ब्याजदर घटाउन राष्ट्र बैंकले ल्यायो इतिहासमै पहिलो पटक समावेशी नीति, सेयर बजारमा उत्साह « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

ब्याजदर घटाउन राष्ट्र बैंकले ल्यायो इतिहासमै पहिलो पटक समावेशी नीति, सेयर बजारमा उत्साह



काठमाडौं । कोभीड महामारीपछि ठूला ब्यापारी व्यवसायीहरु नाजायज धन्दामा पल्केका थिए । बजारमा भएको सबै पैसा उनीहरुको कब्जामा पुग्दा पनि उनीहरु नै राहत माग्थे । महिनौंसम्म बैंकको ब्याज तिर्दैनथिए र बैंकर एवम् व्यावसायिक प्रतिनिधीमार्फत् राजनीतिक लबिङ गरेर उनीहरु नै छुट लिन्थे । जायजेथा र भएभरको सम्पत्ती बेचेरै भए पनि ऋण तिर्ने सोझासीधा नागरिकले राहतको लाभबाट बञ्चित भइरहनु पर्दथ्यो । ‘चोरलाई चौतारो, साधूलाई शूली’ भनेजस्तो विभेदकारी नीतिकै कारण यो साल अर्थतन्त्र नै धरासायी बन्न पुग्यो । यसपल्ट पनि धेरैजसो ठूला ब्यापारीको दाउ त्यही थियो । तर पुनरकर्जाजस्ता सुविधाबारे राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नयाँ व्यवस्थाबाट ठूला व्यवसायी झस्किएका छन् ।

गरिबलेभन्दा ज्यादै सस्तो ऋणमा थप कर्जा पाउने र ब्याज तिर्न पनि छुट पाइने आशामा रहेका उद्योगी व्यापारीहरु अहिले राष्ट्र बैंकले ‘झुक्याएको’ भन्न थालेका छन् । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै बैंकहरुले मासिक आधारदर वेवसाइटमा प्रकाशन गर्न भनेको छ । हरेक तीन महिनाको औसत आधार दर पनि प्रकाशित गर्नुपर्ने भएको छ । कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजमा प्रदान गर्न नमिल्ने व्यवस्था भएको छ । यसअघि ‘आधारदरभन्दा कम हुन नपाउने’ मात्रै भनिँदा ब्याजदर घट्न थाल्ने वित्तिकै आधार दर कम देखाएर ठूला ऋणीको ब्याजदर घटाइहाल्ने परिपाटी बैंकमा ब्याप्त भएको थियो ।

यसबाहेक निक्षेपको ब्याजदर घटाएर महिनौंसम्म ऋणीलाई दोहन गरिरहने बैंकमाथि पनि राष्ट्र बैंकले नत्थी कसेको छ । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नु पर्ने छ’, निर्देशनमा भनिएको छ । यस व्यवस्थाले चैतदेखि निक्षेपको नै ब्याजदर घटाएका बैंकहरुलाई वैशाखबाटै कर्जाको ब्याजदर घटाउनै पर्ने बाध्यता सिर्जना गर्छ । यसअघि तीन महिनाको औसत आधार दरलाई हेर्ने भनिए पनि अव भने तत्काल ब्याज घटाउनु पर्ने अवस्थामा बैंकहरु पुगेका छन् ।

नयाँ निर्देशनमा आएको सबैभन्दा महत्वपूर्ण व्यवस्था ‘समावेशी लाभ’ हो । नयाँ निर्देशनले ‘ब्याजदर घटाउँदा वा बृद्धि नगर्दा (स्थिर राख्दा पनि) सबै ग्राहकले समान रुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने’ भनिएको छ । यसअघि यस्तो ‘लोककल्याणकारी’ व्यवस्था थिएन । त्यही कारण बैंकहरुले तरलता सहज हुने संकेत पाएलगत्तै अर्बपति ऋणीलाई स्वाट्टै ब्याज घटाइदिने गर्थे ।

तर बैंकसँग बार्गेनिङ गर्न नसक्ने सामान्य ऋणीसँग महँगो ब्याज अशुलिरहेने परिपाटी चल्दै आएको थियो । अब सबै ऋणीलाई बराबर लाभ पुग्ने गरी बैंकको प्रणालीबाटै ब्याजदर घटाउनु पर्ने भएपछि ठूला ऋणीलेमात्रै लाभ पाउने व्यवस्था अन्त्य हुने देखिएको छ । यसको लाभ हजारौं साना ऋणीले पाउने छन् ।

राष्ट्र बैंकले समस्यामा परेका होटेल तथा रेष्टुरेण्ट, पशुपंक्षी पालन र निर्माण क्षेत्रमात्रै होइन, ५ करोडसम्मका सबै खाले कर्जालाई पुन:तालिकिकरण गर्ने सुविधा पनि दिएको छ । उद्योग वा व्यवसायको नगद प्रवाह एवम् आम्दानी विश्लेषण गरेर पाकेको ब्याजको १० प्रतिशत रकम तिरेर कर्जा पुन:संरचना एवम् पुन:तालिकीकरण गर्न पाउने सुविधा दिएको छ ।

