बिदा नपाउनेको दशैँः देश जनताको सेवामा खटिनुछ सधैँ « Arthapath.com
१७ आश्विन २०७९, सोमबार

बिदा नपाउनेको दशैँः देश जनताको सेवामा खटिनुछ सधैँ



रामहरि गजुरेलको विषेश रिपोर्टः
उत्सव र उमंगको पर्व मानिने नेपालीहरूको एक मात्र महान् चाड दसैँमा देश वा परदेश जतिसुकै टाढा भएपनि घरपरिवारसँग बसेर खुशीयाली साट्ने इच्छा अनि चाहना सबैको हुन्छ । त्यसैले त अन्य समयमा घर फर्किन, परिवार तथा आफन्त भेट्ने मौका र मेसोका रुपमा यहि दशैँ मौसम नै आम नेपालीको साझा समय जस्तै बनिआएको छ । आम सर्वसाधारणका लागि दसैँ मनाउन कार्यालयदेखि, व्यापार, व्यावसाय सबैजसो रोजगार क्षेत्रसम्म सर्वत्र छुट्टी हुने हुँदा आफ्नो परिवारसँगै बसेर दसैँ मनाउने चाहना पूरा गर्न त्यति गाह्रो छैन । अघिपछिका जुनसुकै परिस्थिति र अवसरमा गाउँ, घर, परिवारमा आउन नसकिने बाध्यता र परिबन्धमा परेकाहरु हुन् या दशैँतिहार बाहेक पनि घर परिवारमा आउजाउ गर्न सहज र सम्भव भएका नेपालीहरुमा समेत ‘दशैँमा घर जाने’ भन्ने भनाई पनि एक नेपाली आहानजस्तै बनिसकेको पाइन्छ । कैयन् नेपाली संस्कृतिमध्येको अमूल्य दशैँ संस्कृतिभित्र पनि यो भनाई अर्को एक संस्कृतिकै रुपमा चलनचल्तीका रुपमा परिचित त बन्दैछ, साझा अनि सर्वमान्य समय विन्दूका रुपमा ‘दशैँ पर्व’ खुशी, उत्साह, विजय प्रतिकझैँ नेपाली समाजमा स्थापित छ ।  

तर, देश र जनताको सेवा तथा सुरक्षाका खातिर सधैँ खटिने प्रहरीहरुका लागि भने दसैँ बिदा नपाउनेहरुको पर्वको रुपमा विगतदेखि नै रहँदै आएको छ । गाउँमा बसेका कुन बाबुआमालाई वर्ष दिनमा आउने चाडमा आफ्नो सन्तान घर फर्किओस् भन्ने चाहना नहुँदो हो र ! नेपाल प्रहरीका कर्मचारीहरूका लागि भने यो अवसर विरलै जुर्छ । दसैँमा पनि आफ्नो घर पुग्न र आमाबुबाको हातबाट टीका थाप्न नपाउँदा धेरै प्रहरीहरू भक्कानिँदा हुन् । तरपनि दसैँ र तिहार जस्ता चाडपर्वहरुमा बिदा नपाएपनि यि प्रहरी दाजुभाई दिदीबहिनीहरु देश र जनताको सुरक्षा र सेवामा खटिनु नै आफ्नो खुशी मान्छन्अनि चित्त बुझाउँछन् । नेपाल प्रहरीका कर्मचारीले आफूभन्दा माथिल्लो दर्जाका प्रहरीको हातबाट टीका, जमरा र आशीर्वाद थाप्न पाउने अवसरले भनेपनि घरपरिवारसँगै दशैँ मनाउन नपाएपनि कर्तव्य पालनामै रहेर पनि खुशी देखिन्छन् ।

