अर्थमन्त्री शर्मा र व्यवसायीको घेराबन्दीमा परेका बैंकहरुले कात्तिकमा के गर्लान् ब्याजदर ?

काठमाडौं । आगामी कात्तिक महिनामा वाणिज्य बैंकहरुले असोजकै ब्याजदरलाई कायम राख्ने भएका छन् । नेपाल बैंकर्स संघले अनौचारिक छलफलमा कात्तिकमा ब्याजदर नबढाउने लगभग पक्का पक्की भएको जनाएको छ ।
असोज महिनामा ब्याजदर बढाउँदा पनि निक्षेपमा वृद्धि नदेखिएपछि कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई निरन्तता दिने भएका हुन् ।
यद्यपि, कात्तिकमा बैंकहरुको ब्याजर के गर्ने भन्ने विषयमा औपचारिक निर्णय बाँकी रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए । उनले असोज महिनाका केही कार्यदिन बाँकी रहेकाले परिस्थिति अनुसार निर्णय लिने जानकारी गराए ।
बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनाका लागि बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १५.३ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
असोज महिनामा ब्याजदर वृद्धिभएपछि बैंकहरुलाई घटाउन दबाब आईरहेको थियो । अर्थमन्त्री जनार्दन शर्मा र व्यवसायीहरुको चर्को घेराबन्दीमा परेपछि बैंकहरुले कात्तिक महिनामा ब्याजदर असोज महिनाकै कायम राख्ने निचोडमा पुगेका बुुझिएको छ।
अर्थमन्त्री शर्माले बैंकहरुले बढाएको ब्याजदर घटाउन दबाब दिँदै आएका थिए । मन्त्री शर्माले गत असोज ९ गते एक साताभित्र ब्याजदर घटाउनका लागि ‘बैंकिङ तरलता, ब्याजदर र वित्तीय लागत न्यूनीकरण’ का लागि सुझाव दिन समिति गठन गरेका थिए । ब्याजदरको विषयमा अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको नेतृत्वमा गठित १० सदस्यीय समिति गठन समेत गरेका थिए ।
उक्त समितिले अर्थमन्त्री शर्मालाई गत सोमबार नै प्रतिवेदन बुझाएको छ । समितिले “ब्याजदर बजारले निर्धारण गर्छ, सरकारले हस्तक्षेप गरेर बढाउन वा घटाउन सकिँदैन । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले ब्याजदर वा अन्य विषयमा निर्देशन दिन मिल्दैन ।”– भन्दै सुझाव दिएको थियो । तर, अर्थमन्त्री शर्माले उक्त ब्याजदर बढी भएको भन्दै घटाउनुपर्ने अडान राख्दै आए थिए ।