लक्कि नम्बर ७ः प्रतिनिधी सभामा समाजवादीलाई १८ हजार मत अपुग, कुन प्रदेशमा कतिले कटाए ‘थ्रेसहोल्ड’ ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

लक्कि नम्बर ७ः प्रतिनिधी सभामा समाजवादीलाई १८ हजार मत अपुग, कुन प्रदेशमा कतिले कटाए ‘थ्रेसहोल्ड’ ?



मधेश र लुम्बिनीमा १०–१०, बागमती र गण्डकीमा ७–७, अनि कर्णली, सूदुरपश्चिम र प्रदेश १ मा ६–६ वटा दलले कटाए थ्रेसहोल्ड

काठमाडौं । दोलखा र बाजुराबाहेक बाँकी जिल्लाको समानुपातिक प्रणालीको मत गणना पनि लगभग सकिएको छ । निर्वाचन आयोगले हालसम्म १ करोड ४ लाख २० हजार १ सय २५ सदर मतको नतिजा सार्वजनिक गरेको छ । यही अंकलाई आधार मान्दा पनि राष्ट्रिय दल बन्न वा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद प्राप्त गर्न कम्तिमा ३ लाख १२ हजार ६०४ मत आवस्यक पर्ने देखिएको छ ।

संघीय संसदका लागि २७ लाख ८८ हजार भोट पाएको एमाले पहिलो स्थानमा छ । त्यसपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले अहिलेकै अवस्थामा यो थ्रेसहोल्ड पार गरेका छन् ।

समानुपातिकमा धेरैको आँखाको तारो बनेको एकीकृत समाजवादी पार्टीलाई अहिलेकै अवस्थामा पनि संसदमा भाग लिन १८ हजारभन्दा धेरै मत आवस्यक पर्ने देखिएको छ । यस हिसाबले समाजवादीले सांसद पठाउने संभावना अन्त्य हुँदै गएको छ । कांग्रेस र माओबादलिे आफ्ना मतदातालाई बाजुरा र दोलखामा समानुपातिकतर्फ कलम चिन्हमा मतदान गर्न आग्रह गरेका कारण त्यहाँबाट अत्यधिक मत प्राप्त भएमा समाजवादीले पनि थ्रेसहोल्ड कटाउने आशा भने बाँकी छ ।

पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टी पनि थ्रेसहोल्डको मुखमै पुगेर बाहिरिनु पर्ने भएको छ । तर प्रदेशतर्फको संरचना योभन्दा भिन्न छ । संविधानले प्रदेश तर्फको समानुपातिक निर्वाचनमा कुल सदर मतको १.५ प्रतिशत प्राप्त गर्ने दललाई प्रदेश सभामा प्रतिनिधी पठाउने अधिकार सुनिश्चित गरेको छ ।
हालसम्म प्रदेशतर्फको समानुपातिकमा १ करोड १ लाख ३३ हजार ११ सदर मत गणना भएको छ । यस आधारमा अव कुन प्रदेशमा कुनकुन दलले प्रतिनिधी पठाउलान् भनेर हेरौं ।

प्रदेश १

कोशी बेसिनको प्रदेश नं. १ मा हालसम्म १८ लाख ९९ हजार १ सय ४४ सदर मतको गणना भएको छ । यस आधारमा प्रदेश सभामा प्रतिनिधित्व चाहने दलले कम्तिमा २८ हजार ४८८ मत ल्याउनु पर्छ । प्रदेशतर्फ एक तिहाइभन्दा धेरै मत पाएको एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रोमा छ । समानुपातिकतर्फ यो प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्ति बनेको छ । माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीसहित ६ दलले अहिलेको स्थितिमा थ्रेसहोल्ड कटाएका छन् । बाँकी ३० दलले न्यूनतम मत हासिल गर्न सकेको देखिँदैन ।

मधेश प्रदेश

अहिलेसम्म २० लाख ८६ हजार २९८ मत गणना भएको मधेशमा नेपाली कांग्रेसले सर्वाधिक मत पाएको छ । यो मतका आधारमा मधेशको प्रदेश सभामा प्रतिनिधी पठाउन कम्तिमा ३१ हजार २९५ मत चाहिन्छ ।

