बीमा कम्पनीले तोकिएको चुक्तापुँजी नपुर्याए कारवाही गर्ने प्राधिकरणको तयारी, पोर्टफोलियो कारोबार रोक्का हुने ! « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

बीमा कम्पनीले तोकिएको चुक्तापुँजी नपुर्याए कारवाही गर्ने प्राधिकरणको तयारी, पोर्टफोलियो कारोबार रोक्का हुने !



काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्धारित समयमा चुक्तापुँजी नपुर्याउने बीमा कम्पनीलाई कारबाही गर्ने तयारी सुरु गरेको छ ।

आगामी चैत मसान्तसम्म जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने छ । यो समयसीमा नजिकिदैं गर्दा प्राधिकरणले कारबाही गर्ने तयारी थालेको हो ।

चैत मसान्तसम्म चुक्तापुँजी नपुर्याउने कम्पनीलाई कारवाही गरिने प्राधिकरणका एक अधिकारीले बताए । सम्भवतः त्यस्ता कम्पनीलाई कारवाही स्वरुप निश्चित बीमा प्रडक्टको कारोबारमा रोक लगाउने र पोर्टफोलियो रोक्का गर्ने प्राधिकरणको योजना छ ।

‘बीमा कम्पनीलाई तोकिएको न्युनतम चुक्ता पुँजी बढाउन अझै करिब २ महिना बाँकी नै छ । तर, बाँकी अवधिमा पनि सबै कम्पनीले तोकिएको पुँजी पुर्याउने सम्भवना न्यून छ,’ प्राधिकरणको उच्च स्रोतले भन्यो, ‘तर, यसपालि तोकिएको अवधीमा चुक्तापुँजी पुर्याएनन् भनेर कम्पनीलाई म्याद थपिने छैन । चैत मसान्तसम्म पुँजी नबढाउने कम्पनीलाई कारवाही गर्ने प्राधिकरणको योजना छ ।’

प्राधिकरण (तत्कालिन बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । चुक्ता पूँजी र नेटवर्थ बढाएर कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एक–अर्कामा गाभ्ने गाभिने तथा पूँजी आधार बलियो बनाउन प्राधिकरणले निर्देशन दिएको थियो । ठूलो पूँजी भएमा सेवाको लागत घट्ने र बीमाको पहुँच विस्तार गर्न सजिलो पर्ने प्राधिकरणको विस्वास छ ।

कम्पनीहरुवीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरेको थियो । प्राधिकरण तोकेको सो अवधिमा पुँजी वृद्धि गर्न नसकेको खण्डमा कम्पनीहरुलाई मर्जरमा जाने व्यवस्था रहेको छ । ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्वन्धी निर्देशिका, २०७६’ अनुसार अधिकांश कम्पनी मर्जर प्रक्रियामा समेत गएका छन् । कतिपयले एकीकृत कारोबार समेत सुरु गरेको छन् ।

यद्यपि, कपितय कम्पनीको चुक्तापुँजी यसअघि नै तोकिएअनुसार पुगिसकेको छ । नेपाल लाइफ, नेशनल लाइफ, नेको र शिखर इन्स्योेरेन्सको चुक्तापुँजी भने पुगिसकेको छ । केही कम्पनीहरुले भने सेयर लाभांशमार्फत चुक्तापुँजी बढाएका हुन् ।

चुक्तापुँजी नपुग्नेमा अधिकांश कम्पनीहरु मर्जरमार्फत चुक्तापुँजी बढाउन लागेका छन् । कतिपय भने हकप्रद मार्फत चुक्तापुँजी बढाउने योजनामा छन् । तर, उनीहरुले अझै पनि हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएका छैनन् ।

हकप्रद सेयर निष्काशनका लागि सञ्चालक समितिको बैठक, बीमा प्राधिकरणको पुर्व स्वीकृति, साधारण सभा, धितोपत्र बोर्डको स्वीकृति लिने लामो प्रक्रियामै महिनांै समय लाग्छ । यसरी अधिकांश कम्पनीले चैतभित्रै चुक्तापुँजी पुर्याउन नसकिने देखिएको छ ।

मर्जरमा कुन – कुन ?
नेपालमा २० जीवन र १९ निर्जीवन बीमा कम्पनी थिए । त्यसमा चुक्तापुँजी बढाउन हालसम्म मर्जर प्रक्रियामा सहभागी भएका २५ बीमा सहभागी भएका छन् । त्यसमा ६ बीमा कम्पनी ३ वटामा कायम भएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार १६ निर्जीवन बीमा कम्पनी ८ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सामेल भएका छन् । यसैगरि ९ जीवन बीमा कम्पनी ४ ओटा कम्पनीमा कायम हुने गरी मर्जरमा प्रक्रियामा अघि बढेका छन् ।

निर्जीवन तर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले गत साउन १ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेका थिए । हिमालयन जनरल इस्योरेन्सको नामबाट उक्त दुई कम्पनीले एकीकृति कारोबार सुरु गरेका हुन् । यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि गत कात्तिक ७ गतेबाट सानिमा जिआईसीको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

यता, जीवन बीमातर्फ भने सुर्या र ज्योति लाइफले गत पुस ७ गतेबाट एकीकृत कारोबार गरेका छन् । मर्जपछि बनेको सुर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

थुप्रै बीमा कम्पनीहरु मर्जरमा गईरहँदा ५ बीमा कम्पनी भने हकप्रद सेयर जारी गरेर चुक्तापुुँजी बढाउने योजनामा देखिन्छन् । चार जीवन बीमा कम्पनी र १ निर्जीवन बीमा कम्पनीले संस्थापक सेयर नै थप गरेर चुक्तापुँजी बढाउन लागेका छन् । जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर थपेर चुक्तापुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवनतर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।

यता सरकारी बीमा कम्पनीको चुक्तापुँजी बढाउने बिषयमा भने अझै अन्योलमा रहेको छ । राष्ट्रि बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको चुुक्तापुँजी यसअघि तोकिएको सिमा भन्दा पनि कम छ ।

तर, उनीहरुले अझै पनि चुक्तापुँजी बढाउने योजना प्राधिरकणमा पठाएका छैनन् । यस्तै, नेपाल इन्स्योरेन्स र एशियन लाइफको चुक्तापुँजी बढाउने योजना अन्योलमा नै छ । यसैगरि विदेशी स्वामित्वका एलआईसी नेपाल, नेशनल र ओरियन्टल इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी बढाउने योजना अन्योलमा छ ।


प्रतिक्रिया दिनुहोस्