मर्ज गरेका ६ बैंकको व्यावसायिक प्रतिस्पर्धाः अधिकांश सूचकमा नबिल अब्बल, ‘नम्बर वान’को होडमा ग्लोबल

काठमाडौं । वर्ष २०७९ मा वाणिज्य बैंक तर्फ पनि मर्जरको लहर नै चल्यो । सो वर्ष ६ वटा बैंकको अस्तिव नै सकिएको छ, अर्थात १२ वटा बैंकको ६ वटा कायम भएका छन् ।
सो वर्ष नबिल–नेपाल बंगलादेश बैंक, कुमारी–एनसीसी, नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र हिमालयन–सिभिल बैंक एक आपस मर्जरमा गए । ति बैंकहरुले मर्जभई छुट्टा–छुट्टै मितिबाट एकीकृत कारोबार थालनी पनि गरिसकेका छन् ।
बैंकहरुले क्रमशः नबिल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, प्रभु र हिमालयन बैंकको नामबाट व्यवसाय विस्तार गरिरहेका छन् । मर्जपछि बैंकहरु अझ मजबुत बनेका छन् । चुक्ता पुँजी, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानी, शाखा संजाल लगायतका सूचक अझै बलियो बनेका छन् । मर्जपछि बैंकहरुमा व्यवसायिक प्रतिस्पर्धामा देखिएका छन् ।
२०७९ मा मर्ज भई बनेका यी ६ वटा नयाँ बैंकहरुको वित्तीय अवस्था कस्तो छ भनेर हामीले विभिन्न सूचकहरु केलाउने प्रयास गरेका छौं । यो बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा गरिएको तुलना हो । रिपोर्टअनुसार अधिकांश सूचकहरुमा नबिल बैंक पहिलो स्थानमा छ, केही सूचकहरुमा ग्लोबल आइएमई बैंक अगाडि छ । ६ वटा बैंकमध्ये हिमालयन बैंकको कमजोर प्रस्तुति देखिएको छ ।
अब हेरौं कुन सूचकमा को अगाडि ?
चुक्ता पुँजीमा ग्लोबल आइएमई पहिलो स्थान
बैंकहरुको वित्तीय विवरवणको आधारमा सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ छ । बैंकले बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि पुँजी वृद्धि भएको हो ।
ग्लोबल आइएमई पछि धेरै चुक्ता पुँजी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको छ । बैंकको हालको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले मेगा बैंकलाई प्राप्तिपछि पुँजी वृद्धि भएको हो । मर्जपछि बनेका नयाँ बैंकहरुमध्ये सबैभन्दा कम चुक्ता पुँजी हिमालयन बैंकको छ । सो बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । यस्तै, नबिल बैंकको २७ अर्ब ५ करोड, कुमारीको २६ अर्ब २२ करोड र प्रभु बैंकको २३ अर्ब ५४ लाख बढी छ ।

जगेडा कोषमा नबिल बलियो
जगेडाका कोषका आधारमा भने नबिल बैंक बलियो देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले जगेडा तथा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ राखेको छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाको २३ अर्ब ८९ करोड बढी छ ।
त्यसैगरि ग्लोबल आइएमई बैंकको जगेडा कोष १९ अर्ब, हिमालयनको १३ अर्ब, कुमारी १० अर्ब र प्रभु बैंकको १० अर्ब रुपैयाँ रहेको छ ।

खुद नाफामा नबिल कै अग्रता, ग्लोबलको पछिपछि एनआईएमबि
मर्जपछि बनेका नयाँ बैंकहरुमध्ये सबैभन्दा धेरै खुद नाफा नबिल बैंकको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो हाल संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको भन्दा पनि धेरै हो । खुद नाफा आर्जनका तुलनामा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ । सो बैंकले ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, प्रभुले १ अर्ब ९५ करोड, कुमारीले १ अर्ब ८२ करोड र हिमालयन बैंकले १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका छन् । खुद नाफामा हिमालयन बैंक कमोजर देखिएको छ ।

ब्याज आम्दानीमा पनि नबिललाई पच्छ्याउँदै ग्लोबल
चालु आवको तेस्रो त्रैमासमा नबिल बैंकले १२ अर्ब १० करोड बढी खुद ब्याज आम्दानी गरेको छ । नबिल पछि ग्लोबल आइएमई बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, एनआईएमबिको ७ अर्ब ७९ करोड, कुमारीको ७ अर्ब ४७ करोड, प्रभुको ६ अर्ब ६८ करोड र हिमालयन बैंकको ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

वितरणयोग्य नाफा पनि नबिलकै धेरै, प्रभु, एनआईएमबि र हिमालयनको ऋणात्मक
वितरणयोग्य नाफाका आधारमा पनि नबिल बैंकको पहिलो स्थानमा छ । चैत मसान्तसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ७७ करोड २० लाख बढी छ । दोस्रो स्थानमा रहेको ग्लोबलको भने ९६ करोड २६ लाख मात्रै देखिएको छ ।
यस्तै, कुमारीको भने २८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । तर प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी पनि नबिलकै उच्च, कुमारी बैंक कमजोर
प्रतिसेयर आम्दानीको तुलनामा पनि नबिल बैंक नै अगाडि देखिएको छ । नबिलको यस्तो आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ । वित्तीय रिपोर्टअनुसार कुमारी बैंक कमजोर देखिएको छ । कुमारीको इपिएस ९ रुपैयाँ २५ पैसा छ ।
यस्तै, ग्लोबल आइएमईको १७ रुपैयाँ ८ पैसा, एनआईएमबिको १५ रुपैयाँ २० पैसा, हिमालयनको १५ रुपैयाँ ४ पैसा र प्रभुको ११ रुपैयाँ ७ पैसा रहेको छ ।

निक्षेप संकलन र कर्जा लगानीमा ग्लोबल अगाडि
निक्षेप संकलन र कर्जा लगानीको आधारमा भने ग्लोबल आइएमई बैंक पहिलो स्थानमा छ । बैंकले ४ खर्ब ९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
दोस्रो स्थानमा रहेको नबिल बैंकले पनि ३ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरि कुल ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चालु आवको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ खर्ब ५० अर्ब १९ करोड रुपैयाँ, कुमारीले ३ खर्ब ३ अर्ब २८ करोड, हिमालयनको २ खर्ब ६३ अर्ब ४८ करोड र प्रभु बैंकले २ खर्ब ७७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
यी बैंकहरुले क्रमशः ३ खर्ब ११ अर्ब २४ करोड, २ खर्ब ७५ अर्ब ८५ करोड, २ खर्ब ४२ अर्ब ५३ करोड र २ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
