सिंगापुर एयरलाइन्सले काठमाडौं उडानमा प्रयोग हुने गरी क्याविन लक्जरीमा २३ करोड खर्चियो « Arthapath.com
२४ असार २०८२, मंगलबार

सिंगापुर एयरलाइन्सले काठमाडौं उडानमा प्रयोग हुने गरी क्याविन लक्जरीमा २३ करोड खर्चियो



काठमाडौं । सिंगापुरको ध्वजावाहक वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले आजदेखि काठमाडौं उडानमा उच्च गुणस्तरीय क्याविन सामाग्री प्रयोग सुरु गरेको छ । यात्रुहरुलाई उडानका क्रममा लग्जरी सेवा र अनुभव दिने उद्देश्यले यो सेवा सुरु गरेको गरेको हो ।

क्याबिन सामाग्रीमा मात्रै कम्पनीले २३ करोड रुपैयाँ खर्च गरेको एयरलाइन्सले जनाएको छ । तीन वर्ष देखिको अथक प्रयाससँगै यात्रु र साझेदारको सुझाव अनुसार आफ्नो क्याविन सेवालाई विस्तार गरेका कम्पनीका कार्यकारी उपाध्यक्ष लिक ह्सिन बताए । अब छोटो र लामो दुरी यात्रा गर्ने यात्रुलाई फुल सर्भिस नेटवर्क सहित प्रिमियम सेवा दिन सकिने जनाएको छ ।

हाल गरिएको बिस्तार नेपालस्थित यात्रुहरुका लागि यात्रामा अविस्मरणीय अनुभव दिलाउन महत्वपूर्ण रहने एयरलाइन्सका नेपालस्थित कार्यालयका महाप्रवन्धक मेल्भिन टानले बताए । कम्पनीले तीन दशक यता नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँदै आएको जिएसए एभरेष्ट एक्सप्रेस इन्टरनेशनलका अध्यक्ष आरआर पाण्डेले बताए ।

सन् १९८७ देखि कम्पनीले नेपालको पर्यटन र उड्डयन क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको छ । कम्पनीले हाल यात्रुलाई अझ सुविधाजनक यात्रा दिनका लागि गरेको यो बिस्तारबाट हामी असाध्यै खुसी भएको अध्यक्ष पाण्डेले बताए । कम्पनीले आफ्नो बोइङ ७३७–८ सिरीजको जहाजमा १० वटा विजनेस र एक सय ४४ वटा इकोनोमी गरी कुल एक सय ५४ वटा सिटमा लक्जरीलाई ध्यानमा राख्दै अत्याधुनिक सामाग्री समावेश गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार काठमाडौं उडान गर्ने जहाजमा राखेको सिटको डिजाइन लण्डनस्थित फ्याक्ट्री डिजाइनले तयार पारेको हो भने आयरल्याण्डस्थित कम्पनी थम्पसन एरो सिटीङले यी सामाग्रीहरुको उत्पादन गरेको हो ।

जहाजको इकोनोमी क्लासमा स्लिक र स्लिम लाइन सिटको पछिल्लो संस्करण समावेश गरिएको जनाइएको छ । यो सिट कोलिन एरो स्पेसले उत्पादन गरेको र इकोनोमी क्लासमा पनि हरेक यात्रुले उच्चस्तरको सेवा लिन सकुन् भन्ने उद्देश्यले यो विस्तार गरिएको कम्पनीले जनाएको छ ।

यात्रुलाई मनोरञ्जन दिनका लागि जहाजमा पानासोनिकको एक्स सिरीज इनफ्लाइट इन्टरटेनमेन्ट सिस्टम जडान गरिएको छ । यसबाट यात्रुहरुले क्रिसवर्ल्ड इन्टरटेनमेन्ट कन्टेन्टहरु हेर्न सक्नेछन तथा जहाजमा पानासोनिककै वाइफाइ र मोवाइल डाटा कनेक्टिभीटी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्