मोरंग व्यापार संघ समेतको सहकार्यमा संचालित विज्नेश इन्कुवेशन सेन्टरको डेमो डे सम्पन्न « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

मोरंग व्यापार संघ समेतको सहकार्यमा संचालित विज्नेश इन्कुवेशन सेन्टरको डेमो डे सम्पन्न



काठमाडौं । कृषि क्षेत्रमा विकास एवं सहकार्यका लागि मोरंग व्यापार संघ सहित आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १ र पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट समेतको सहकार्यमा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी), सहजद्वारा संचालित ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’को ‘डेमो डे’ यहि २०७९ जेठ ९ गते, सोमबारका दिन सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रदेश नम्बर १मा उद्यमशिलताको सिप र सोचाईको विकास गर्दै स्थानीय संघ संस्थाहरुको उद्यमशिलताको क्षमतालाई समेत बढाउने उद्देश्यले पृथक ढंगले संचालन गरिएको उक्त कार्यक्रम अन्तरगत ८ वटा कृषि व्यवसायमा आधारित आईडियाहरु छनौट भएका थिए । कार्यक्रम अन्तरगत छनौट भएका ती ८ वटा आईडियाहरुलाई व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवं एग्रि विजनेस सम्बन्धि विज्ञहरुको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरुको अवसर प्रदान गरिएको थियो ।

प्रदेश नं. १का कृषि मन्त्री माननीय झलक बहादुर मगरको प्रमुख आतिथ्यतामा विराटनगरमा सम्पन्न गरिएको उक्त ‘डेमो डे’ कार्यक्रममा एग्री–विज्नेश इन्कुवेशन सेन्टर अन्तरगत छनौट गरिएका ८ कृषि व्यवसायहरु, शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रितिरिवाज आइस क्रिम, कुमारी फूड्स, ग्रीन प्लानेट मिसन, पाकशाला, किसानपिडियाहरुले आ–आफ्नो व्यवसायिक विचारहरु प्रस्तुत गर्नुका साथै आ–आफ्ना उत्पादित वस्तुहरु उपस्थित व्यक्तित्वहरु सामू प्रदर्शन गरेका थिए भने आ–आफ्ना व्यवसायिक विचारलाई मूर्त प्रोटोटाइप तथा व्यवसायिक रणनीति बनाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्ने लक्ष्य लिई अघि बढिरहेका छन् ।

कार्यक्रमको ‘डेमो डे’मा प्रदेश नं. १का कृषि मन्त्री माननीय झलक बहादुर मगर सहित कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग एसडीसीका आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोश्रो चरणको टिम लिडर रिक भेन डर क्याम्प, मोरंग व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजु कुमार थपलिया, आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा गरी विभिन्न प्राज्ञिक व्यक्तित्व, मिडियाकर्मी र उद्यमशिलताको क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्