लघुवित्तको नाफाः थोक कर्जा प्रदायकको ४९.८१ % र खुद्रा कर्जा प्रदायकको २७.७३ % बढ्यो, २ लघुवित्त नोक्सानीमा

काठमाडौं । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्ममा ब्याज आम्दानी २ अर्ब ३४ करोड रुपैयाँ र ब्याज खर्च १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुले ८२ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४९.८१ प्रतिशतले बढी हो ।

त्यस्तै, समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ४ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा २७.७३ प्रतिशतले वृद्वि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८९ करोड पुगेको छ ।

उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्ममा ब्याज आम्दानी २५ अर्ब ८२ करोड रुपैयाँ र ब्याज खर्च १२ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा सञ्चालित ६३ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।