कांग्रेसबाहेक एमाले, जनमत पार्टी, जनता समाजवादी, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

मधेश पनि लुम्बिनीजसतै सर्वाधिक १० वटा राजनीतिक दलले समानुपातिकबाट प्रतिनिधित्व गर्ने प्रदेश बन्ने भएको छ । अरु २६ दल चुनावी मैदानबाट प्रदेश सभाभित्र छिर्न असमर्थ देखिएका छन् ।

बागमती प्रदेश

कुल १८ लाख ५७ हजार ९६६ मत गणना भएको यो प्रदेशमा प्रतिनिधित्व गर्न अहिलेकै अवसथामा कम्तिमा २७ हजार ८ सय ७० मत चाहिन्छ । हालसम्म एमाले, कांग्रेस, राप्रपा, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी गरी ७ दलले यो यो थ्रेसहोल्ड पार गरेका छन् । बाँकी ३४ दलले न्यूनतम मत पुर्याउने संभावना छैन ।

गण्डकी प्रदेश

गण्ढडकीमा जम्मा ९ लाख ८५ हजार ८०२ मत गणना भएको छ । यसको १.५ प्रतिशत अर्थात् १४ हजार ७८७ मत ल्याउनेले प्रदेश सभामा प्रतिनिधित्व गर्न पाउने हुन्छ । गण्डकीमा एमाले र कांग्रेस दुबै दलले एक तिहाइभन्दा बढी मत प्राप्त गरेका छन् । त्यसबाहेक माओबादी केन्द्र, राप्रपा, हाम्रो नेपाली पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहित ७ दलले थ्रेसहोल्ड कटाएका छन् । बाँकी २४ दल प्रदेश सभा बाहिरै रहने भएका छन् ।

लुम्बिनी प्रदेश

१८ लाख ८७ हजार ७८ सदर मत गणना भएको लुम्बिनीको प्रदेश सभामा भाग लिन न्यूनतम २८ हजार ३०७ मत चाहिन्छ । हालसम्मको गणनालाई आधार मान्दा उक्त १.५ प्रतिशतको सीमा १० वटा दलले कटाइसकेका छन् । बाँकी २२ दलले भने यो सीमा भेट्न सकेका छैनन् ।

गण्डकीमा पनि एमाले र कांग्रेसले नै बढी मत पाएका छन् । त्यसपछि माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले न्यूनतम मत पाएका छन् । लौरो चुनाव चिन्ह लिएको हाम्रो नेपाली पार्टी भने थ्रेसहोल्ड कटाउन ६०३ भोटको अपुगमा छ । यो दलले पनि थ्रेसहोल्ड कटाउन सक्यो भने मधेसलाई उछिनेर प्रदेश सभामा सर्वाधिक दलको सहभागिता गराउने अवसर लुम्बिनीले प्राप्त गर्ने छ ।

कर्णली प्रदेश

जम्मा ५ लाख ७७ हजार ८२९ सदर मत गणना भएको कर्णालीमा थप मतगणना बाँकी नै छ । तर अहिलेको अनुपातलाई हेर्दा केवल ८ हजार ६६८ मत ल्याउने दलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने छ । हालसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेपाल मजदुर किसान पार्टीले यो थ्रेसहोल्ड पार गरेका छन् । यसो हुँदा ६ वटा दलमात्रै प्रदेश सभामा जान योग्य बन्ने छन् भने बाँकी २२ दल बाहिरै रहने छन् ।

सूदुरपश्चिम प्रदेश

काली र कर्णालीको बीचको यो प्रदेशमा अहिलेसम्म ८ लाख ३८ हजार ८९४ सदर मतको गणना सकिएको छ । यस अनुसार त्यहाँको प्रदेश सभामा प्रतिनिधित्व खोज्ने दलले १२ हजार ५८४ मत कटाउनु पर्छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपा र एकीकृत समाजवादीले यो थ्रेसहोल्ड कटाएका छन् । यी ६ दल त्यहाँको प्रदेश सभावमा प्रतिनिधित्व गर्दै गर्दा २८ दल बाहिर हुने छन् ।


प्रतिक्रिया दिनुहोस्