आइपीओमा आरक्षणः उद्देश्य, मापदण्ड, बर्तमान अवस्था, समस्या तथा चुनौती र अबको बाटो « Arthapath.com
८ असार २०८२, आईतबार

आइपीओमा आरक्षणः उद्देश्य, मापदण्ड, बर्तमान अवस्था, समस्या तथा चुनौती र अबको बाटो



ऋषि राम पण्डित

अवधारणा
सन् १९८० को दशक देखि सुरू भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक आवद्धता सँगसँगै विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पुँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत दुई दशकयता तेस्रो मुलुक (खास गरी मलेसिया र खाडी मुलुक) तर्फ वैदेशिक रोजगारका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै गएको छ ।

नेपालको अर्थतन्त्रमा बिप्रेषण भूमिका ठुलो रहेको छ । देशको अन्तर्राष्ट्रिय व्यापार तिव्र घाटा तथा वैदेशिक पुँजी प्रवाह अपेक्षाकृत नहुँदा पनि अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलन सकारात्मक राखी अर्थतन्त्रलाई चलायमान गर्न विप्रेषणले महत्वपूर्ण योगदान गरिरहेको छ । साथै मुलुकको बिदेशी मुद्राको प्रमुख स्रोत संस्थागत र व्यक्तिगत प्रक्रियाबाट संसारका विभिन्न देशहरूमा बैदेशिक रोजगारीका लागि गएका करिव ५० लाख नेपालीहरूले पठाएको विप्रेषण हो । अघिल्लो आर्थिक बर्षमा औपचारिक माध्यमबाट कूल ग्राहर्थ उत्पादन (जिडिपि) को २० प्रतिशत भन्दा बढि अर्थात १० खर्ब रूपैयाँको हाराहारीमा बिप्रेषण मार्फत भित्रिएकोमा अधिकांश रकम उपभोग तथा सामाजिक क्रियाकलापहरूमा खर्च भएको सहजै अनुमान गर्न सकिन्छ । देशमा बिप्रेषण मार्फत प्राप्त हुने रकम उत्पादनमुलक क्षेत्रमा लगानी गरी आर्थिक तथा सामाजिक बिकास गर्ने सरकारी प्रयास अपेक्षित रूपमा सफल हुन सकिरहेको छैन । त्यस्तै, विप्रेषणको ठूलो हिस्सा अनौपचारिक क्षेत्रबाट प्राप्त हुने गरेको जानकारहरूको विश्लेषण रहेको छ । जसले गर्दा सरकारको आम्दानी घट्ने, अनौपचारिक अर्थतन्त्रको बिकास हुने, अनुत्पादक क्षेत्र लगानी हुने, अर्न्तराष्ट्रिय क्षेत्रमा कालोसूचीको जोखिम बढ्ने समस्या उत्पन्न हुने देखिन्छ ।

नेपाल सरकारले औपचारिक माध्यमबाट बिप्रेषण भित्र्याउन प्रोत्साहन गरी बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने तथा उत्पादनमुलक क्षेत्रमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धि र आर्थिक बिकासमा सहयोग पुर्याउने उद्देश्यले आ.व. २०७९÷८० को बजेट बक्तव्यमा बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था गरेको देखिन्छ । बजेटको उक्त व्यवस्थालाई कार्यन्वयन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (बोर्ड) ले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ छैठौ संसोधन गरी संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजानिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुट्याई बॉडफॉड गर्नु पर्नेछ र उक्त निष्काशित सेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्नेछ भन्ने व्यवस्था गरी कार्यन्वयनमा ल्याएको देखिन्छ । प्रस्तुत आलेखमा बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्रारम्भिक सार्वजनिक निष्काशनमा प्रदान गरिएको आरक्षणको उद्देश्य, आवेदन दिन पुरा गर्नुपर्ने मापदण्ड, बर्तमान अवस्था, समस्या तथा चुनौती र अबको बाटो सम्बन्धमा प्रष्ट पार्ने प्रयास गरिएको छ ।

