विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार गरेको शिवश्री हाइड्रोपावर नोक्सानीमा, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनी ३६ करोड बढी नोक्सानीमा देखिएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीले ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो । अघिल्लो आवको सोही अवधिमा १ करोड ८४ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा भने उल्लेखीय सुधार गरेको छ । गत आवमा कम्पनीले २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५०९.१३ प्रतिशतले बढी हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा पनि ३४ करोड ५२ लाख ६८ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६३ पैसा ऋणात्मक देखिएको छ भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ६१ पैसा रहेको छ ।