हाइकिङ जाने सोचमा बनाउनु भएको छ? यी हुन् काठमाडौं नजिकका हाइकिङ स्थलहरु « Arthapath.com
२४ असार २०८२, मंगलबार

हाइकिङ जाने सोचमा बनाउनु भएको छ? यी हुन् काठमाडौं नजिकका हाइकिङ स्थलहरु



चन्द्रगिरि

समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं उपत्यकाबाट १६ किलोमिटरको पदयात्रा गरेपछि चन्द्रागीरी डाँडोमा भएको भालेश्वर मन्दिर पुगिन्छ ।

कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरू गरेर छापडाँडा हुँदै चन्द्रागिरि पुग्न सकिन्छ । चन्द्रागिरिको डाँडा निस्किने अर्को बाटो थानकोटको गोदामचौरबाट पनि जान सकिन्छ ।

काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गाडीमा जाने र गोदामबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै भालेश्वर पुगिन्छ। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा गर्न सकिन्छ ।

भालेश्वरबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए भन्ने विश्वास पनि गरिन्छ । मन्दिर वरिपरि एक रेस्टुरेन्ट र भ्युटावरसँगै पार्कहरू छन ।

भ्युटावरबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धौलागिरि हिमालसम्मको वरिपरिको दृश्य देख्न सकिन्छ । चन्द्रागिरिबाट सगरमाथा, मकालु, कञ्चनजंघा, मनासलु लगायत हिमाल देखिन्छ।

चन्द्रगिरिमा भालेश्वर महादेव रहेकाले पदयात्रापछि दर्शनका लागि पनि जानेहरू पनि हुन्छन्। दर्शनका लागि केबलकारबाट यात्रा गर्न सकिन्छ । काठमाडौं उपत्यका आसपासका लागि पदयात्रा गर्ने आकर्षक गन्तव्य बनेको छ, चन्द्रागीरी ।

चम्पादेवी

दुई हजार २ सय ५० मिटर उचाइमा रहेको चम्पादेवी हाइकिङ रुट छोटो पदयात्र हो । चोभारको टौदहबाट हाइकिङ सुरू गरेर दक्षिणकाली मन्दिर हुँदै फर्पिङको पुरानो नेवारबस्ती हेर्दै पुग्न सकिन्छ ।

चम्पादेवी जान अन्य पदमार्ग पनि छन । भञ्ज्याङ हुँदै सार्वजनिक यातायात प्रयोग गर्दा पनि हुन्छ। भञ्ज्याङबाट हात्तीवन रिसोर्टसम्म पुगिन्छ । रिसोर्टबाट हरियाली जंगल हुँदै चम्पादेवी पहाडको चुचुरोमा पुग्न करिब तीन घन्टा लाग्छ ।

यो पदयात्रा वैकल्पिक रूपमा फर्पिङ गाउँबाट पनि सुरू गर्न सकिन्छ । चम्पादेवी जाने अर्को रुट कीर्तिपुरको मच्छेगाउँबाट पनि छ । करिब ५ घन्टामा चम्पादेवी हाइट पुगिन्छ । जहाँबाट गौरीशंकर, लाङटाङ र अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ । यी दृश्य अवलोकनपछि सोही रूट हुँदै फर्किन सकिन्छ ।

तुलनात्मक रूपमा कम समय भएकाहरूका लागि उपयुक्त छ । चम्पादेवी हाइकिङ पछिल्लो समय युवाहरूमाझ निकै लोकप्रिय छ। उपत्यकाको दक्षिण–पश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सिमाना हो ।

फूल्चोकी डाँडा

फूल्चोकी डाँडा समुद्री सतहदेखि २७८२ मिटरको उचाइमा अवस्थित छ । फूल्चोकी हाइकिङ ललितपुरको गोदावरीबाट सुरु गर्ने । त्यहाँबाट फूल्चोकी जाने दुई बाटा छन् । पहिलो नौधाराबाट जंगलको ठाडो बाटो र दोस्रो कुण्डबाट कच्ची मोटर गुड्ने बाटो ।

झरी पर्दा तेर्सो बाटोमा हिँड्ने र अरुबेला गोरेटोमा । कुण्डबाट २ घन्टामा चापाखर्क पुगिन्छ । खर्कमा चौबाटो छ, पूर्व ओरालो झरे काभ्रेको ¥याले पुगिन्छ ।