ख) उद्देश्य

बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्रारम्भिक सार्वजानिक निष्काशनमा प्रदान गरिएको आरक्षणले औपचारिक माध्यमबाट विप्रेषण आप्रवाहलाई प्रोत्साहन गरी समग्र राष्ट्रको आर्थिक सामाजिक रूपान्तरण तथा अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलनमा महत्त्वपूर्ण योगदान गर्ने मुख्य उद्देश्य रहेको छ । यस आरक्षणको उद्देश्यलाई देहाय बमोजिम बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ ।

-औपचारिक अर्थतन्त्रको बिकासमा सघाउ पुरयाउनेः विप्रेषणको ठूलो हिस्सा अनौपचारिक तवरबाट भित्रिने गरेको जानकारहरू बताउँछन । अनौपचारिक माध्यमबाट विप्रेषण पठाउँदा औपचारिक माध्यम भन्दा सस्तो हुनु, वढि विनिमयदर हुनु, छिटो छरितो एवं सहज रूपमा रकम पठाउन सकिनु, श्रमिकको शैक्षिक स्तर कमजोर हुनु जस्ता कारणले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले अनौपचारिक माध्यमतर्फ आकर्षित हुने गरेको सुनिन्छ । अनौपचारिक क्षेत्रबाट प्राप्त हुने विप्रेषणको आधिकारिक तथ्यांक उपलब्ध नभएतापनि समग्र आर्थिक गतिविधिमा यसको प्रभाव उल्लेख्य रहेको अनुमान लगाउन सकिन्छ । जसले गर्दा अनौपचारिक अर्थतन्त्रको बिकास भई अनुत्पादक क्षेत्रमा लगानी वृद्धि भई सरकारको राजस्वमा समेत गम्भिर असर पर्ने देखिन्छ यस व्यवस्था गरिएसँगै बैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रोत्साहित भई औपचारिक अर्थतन्त्रको बिकास एवं विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

-बाह्य क्षेत्रको स्थायित्वः बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको अवस्थामा अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलनमा औपचारिक माध्यमबाट प्राप्त हुने विप्रेषणले शोधानान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा महत्वपूर्ण टेवा पुर्याई रहेको छ नेपालको बिदेशी मुद्राको प्रमुख स्रोत संस्थागत र व्यक्तिगत प्रक्रियाबाट संसारका विभिन्न देशहरूमा बैदेशिक रोजगारीका लागि गएका करिब पचास लाख नेपालीहरूले पठाएको बिप्रेषण हो । यस व्यवस्थाले बैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रोत्साहित गरी अर्थतन्त्रको बाह्य क्षेत्रलाई अझ सवल, सक्षम र प्रभावकारी बनाई बाह्य क्षेत्र स्थायित्व हासिल गर्न सहयोग पुग्न सक्ने देखिन्छ ।

-राष्ट्रिय पूँजी निर्माणः नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक वृद्धि र बिकासका लागि आवश्यक पुँजीको खाडल परिपूर्ति गर्ने उपयुक्त माध्यम वैदेशिक रोजगारीमा गएका नेपाली तथा गैर आवासीय नेपालीहरूलाई मुद्रा बजार तथा पुँजी बजारका उपकरणहरू मार्फत पुँजी संकलन गरी पूर्वाधारको बिकास, औद्योगिकीकरण, व्यापार व्यवसाय आदिमा लगाउन सकिन्छ । विप्रेषण व्यवस्थापन मार्फत समुदायमा आधारित उद्यमशीलता बिकास, श्रम लगानीमा प्रोत्साहन, कृषिको व्यवसायीकरण तथा आधुनिकिकरण, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको प्रबन तथा प्रोत्साहन, सेवा क्षेत्रको बिकास तथा विस्तार आदिमा आधारित राष्ट्रिय विकास मोडल रणनीति बनाउन सकिन्छ । यस मार्फत समष्टिगत आर्थिक–सामाजिक बिकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ ।

