देउसी भैलीको मौलिकता हराउदैं, आधुनिकताले संस्कृति धमिलो « Arthapath.com
८ कार्तिक २०७९, मंगलवार

देउसी भैलीको मौलिकता हराउदैं, आधुनिकताले संस्कृति धमिलो



काठमाडौं । तिहार नेपालीहरूको महान चाँड हो । तिहार मनाउन टाढा टाढाबाट मानिसहरु आफ्नो घरको गतब्यको सुरुवात गर्ने गर्दछन् । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो । तिहारमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । उक्त पाँच दिनमा विभिन्न समूह ब्यक्ति ब्यक्तिका घर आगनमा गइ दिउसी भैला खेल्ने गर्दछन् ।

बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ–आफ्नै भाकाले देउसी खेल्छ्न् । तर पछिल्ला समय देउसी भैलो लोप हुनुका साथैै मौलिकता हराउदै गएको अपस्था छ । नेपालमा परम्परागत संस्कृति धमिलो हुँदै जान थालेको छ । भाषा, सस्कृति भेषभुषामा आधुनिकता आउँदै गएकोमा त्यसको असर देउसी भैलो समेत पर्ने गएको छ । देउसी भैलीमा नयाँ पुस्ताले मौलिकता नै हराउने गरी खेली रहेको पाइन्छ । तिहारको मुख्य रौनक देउसीभैलीमा आएको आधुनिकताले मौलिकतालाई गम्भिर पाटोमा पुराएको छ ।

लक्ष्मी पूजाको दिन घर घरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैली भनिन्छ भने लक्ष्मी पूजाको भोलि पल्ट गोवर्धनपूजा सकेपछि देउसी खेल्ने गरिन्छ । तर आजभोलि परम्परागत देउसीभैली हराउँदै जान थालेको छ । आजभोलिको पुस्ताले देउसीभैलो पैसा कमाउने स्रोतको रुपमा बुझ््दा यसको मौलिकता घट्न गएको जानकारहरु बताउछन् । समाजमा मनाइने देउसी भैलोको बारे पुरानो पुस्ताले बुझाउन नसक्दा पुराना पुस्ताका देउसी र अहिलेका पुस्ताको देउसीमा आकाश पतालको फरक रहेको छ ।

आजकाल मौलिक र सिर्जनशील तरिकाले देउसी भैली खेल्न छाडिएको छ । स्पीकरमा गीत बजाएको भरमा देउसी भैली चल्न थालेको छ । घरघर गई देउसी घट्याउनुको साटो नयाँ नयाँ हिन्दी गितहरुमा रमेको देख्न सकिन्छ ।

देउसी र भैलीको रोचक पक्ष भनेको कथा हो । भट्याउनेले भट्याउँदा कथा भन्दै जान्छ । कथा विभिन्न हुनसक्छन् । भट्याउनेको खुबी कस्तो छ भन्नेले देउसी भैली टोलीको प्रभावकारिता निर्धारण हुन्छ । भट्याउने क्रममा कथा र लोकको गाथा भन्ने चलन हराउँदै गएको छ ।

देउसी भैलो आशिष दिने तरिका अझ प्रभावकारि हुँदै जानुपर्नेमा आजकाल विधि पुराउन मात्र आशिष दिइन्छ । बजार तथा गाउँ घरमा गाइने देउसी भैलि तेही पुराना गाथा समेटिएर आउने पाइन्छ । देउसी भैलीको मुख्य उद्देश्य नै आशिष दिनु हो भन्ने तथ्य नयाँ पुस्तालाई सिकाउनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।

पहिले देउसीभैलीमा महिला तथा किशोरी गुन्यु चोलीमा हुन्थे, पुरुष दौरा सुरुवाल हुन्थे । साथमा मादल, झ्याली, झ्याम्टा, बासुरी आदि हुन्थ्यो । युग परिवर्तनसँगै पोशाक पनि परिवर्तन हुँदै गएको छ । गुन्यु चोलीमा दौरा सुरुवाल त आजभोलि तेही तिहारका बेला सार्वजनिक हुने गितमा मात्र देख्न पाइन्छ । देशभरको सस्कृतिलाई जोगाउन गाउँ समाजमा रहेका पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाउनु जरुरी रहेको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेन भने संस्कृति मर्दै जान्छ ।

तिहारमा खेलिने देउसी भैलोको महत्व ठूलो भए पनि हिजो आज केबल मनोरञ्जनको रुपमा हर्ने थालिएको छ । यसको महत्व नयाँ पुस्ताले बुझ्न नसक्दा र पुरानो पुस्ताले सिकाउन नसक्दा यो विकृत बन्दै गएको छ । देउसी भैलो खेल्दा भट्याइने शब्दहरु पनि हिजो आज विकृत बन्दै गएको छ । अघिल्लो पुस्ताले आफुसंग भएका कुरा नयाँ पुस्तालाई सिकायो भने मात्र संस्कृतिले निरन्तरता पाउने संस्कृति प्रेमिहरु बताउछन् । तर हाम्रो समाजमा संस्कृति सिकाउने कुरा कम भएको पाईएकाले पहिले सस्कृती जर्गेना गर्न देउसी भैलो खेलेको उनीहरु बताँउछन् । तिहारमा खेलिने देउसी भैलोले अहिले टोल टोल र गाउँ गाउँ गुञ्जिरहेको छ । तर हिजो आजको देउसी भैलो विकृत बन्दै गएकोमा संस्कृति प्रेमीहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । परम्परागत देउसी भैलो लोप हुने अवस्थामा पुगेकोले यसलाई फेरि जीवन्त बनाउन जरुरी रहेको रहेको छ ।

देउसी भैलोको मौलिकता हराउदैं जाँदा सरकारी पक्ष भने खासै जोगाउन तिर सक्रिय भएको पाइदैंन । सस्कृतिलाई जोगाउन सरकार पक्ष बाट कुनै योजना तथा कार्यक्रम आउने गरीएको देखिदैंन । देउसी भैलोलाई लोप हुन तथा यसको मौलिकता हराउन नदिन समाजको पहिलो भुमिका हुने भए पनि स्थानिय सरकारले पनि मौलिकता बचाउन विभिन्न जनचेतना मुलक कार्यक्रम ल्याउनु पर्ने देखिन्छ । यति सुन्दर देउसी भैलीलाई नयाँ पुस्ताले जोगाउनुपर्छ र फैलाउनुपर्छ यसमा सबैंको हालेमालो आवश्यक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्