हजार चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ निष्काशनपश्चात चुक्ता पूँजी २५ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।

३. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । बोर्डमा गत असार २० गते बोर्डमा आवेदन दिएको थियो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड छ । कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

४. सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री गर्ने भएको हो । लघुवित्तले गत असोज ११ गते बोर्डमा आवेदन दिएको थियो । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल रहेको छ । चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको लघुवित्तको आईपीओ निष्कासन पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ पुग्नेछ । बाग्लुङ्गमा केन्द्रीय कार्यलय रहेको लघुवित्तले ३७ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गदै आएको छ ।

५. उपकार लघुवित्त वित्तिय संस्था
उपकार लघुवित्त वित्तिय संस्थाले २ करोड ६६ लाख रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कानशन गर्नेछ । लघुवित्तले गत साउन १३ गते बोर्डमा आवेदन दिएको थियो । आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । चुक्ता पूँजी ४ करोड २० लाख रहेको लघुवित्तको आईपीओ निष्काशनपश्चात ६ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले राष्ट्रिय स्तारमा वित्तीय सेवा दिईरहेको छ ।

६. आर्दश लघुवित्त वित्तीय संस्था
आर्दश लघुवित्त वित्तीय संस्था ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तले गत असोज ६ गते बोर्डमा आवेदन दिएको थियो । लघुवित्तको धितोपत्र बिक्री प्रबन्धकमा बिओके क्यापीटल लिमिटेड रहेको छ । १ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ निष्काशन पश्चात २ करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्