दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने मिति तय

काठमाडौं । दसैँका लागि बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि लामो दूरीका अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले छुट वा सहुलियत पनि प्रदान गर्ने सहमति भएको छ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ । यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधनहरु १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाण्डांसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।