-विप्रेषण सागत न्यूनीकरणः विश्व बैंकको सन् २०२२ को प्रकाशित तथ्यांक अनुसार प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट नेपालमा एक पटकमा अमेरिकी डलर २०० सम्म पठाउँदा पठाएको रकमको ४.२ प्रतिशत र अमेरिकी डलर ५०० सम्म पठाउँदा पठाएको रकमको २९ प्रतिशत रहेको छ विप्रेषण लागत छिमेकी राष्ट्रहरू भारत र बंगलादेशको तुलनामा केहि बढि भएकोले अनौपचारिक माध्यम तर्फ आकर्षित भएको पाइन्छ । यस व्यवस्थाले वैदेशिक रोजगारीमा रहेको नेपालीलाई औपचारिक माध्यमबाट विप्रेषण पठाउदा लाग्ने शुल्कको सोधभर्ना सेयर मार्फत हुने तथा वैदेशिक रोजगारीबाट भएको आम्दानी उत्पादनमुलक क्षेत्रमा लगानी भई उचित प्रतिफल समेत प्राप्त हुने देखिन्छ ।

-पुँजी बजारको विकासः वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्राथमिक निष्काशनमा आरक्षण प्रदान गर्दा छरिएर रहेको पुँजी एकत्रित भई उत्पादनमुलक क्षेत्रमा लगानी हुने, लगानीकर्ताको संख्या वृद्धि हुने, बचत प्रोत्साहित हुने, भच्युअल मुद्रामा हुने लगानी निरुत्साहित हुने तथा लगानीयोग्य रकमको वृद्धि भई नेपालको पुँजी बजारको बिकास र विस्तारमा सहयोग पुग्ने देखिन्छ । यस व्यवस्थाको प्रभावकारी कार्यन्वयनले लगानीकर्ताको संख्याको वृद्धि, लगानीयोग्य रकमको वृद्धि, पुँजी बजारका आधुनिक उपकरण (डेरिभेटिभ, सर्ट सेल, इंटिफ) को प्रयोगमा व्यपकता, बजारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भई समग्रतामा नेपालको पुँजी बजारको विकास र विस्तारमा महत्वपूर्ण कोशेढुंगा सावित हुन सक्ने देखिन्छ ।

-अर्थतन्त्रको संरचनागत समस्याको समाधानः नेपालको अर्थतन्त्रको संरचनागत समस्याहरू गरिबी, असमानता, बेरोजगारी, न्यून उत्पादन तथा उत्पादकत्व, स्रोत परिचालन जस्ता समस्याहरू पुँजीको अभावबाट भईरहेको छ । यस प्रकारको समस्या समाधानका निमित्त बैदेशिक रोजगारीमा गएका नेपालीहरूको बचत परिचालन मार्फत लगानीयोग्य रकमको जोहो भई व्यवसायिक बाताबरण तयार हुने देखिन्छ । विप्रेषण रकमको प्रभावकारी उपयोगबाट स्रोत परिचालनबाट राष्ट्रिय उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्दै गरिवी तथा असमानताको न्यूनीकरण, रोजगारीको अवसर सिर्जना, औद्योगिकिकरण तथा औद्योगिक बिकास भई समृद्ध नेपालको आधार तयार गर्न सहयोग पुग्ने देखिन्छ ।

ग) निर्धारित मापदण्ड

नेपाल सरकारबाट आव २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था गरिए अनुरूप वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्थालाई कार्यन्वयन गर्न बोर्डबाट धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरी प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ । साथै बोर्डले मिति २०७२÷०६÷१७ गते देखि लागू हुने गरी धितोपत्र निष्काशन तथा बॉडफॉड (छैठौ संसोधन) निर्देशिका, २०७२ जारी गरे पश्चात धितोपत्र सार्वजानिक निष्काशनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजानिक निष्काशनमा यो व्यवस्था लागू हुनेछ । बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि छुट्याईएको धितोपत्रको खरिद आवेदनका लागि देहाय बमोजिम मापदण्डहरू पूरा गर्नु व्यवस्था गरिएको छः

-बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत लगानीकर्ताले आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्छ ।

-सिडिएससिबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नु पर्छ ।

-नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरि विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि बैंक मार्फत सिआरएन (सि–आस्वा रजिष्ट्रेशन नम्बर ) लिनु पर्छ ।

-आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्छ । आवेदकले सार्वजानिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

घ) बर्तमान अवस्थाः
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौ संसोधन) निर्देशिका, २०७९ जारी गरे पश्चात धितोपत्र सार्वजानिक निष्काशनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्काशन गरेको सेयरको दश प्रतिशत छुट्याई बाँडफाँड गर्नु पर्नेछ भन्ने व्यवस्था बमोजिम सर्वप्रथम कालिञ्चोक दर्शन लिमिटेडले चुक्ता पुँजीको अठार प्रतिशत अर्थात १० करोड ८० लाख रकम बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख ८० हजार कित्ता सेयर सार्वजानिक निष्काशन गरेकोमा सार्वजनिक निष्काशनको १० प्रतिशत अर्थात १ करोड ८ लाख रकम बराबरको १०० रुपैयाँ अंकित दरको १ लाख ८ हजार ००० कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २०७२ मंसिर १४ देखि २०७२ मंसिर २८ सम्म जारी गरेको थियो । यस व्यवस्था लागू भएपश्चात २०७९ चैत्र मसान्तसम्म कूल २० वटा कम्पनीले ३३ लाख ९७ हजार ५८८ कित्ता सेयर बैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि आरक्षित गरी कूल ३३ करोड ९७ लाख ५८ हजार ८०० रूपैया संकलन गरेको पाइएको छ । यस अवधिमा सुपरमाई हाइड्रोपावर लिमिटेडले अधिकतम पाँच करोड रकम बराबरको पाँच लाख कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आरक्षण गरेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा न्यूनतम ९ लाख ७० हजार रकम बराबरको ९ हजार ७ सय कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आरक्षण गरेको छ । यस अवधिमा सेयर निष्काशन गरेको अधिकांश कम्पनीहरूले स–सानो परिमाणमा सेयर जारी गरेको पाइएको छ यस व्यवस्था लागू भए पश्चात चैत्र मसान्तसम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रारम्भिक सार्वजानिक निष्काशनमा आरक्षण गर्ने धितोपत्र निष्काशक कम्पनी, बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आरक्षित सेयर संख्या र रकम तपशिलको तालिकामा प्रस्तुत गरिएको छ ।

(ङ) समस्या तथा चुनौती

जनचेतनाको कमीः नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदारहरू ठूलो संख्यामा अदक्ष, सानो संख्यामा अर्धदक्ष र सिमित संख्यामा दक्ष कामदारहरू रहेका छन् । अदक्ष कामदार हरूको न्यून शैक्षिक योग्यता आर्थिक एवं वित्तीय चेतना तथा ज्ञानको कमी, सूचना प्रविधिको पर्याप्त ज्ञान नहुनु, न्यून आम्दानी हुनु आदि रहेको छ । अधिकांश बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई वित्तीय लगानी तथा त्यसको सम्भावित फाइदाको बारेमा कमजोर चेतना रहेको पाइन्छ नेपाल सरकारले उच्चतम प्राथमिकतामा राखि नेपाल राष्ट्र बैंकले जारी गरेको बैदेशिक रोजगार बचतपत्रमा बढी प्रतिशत व्याजदर हुँदाहुँदै पनि न्यून आकर्षण उपयुक्त उदाहरण हुन सक्छ । यस व्यवस्थालाई बैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बचत र नाफामुलक लगानीको क्षेत्रको रूपमा लक्षित वर्गलाई विभिन्न माध्यमबाट सुसूचित गराउनु प्रमुख समस्या तथा चुनौतीको रूपमा रहेको छ ।