उत्तर लागे कोटडाँडा, पश्चिम झरे गोदावरी । खर्कबाट दक्षिण उकालो चढ्ने, २ घन्टामै फूलचोकी पुगिन्छ । फर्कंदा पश्चिम ओरालो झरेर गोदावरी नौधारासम्म हिँड्ने । काठमाडौं उपत्यकाको सबैभन्दा उच्च पहाड भएकाले पनि फूल्चोकी डाँडाबाट उपत्यकाको दृश्य स्पष्ट र शालीन देखिन्छ ।

डाँडामा हवाइजहाज र टिभीलाई सिग्नल पठाउने टावर छन् । सैनिक क्याम्प पनि छ । होटल तथा रिसोर्ट छैनन्, सामान्य खाजा घर मात्र छ ।यहाँबाट चौतर्फी हिमचुचुरो, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा वनस्पतिको मनोरम दृश्यमा रमाउँदै पुगिने यस डाँडाबाट अन्नपूर्ण, गौरीशंकर, सगरमाथा, मनास्लु आदि हिमाल अवलोकन गर्न सकिन्छ ।

शिवपुरी

काठमाडौं उपत्यकाबाट ७ घन्टा हिँडेपछि पुगिने शिवपुरी चर्चित पदयात्रा हो । २७३२ मिटरमा अवस्थित शिवपुरी काठमाडौं नजिकै भएकाले पनि शिवपुरी प्रायः शनिबार काठमाडौंवासीको हाइकिङ गन्तव्यमा पर्छ ।

बिदाको दिन यहाँ हाइकिङ जानेहरूको भिड नै लाग्छ । शिवपुरी डाँडामा पुग्न फरकफरक बाटोहरु छन् । बुढानिलकण्ठबाट चेकपोस्टबाट नागी मठ हुँदै, बुढानिलकण्ठबाट चेकपोस्ट भएर सिधै, बुढानिलकण्ठबाट डाँडागाउँ, भञ्ज्याङ हुँदै जताबाट पनि शिवपुरी पुग्न सकिन्छ ।

जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुगेपछि हिमशृंखलाहरू देख्न सकिन्छ । चराचुरुंगी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरी हाइकिङ उपयुक्त मानिन्छ ।

शिवपुरी हाइकिङमा अध्ययनका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीलाई पनि लैजाने गरेको पाइन्छ । यसबाहेक साथीभाइ, परिवार र आफन्तको साथमा पनि शिवपुरी हाइकिङ लोकप्रिय छ ।

शिवपुरीको चुचुरोबाट गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, गञ्जला चुचुरो, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ ।

नगरकोट

समुद्री सतहबाट २१७५ मिटरको उचाइमा अवस्थित नगरकोट काठमाडाको पूर्वी भागमा पर्छ । साँखु, नेवारी गाउँबाट शुरु भइ करिब ५ घण्टाको पैदलयात्रा पश्चात् पुग्न सकिन्छ, नगरकोट । नगरकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि अत्यन्तै लोकप्रिय छ ।

यहाँबाट चारैतिर हिमाल देख्न सकिन्छ भने काठमाडौं उपत्यकाको दृश्य पनि नियाल्न सकिन्छ । परिवार वा साथीभाइसँग राति बस्नेगरी गएको हो भने क्याम्पिङको मजा पनि लिन सकिन्छ । यहाँका प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न पनि उत्तिकै चासो लिइरहेका हुन्छन् ।

नजिकै आर्मी ब्यारेक रेन्जर गण रहेको छ भने त्यसको केही माथि गएपछि भ्यू टावरमा पुग्न सकिन्छ । भ्यू टावर नै हो मुख्य दृश्यावलोकनको प्रमुख स्थान । यहींबाटै उदाउँदो सूर्यलाई देख्न सकिन्छ भने आँखै अगाडि रहेको गौरीशंकर हिमाल र विश्वका ठूला–ठूला हिमश्रृंखलाहरू पनि देख्न सकिन्छ ।

त्यतिमात्र होइन, यहाँको स्वच्छ प्राकृतिक हावापानी, मनोरम दृश्य र विभिन्न डाँडाकाँडाले जोकोहीको मन पनि आनन्दमय बनाउँछ । त्यसैले त आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आएर छुट्टै मजा लिने गर्छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्