तर राष्ट्र बैंकले यस्तो सुविधालाई निरुत्साहित गर्न भने खोजेको छ । आगामी असार मसान्तभित्र यस्तो पुन:संरचना र पुन:तालिकीकरण गरिसक्नु पर्ने भनिएको छ । चैत मसान्तसम्म सावाँ ब्याज भुक्तानी गरिरहेका कर्जालाई मात्रै यस्तो सुविधा दिइएको छ । तर पुन:तालिकीकरण वा पुन:संरचना गर्दा बैंकले भने त्यस्तो कर्जामा ५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था भएको छ । यसले बैंकहरु पुन:तालिकिकरणमा तत्काल राजि भइनहाल्ने परिपाटी विकास हुन्छ ।

यसबाहेक अल्पकालिन तथा चालु पुँजी कर्जामा पनि सरलिकरण भएको छ । गत चैतसम्म असल वर्गमा बर्गिकरण भएका अल्पकालिन र चालु पुँजी कर्जालाई आगामी असारभित्र ३ महिनाको म्याद थप्ने सुविधा दिइएको छ । यस व्यवस्थाले ठूलो मात्रामा चालु पुँजी कर्जा परिचालन गरेका ऋणीलाई उक्त रकम सेयर बजार वा अन्य छिटो लाभ हुने क्षेत्रमा परिचालन गर्न सघाउ पुग्ने भएको छ ।

सेयर बजारमा सकारात्मक प्रभाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् केही खुकुलो प्रावधान अघि सारेपछि पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएको थिएन । तर यसको कार्यान्वयन हुने अवस्थामा पुग्दासम्म बजारले ‘हरियो बत्ति’ बालिसकेको छ । पछिल्ला तीन दिनमा उकालो लागेको नेप्सेले तीन साताकै उच्च विन्दु भेट्टाइसकेको छ ।

प्राविधिक रुपमा पनि नेप्सेले यो ‘वियररन’मा दोस्रो पटक न्यूनतम विन्दुको परीक्षण गरेको छ । १० असार २०७९ मा नेप्से १८०७ अंकभन्दा तल ओर्लिएको थियो । १ जेठ २०८० मा नेप्से पुन: १८०७ अंकमा ओर्लियो । ११ महिनाअघिको न्यूनतम विन्दुबाट केवल ५८ आधार विन्दुको दुरीमा झरिसकेपछि नेप्सेले उकालो यात्रा सुरु गरेको छ । यसबीचमा नेप्से गत २६ पुसमा २२ सय ७७ अंकसम्म पुगेको थियो । दैनिक ब्यापारको यो उतारचढावले अब नेप्सेलाई नयाँ बृद्धिको बाटोमा अग्रसर गराउने संभावना थप बलियो बनेको छ । यसअघि पनि यस्तै न्यूनतम विन्दुमा दोहोराएर फर्किएपछिमात्रै नेप्सेमा सुधार भएको इतिहास छ ।

यसअघि पनि २०७३ साउन १२ गते १८८८ अंकमा कीर्तिमानी उचाइ बनाएर ओरालो लागेको नेप्सेले २१ फागुन २०७५ मा पुगेर १ हजार ९९ अंकसम्म झरेको थियो । त्यसपछि बढेर १३ सय ४९ अंकसम्म पुगेको नेप्से ९ मंसिर २०७६ मा पुन: ११ सय २ अंकमा झरेको थियो । त्यसबेला नेप्से अघिल्लो न्यूनतम विन्दुभन्दा ३५१ आधारविन्दु माथिबाटै नेप्से फर्किएको थियो ।

त्यसपछि नेप्सेमा ५ पटक ठूला ‘करेक्सन’ भोगेपछि नयाँ उच्चतम विन्दुमा पुगेको थियो । २ भदौ २०७८ मा ३१ सय ९८ अंकमा उच्चतम विन्दु बनाएको भए पनि ‘इन्ट्रा–डे’ कारोबारमा त्यसको भोलिपल्ट नेप्से ३२ सय २७ अंक छिचोल्न पुगेको थियो । त्यसै दिनबाट सुरु भएको ओरालो यात्रामा नेप्से पुन: एक पटक गत सोमबार पनि १८ सय ७ अंकमै फर्किएको हो ।

यसरी पछिल्ला तीन दिनमा नेप्से ५९ अंक बढिसकेको छ । ‘इन्ट्रा–डे’ ब्यापारलाई नियाल्ने हो भने गत सोमबारको न्यूनतम विन्दुपछि विहीबारको उच्चतम विन्दुसम्म आउँदा ७४ विन्दुको उतारचढाव भोगिसकेको छ । यसले आगामी दिनमा बजार उकालो लाग्नसक्ने संभावनालाई प्रबल बनाएको विश्लेषकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्