झन्झटिलो प्रक्रियाः नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदारहरूमा धितोपत्र बजार सम्बन्धी ज्ञान तथा सूचना प्रविधिमा दखल कमी हुँदा हाल तोकिए बमोजिम मापदण्ड पुरा गरी विप्रेषण खाता खोल्ने, हितग्राही खाता खोल्ने, विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि बैंक मार्फत सिआरएन (सि आश्वा रजिष्ट्रेशन नम्बर ) लिनुपर्ने र पछिल्लो ६ महिनामा कम्तिमा पचास हजार रूपया आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्थाको परिपालनामा झन्झट हुन सक्ने देखिन्छ जसबाट लक्षित समूह सम्म पुग्न कठिन भई प्रभावकारी कार्यन्वयनमा जटिलता पैदा हुन सक्ने देखिन्छ ।

स–सानो परिमाणमा सेयर जारी हुनुः बोर्डबाट गरिएको व्यवस्था बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउँदा सानो परिमाणमा मात्र सेयर जारी हुन्छ उदाहरणको लागि, कुनै संगठित संस्था वा कम्पनीले आफ्नो कूल चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्दा त्यसको १० प्रतिशत अर्थात कूल चुक्ता पुँजीको ३ प्रतिशत मात्र सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड हुन्छ । हाल करिव ५० लाख नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशमा छरिएर रहेकोले सानो परिमाणमा सेयर जारी हुँदा सर्वसाधारणलाई जारी गरेको सेयरमा जस्तै चिठ्ठा प्रणाली हुने निश्चित देखिएको छ । यस अवधिमा २० वटा संगठित संस्थाले करिव ३४ लाख कित्ता सेयर मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरेका छन् ठूलो संख्यामा बैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स–साना संगठित संस्थाहरूले सानो सानो परिमाणमा सेयर जारी गर्दा यस व्यवस्थाको आकर्षण कम हुने देखिन्छ ।

यथार्थ वैदेशिक रोजगारीमा रहेका नेपालीको पहिचान गर्नेः आयोजना प्रभावित स्थानियलाई जारी गरेको सेयर अस्थानियलाई समेत बाँडफाँड भएको गुनासो यदाकदा सुनिदै आइरहेकोमा वास्तविक वैदेशिक रोजगारीमा नरहेका व्यक्तिहरूले लाभ लिन सक्ने कुरालाई पर्यात एवं उचित ध्यान दिनुपर्ने देखिन्छ । यो व्यवस्था नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृति प्राप्त गरी विदेशमा काम गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्ने व्यवस्था रहेकोमा मापदण्ड पूरा भएका तर नेपालमा रहेकाको हकमा के हुने भन्ने प्रष्ट व्यवस्था नभएको हुँदा विदेशमा रोजगार गरिरहेको नेपालीलाई मात्र बाँडफाँड नहुने सम्भावना समेत रहन सक्ने देखिन्छ ।

अन्यः विप्रेषण (रेमिट्यान्स) खातामा पठाएको रकमको प्रमाणिकरणका लागि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले थप कागजात तथा विवरणको माग गर्नुपर्ने, विप्रेषणको उत्पत्तिको स्रोत पत्ता लगाउनु, पासपोर्ट र श्रम स्विकृतिको म्यादलाई पनि हेर्नुपर्दा काममा दोहोरोपना भएको सूचना प्रविधिको युगमा पनि म्यनुअल काम गर्नुपरेको जस्ता गुनासोहरू रहेको हुँदा यसको समाधान गर्नु चुनौतीपूर्ण रहेको छ ।

च) अबको बाटो

जनचेतनाको अभिवृद्धिः बोर्डले नेपाल सरकारका निकायहरू तथा बजार सहभागीसँगको समन्वय तथा सहकार्यबाट बैदेशिक रोजगारीमा जाने नेपालीलाई यस व्यवस्थाको फाइदाको बारेमा जनचेतना जागरणमा जोड दिनुपर्ने देखिन्छ । यसका लागि वैदेशिक रोजगारमा जाने नेपालीलाई अनिवार्य रूपमा लिनुपर्ने पूर्व प्रस्थान अभिमुखिकरण तालिम एयरपोर्ट तथा ट्रान्जिट सम्बन्धित देशमा रहेको नेपाली दुतावास तथा ठूलो संख्यामा नेपाली रहेको विदेशी कम्पनीहरूमा वित्तीय चेतना सहितको आवेदन प्रक्रिया एवं फाइदाको जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ भने सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन आदिमा विज्ञापनको समेत व्यवस्था गर्नुपर्नेछ ।