दसैँजस्ता चाडपर्वमा सबैभन्दा बढी सुरक्षा व्यवस्थाको खाँचो पर्ने हुनाले पनि घरबिदा पाउन मुस्किल छ । यसअघि पनि दशैंमा प्रहरीलाई कडाई हुने गरेकाले धेरै प्रहरीले दशैंमा बिदा पाउदैनथेँ ।   जति नै आफ्नो परिवारको यादले सताए पनि सुरक्षामा खटिनुपर्ने आफ्नो कर्तव्यका अगाडि उनीहरू नतमस्तक हुन्छन् । परिवारको खुसीभन्दा देश र जनताको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ । रातदिन नभनी उनीहरू ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले दसैँमा घर गएर बाबुआमाको हातबाट टीका थाप्ने सौभाग्य पाउँछन् । तर अधिकांश प्रहरी कर्मचारीले भने ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन् । आफुभन्दा माथिल्ला प्रहरी अधिकृतबाट टिका र आशिर्वाद लिनु नै उनीहरुको लागि दसैँको खुसी बनेको हो । सोही अनुसार हरेक जिल्ला जिल्लादेखि सबै ईकाईहरुमा कार्यरत ड्युटीमा रहेका प्रहरी अधिकृतदेखि सिपाहीहरू आफ्नो नियमित ड्युटीमा छन् भने आफ्नो कार्यालयमै टीका लगाएर खुसीयाली साट्ने योजनामा छन् ।

तल्ला तहका मात्रै होइनन् प्रहरीको नेतृत्व गरिरहेका प्रहरी अधिकृतहरु पनि आफु मातहतका कर्मचारीको अभिभावक बन्नुपर्ने खाँचोका कारण बिदा लिँदैनन् । बरु आफैँ दसैँ मनाउन जाँदा प्रहरी जवानहरूको मनोबल घट्नेमा चिन्तित बनेका हुन्छन् । प्रहरी जवानहरूको पीडा पनि पक्कै वर्णन गरिसाध्य छैन । मानिसहरू टीका र जमरा लगाएर बाटोमा हिँड्डुल गरेको देख्दा उनीहरूको पनि मन कटक्क खान्छ । घरै नगए पनि प्रहरी कर्मचारीहरूले दसैँ नै मनाउन नपाउने चाहिँ होइन । आफ्नो परिवारसँगै दसैँ नमनाए पनि उनीहरूको संगठनका सदस्यहरूसँग बसेर दसैँ मनाउँछन् ।

प्रहरीको दशैँबारे हामीले नुवाकोटका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) रमेश पण्डितसँग यसबारे जिज्ञासा राख्यौँ र सोध्यौँः

दशैँतिहार जस्ता पर्व नेपालीहरुको साझा चाड भएकोले अरु क्षेत्रका हरेक नेपालीहरु यस्ता चाडपर्वमा घरपरिवारसँग रमाइलोसँग मनाउन व्यस्त छन् तर, प्रहरी भने ‘बिदा नपाउनेको दशैँ’ को रुपमा देश र जनताको सेवामा दिनरात खटिनुपर्ने बाध्यता छ । अरुले दशैँ मनाइरहँदा तपाईं एक प्रहरी प्रमुख आफैँलाई र आफु मातहतका प्रहरीले घर जान नपाउँदा कस्तो अनूभूति गर्नुहुन्छ ?
हामीले जागिरको सुरुवातमा नै देश र जनताको सेवा गछौं भनेर कसम खाएका हुन्छौं । हामी यो जिल्लामा वा जुन ठाउँका जनता तथा नागरिकको सुरक्षामा खटिएका छौं,  त्यहाँका बासिन्दाहरुले सहज र शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन पाउनुभयो भने त्यसमा नै नेपाल प्रहरीको खुशी र गौरवको कुरा हो । नेपाल प्रहरीमा जोडिएका नयाँहरुलाई आफ्नो  काम कर्तव्य र पेशागत मर्यादामा रहेर देश र जनताको सेवा गर्नुपर्छ भनेर सिकाएका हुन्छौं । विशेष गरि चाडवाडको बेलामा विभिन्न आपराधिक गतिविधि हुनेभएकाले यसमा हामी सचेत भई जनताको सेवा गर्नुपर्छ । देश र जनतको सेवा गर्न पाउँदा घर जान पाइन भन्ने खिन्नता लाग्दैन । तर, हामी नेपाल प्रहरीका पारिवारिक समस्या र बाध्यता अनुसार चाडपर्वमा जाने आउने पनि व्यवस्था गरिरहेका हुन्छौं । नागरिकहरुले शान्तिपूर्ण रुपमा दशैं मनाउन पाए भने हाम्रो खुशी रमाईलो नै त्यही हुनेछ ।


प्रतिक्रिया दिनुहोस्