नबिल बैंकका सीईओ सहित सबैको मन पगाल्ने बसन्ती, पीडा भुल्न नसकेपनि पीडा विरुद्ध लड्ने  « Arthapath.com
८ चैत्र २०७८, मंगलवार

नबिल बैंकका सीईओ सहित सबैको मन पगाल्ने बसन्ती, पीडा भुल्न नसकेपनि पीडा विरुद्ध लड्ने 



नबिल बैंकले मंगलबार एउटा कथा सार्वजनिक गर्यो । रङ्गिन दृष्यको पर्दामा सार्वजनिक त्यो कथा कुनै काल्पनिक थिएन । कसैको पीडालाई समाजले इन्कार गरिरहेको कुरालाई नबिल बैंकले उजागर गर्न खोजेको छ । विशुद्ध बैङ्किङ कारोबार गरिरहेको बैंकले समाजमा रहेका सामाजिक घटनालाई समेत चिर्न खोजिरहेको छ । 

नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको यथार्थ जीवनलाई समाजले नपचाएको कुरा बाहिर ल्याएको हो । बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी आक्रमण गरेको थियो । 

एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती एउटा पीडित भएर होइन बहादुरी जीवनयापनको रुपमा आफ्नो पहिचान बनाउन खोजिरहेकी छिन् । उनको त्यो आँटलाई समाजले रुचाउँदैन् । बसन्तीले कुनै गलत काम नगर्दा पनि समाजले उनलाई टाढा नै राख्न खोजेको छ । तर नबिल बैंकको सहयोगले बसन्ती अहिले विगतका पीडा भुल्न नसके पनि ती पीडाहरू विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छिन् ।  

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले अभियान मार्फत मानिसको भित्री रूपको शक्ति र सामर्थ्यलाई जोड दिने सन्देश सहित अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्न खोजिरहेको छ । 

नबिल बैंकले बसन्तीलाई मात्रै होइन, एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गरिरहेको छ । नबिल बैंकले एसिड आक्रमणबाट पीडितहरूको जीवन उज्यालो बनाउन अभियानको रुपमा नै सुरुवात गरेको हो । बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो सार्वजनिक गरेको हो । उक्त दृष्य हेर्ने सबैका मन पगालिए । जब बसन्तीले आफूमाथि भएको पीडा सुनाइन सबैका आँखाबाट आँशु खस्यो । 

वरिष्ठ सामाजिक अभियन्ता उज्वल थापा, सञ्चारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंह र डा. रोजिना शिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र समाजका विविध पाटोहरूमा सवाल उठान गरिएको थियो । 

बसन्ती भारतमा जन्मिएकी हुन् । १२ वर्षको उमेरमा पढाइ गर्नुपर्छ भनेर आमावुवाले नेपालमा ल्याए । सानोमा छँदा सबैले फलानाको छोरी धेरै नै राम्रो भनेर कुरा गर्थे । तर नेपालमा उनलाई सुरक्षित ठाउँ भएन । कावासोती नगरपालिका १० हरमासी टोलकी वसन्तीमाथि २०७५ असोज ८ गते एसिड र चक्कु प्रहार भयो । कावासोती नगरपालिकाका ३० वर्षका विमल श्रीपालीले बसन्तीमाथि एसिड र चक्क प्रहार गरेका थिए । 

एसिड आक्रमणपश्चात राज्यबाट कुनै किसिमको सहयोग पाएकी थिएनन् । एसिड अक्रमणको विरुद्धमा अभियान चलाइरहेको उज्वल थापाको पहलमा उनले अहिले आयल निगमको कार्यालयमा काम पाएकी छिन् । एसिड आक्रमणपछि उनलाई साथ सहयोग गर्ने कोही नभएको बेला थापाले ठूलो सहयोग गरेको उननी बताउँछिन् । 

यता प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत–वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह–सहयोग सम्बन्धी  विषयमा छलफल भएको छ । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन छलफलले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहने नबिल बैंकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्