टप फाइभ माइक्रोफाइनान्सलाई दाँज्दाः छिमेकको अब्बल प्रस्तुति, को कति बलियो (विवरणसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८०को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अधिकांश लघुवित्तहरुले सार्वजनिक गरी सकेका छन् । लघुवित्तको रिपोर्ट हेर्दा अधिकांशको मुनाफा लगायतका अन्य सूचकमा निराशाजनक रहेको छन् । खराब कर्जा बढ्दा कम्पनीको मुनाफामा पहिरो गएको देखिएको छ ।
आज हामीले भने बजारमा चर्चित लघुवित्त कहलिने पाँच लघुवित्तलाई तेस्रो त्रैमासिक अवस्थासँग दाँजेर हेरेका छौं । लगानीकर्ता झुम्मिने वा सर्वाधिक रुचाइएका लघुवित्तहरु छिमेक, जीवन विकास, नेष्डो समृद्ध, महिला र निर्धन उत्थान को कति बलियो रहेका छन् भनेर विष्लेषण गरेका छन् । यी लघुवित्तहरुले सेयर बजारमा लगानीकर्ताले निकै रुचाएका लघुवित्तमा पर्ने गर्दछन् ।
आज (जेठ २ गते) छिमेक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ, नेष्डो समृद्धको दुई हजार ५ रुपैयाँ, जीवन विकासको एक हजार ३७० रुपैयाँ, महिला लघुवित्तको एक हजार ७४५ रुपैयाँ र निर्धन उत्थानको ५५३ रुपैयाँ रहेको छ ।
छिमेकले मात्र बढायो नाफा
चैत मसान्तसम्मको अवधिमा नाफा बढाउने कम्पनीमा छिमेक लघुवित्त रहेको छ । चार वटै कम्पनीको मुनाफा घटेपनि छिमेकको नाफा भने २२।८ प्रतिशतले बढेर ८८करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको छ । छिमेक सबै भन्दा बढी नाफा रहेको कम्पनी पनि हो । पाँच लघुवित्तको नाफाको आधारमा छिमेक लघुवित्त निकै बलियो देखिएको छ ।
दोस्रो स्थानमा रहेको जीवन विकास लघुवित्तको नाफा ३२ करोड ९२ लाख २३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ४६.११ प्रतिशतले कम नाफा हो । तेस्रो त्रैमासिकसम्मको अवधिमा नेष्डो समृद्ध लघुवित्तको १०.८५ प्रतिशतले घटेर १४ करोड ६८ लाख रुपैयाँ, महिला लघुवित्तको ५२.७९ प्रतिशतले घटेर ५ करोड २४ लाख रुपैयाँ र निर्धन लघुवित्तको ९४.५१ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँ नाफा रहेको छ ।
नाफा सर्वाधिक गुमाउने र कम नाफा रहेको लघुवित्तको निर्धन उत्थान लघुवित्त देखिएको छ ।

चुक्तापूँजीमा छिमेकको अग्रता कायमै, पुछ्रमा महिला
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको अवस्थालाई हेर्ने हो भने छिमेक लघुवित्तले चुक्तापूँजीका आधारमा पनि आफ्नो अग्रतालाई निरन्तता दिएको छ । कम्पनीको चुक्तापूँजी २२ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
चुक्तापूँजी धेरै हुने दोस्रो नम्बरमा निर्धन उत्थान लघुवित्त रहेको छ । कम्पनीको चुक्तापूँजी १८.९९ प्रतिशतले बढेर २ अर्ब ६१ लाख २० हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा चुक्तापूँजीको आधारमा क्रमशः जीवन विकासको १ अर्ब १८ करोड २० लाख रुपैयाँ, नेष्डो समृद्धको २५ करोड २० लाख र महिला लघुवित्तको २१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी चारले घटाउदा छिमेकले बढायो
खुद ब्याज आम्दानीमा छिमेकले मात्र बढाउदाँ चार कम्पनीले घटाएका छन् । छिमेकको खुद ब्याज आम्दानी २०.४४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ ।
धेरै खुद ब्याज आम्दानी संकलन गर्ने कम्पनीको निर्धन उत्थान लघुवित्त रहेको छ । यस अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ४० करोड ९७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १०.१९ प्रतिशतले कम हो ।
समिक्षा अवधिमा जीवन विकास लघुवित्तले १ अर्ब १९ करोड रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तले २७ करोड ४४ लाख रुपैयाँ र महिला लघुवित्तले २० करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

