मन्दाकिनी हाईड्रोपावरको नाफा ९२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले करिब ३ करोड नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ९२.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ५१ लाख ३० हजार रुपैयाँ नाफा गरेको थियो ।
गत आवमा कम्पनीको संचालन नाफा पनि १०.२० प्रतिशतले वृद्धि भई ८ करोड ७१ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यो नाफा ७ करोड ९० लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा कम्पनीको डाइरेक्ट आम्दानी ११ करोड ३६ लाख ८७ हजार रुपैयाँ, ग्रोस प्रोफिट ९ करोड ३ लाख ४६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ४१ करोड १६ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८४ लाख ४२ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा रहेको छ ।