खराब कर्जामा पाँच वटै लघुवित्तको संकुचन
यस अवधिमा पाँच वटै लघुवित्तको खराब कर्जा बढेको छ । खराब कर्जा बढेका कारण कम्पनीको मुनाफा समेत प्रभाव गरेको छ । छिमेक लघुवित्तको खराब कर्जा ०.२८ प्रतिशतले घटेर १.१९ प्रतिशत रहेको छ । सबै भन्दा कम खराब कर्जा छिमेकको हुदाँ कम्पनी खराब कर्जामा समेत उत्कृष्टता हासिल गरेको हो ।
यस्तै, क्रमश जीवन विकास लघुवित्तको खराब कर्जा ४.०८ प्रतिशतले बढेर ४.९१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको २.८३ प्रतिशतले बढेर ८.५५ प्रतिशत, महिला लघुवित्तको ६.८३ प्रतिशतले बढेर ९.८० प्रतिशत र निर्धन उत्थान लघुवित्तको ८.७६ प्रतिशतले बढेर १२.०९ प्रतिशत पुगेको छ ।

चार कम्पनीको प्रतिसेयर आम्दानीमा समेत खुम्चियो, नेष्डोको आम्दानी सर्वाधिक
पाँच लघुवित्तमा नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर आम्दानी सबै भन्दा बढी रहेको छ । कम्पनीको उक्त आम्दानी ७६ रुपैयाँ ८ पैसा रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ९ रुपैयाँ ३५ पैसाले कम हो ।
छिमेक लघुवित्तले मात्र यस अवधिमा आफ्नो प्रतिसेयर आम्दानी ०.२७ प्रतिशतले बढाएको हो । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४१ पैसा रहेको छ ।
यस्तै, क्रमशः जीवन विकास लघुवित्तको ३७ रुपैयाँ १४ पैसा, महिला लघुवित्तको ३२ रुपैयाँ १७ पैसा र निर्धन उत्थान लघुवित्तको २ रुपैयाँ २५ पैसा रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानीमा निर्धन लघुवित्तमा पहिरो गएको छ ।

छिमेकले मात्र बढायो संचालन नाफा
चैत मसान्तसम्मको अवधिमा यी पाँच लघुवित्त मध्ये छिमेक लघुवित्तको मात्र संचालन नाफामा सुधार देखिएको छ । कम्पनीको संचालन नाफा ११.०७ प्रतिशतले बढेर १ अर्ब २४ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन यी पाँच लघुवित्त मध्ये कै बढी संचालन नाफा हो ।
दोस्रो स्थानमा सबै भन्दा बढी संचालन नाफा गर्ने कम्पनीमा जीवन विकास लघुवित्त रहेको छ । कम्पनीको उक्त नाफा ४७ करोड ३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको भन्दा ४६.११ प्रतिशतले कम हो ।
त्यस्तै, क्रमशः नेष्डो समृद्ध लघुवित्तको २३ करोड ३१ लाख रुपैयाँ, महिला लघुवित्तको ७ करोड ४९ लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तको ६ करोड ४५ लाख रुपैयाँ संचालन नाफा रहेको छ ।

नेष्डो र जीवनको प्रतिसेयर नेटवर्थ बढ्यो, तीनको ओरालो
प्रतिसेयर नेटवर्थमा नेष्डो समृद्ध लघुवित्तको अग्रता रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३९ रुपैयाँ ३३ पैसाले बढेर ३६८ रुपैयाँ ६१ पैसा रहेको छ । जुन पाँच लघुवित्त मध्ये कै सबै भन्दा बढी हो ।
त्यस्तै, जीवन विकास लघुवित्तको १३ रुपैयाँ ६ पैसाले बढेर २६१ रुपैयाँ ४५ पैसा रहेको छ । अन्य तीन लघुवित्तको प्रतिसेयर नेटवर्थ भने घटेको छ ।

चार लघुवित्तको जगेडा कोषमा सुधार, निर्धनको भने घट्यो
चैत समान्तसम्मको लघुवित्तको रिपोर्ट हेर्दा चार लघुवित्तको जगेडा कोषमा सुधार देखिएको छ । सबै भन्दा जगेडा कोष संकलन गर्ने लघुवित्तका छिमेक लघुवित्त रहेको छ । कम्पनीको जगेडा कोष ६.९४ प्रतिशतले बढेर २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तको जगेडा कोष ५.७ प्रतिशतले घटेर १ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १४.९६ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १७.१५ प्रतिशतले बढेर ६८ करोड ४९ लाख रुपैयाँ र महिला लघुवित्तको १७.८२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ रहेको छ ।