लगानीको सुरक्षाः धितोपत्र बजारको उपकरणहरू मध्ये सेयरको लगानी जोखिमयुक्त रहेको छ । जोखिमयुक्त क्षेत्रको रूपमा रहेको सेयरमा गरिने लगानीमा लगानीकर्तालाई कम्पनीको समग्र वित्तीय अवस्था सञ्चालन अवस्था र भविष्यको सम्भावित अवस्थाको सम्बन्धमा उचित जानकारी प्रदान गरी सूचित लगानीको निर्णय मार्फत लगानीको सुरक्षामा जोड दिनुपर्ने हुन्छ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रारम्भिक सार्वजानिक निष्काशनमा आरक्षण प्रदान गर्ने कम्पनीको नेटवर्थ, मुनाफा, आम्दानी, खर्च, सञ्चालक समिति, कार्यकारी प्रमुख, भावी सम्भावना, बजारको अवस्था, प्रतिस्पर्धात्मक लाभ आदिको सम्पूर्ण जानकारी प्रदान गर्नुपर्दछ ।

सूचना प्रविधिको अधिकतम प्रयोगः विद्युतीय माध्यमबाट विप्रेषण खाता, बैंक खाता तथा डिम्याट खाता खोल्न सक्ने, भिडियो ग्राहक पहिचान विवरण (केवाईसी), अनलाइन सेवा आदि प्रदान गरी प्रक्रियागत झटको न्यूनीकरणका लागि अधिकतम रूपमा सूचना तथा सञ्चार प्रणालीको प्रयोग मार्फत बैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रारम्भिक सार्वजानिक निष्काशनमा आकर्षण गर्नुपर्ने हुन्छ ।

उत्पादनमुलक तथा वास्तविक क्षेत्रका कम्पनीहरूलाई आकर्षित गर्नेः नेपालमा यथेष्ठ सम्भावना रहेको तथा प्रतिस्पर्धात्मक लाभको क्षेत्रहरू जलविद्युत उत्पादन, प्रशारण तथा वितरण, पूर्वाधार निर्माण, यातायात, सञ्चार, पर्यटन, कृषि क्षेत्र, उद्योग लगायतका क्षेत्रहरूलाई पुँजी बजारमा आकर्षित गर्ने नीति अख्तियार गर्नु आवश्यक रहको छ ठूलो संख्यामा बैदेशिक रोजगारीमा नेपालीहरूलाई आकर्षित गर्न वित्तीय तथा मौद्रिक सहुलियत सहित मझौला तथा ठूला उद्योग, उत्पादनमुलक तथा वास्तविक क्षेत्रका कम्पनीहरूलाई सार्वजानिक निष्काशन मार्फत पुँजी संकलनको व्यवस्था गर्न दिनु उचित हुने देखिन्छ । प्रक्रियागत भटको समाधानः बैदेशिक रोजगारीमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो विप्रषण वचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार रूपैया आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको प्रमाणिकरण गर्ने प्रभावकारी व्यवस्था मिलाउने, नेपाल सरकारको सम्बन्धित निकायबाट जारी श्रम स्विकृति र राहदानीको एक्सपाइरी मिति बमोजिम हितग्राही खाताको अवधिको व्यवस्था गर्ने, मेरो सेयर एप मार्फत एकद्धार प्रणालीबाट आवेदन दिन मिल्ने व्यवस्था गर्ने, आवेदनको भाषा नेपाली भाषा वा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्ने व्यवस्था गर्ने आदि मार्फत प्रक्रियागत झटको न्यूनीकरणमा जोड दिनुपर्ने देखिन्छ ।

सरोकारवाला निकायहरू विच समन्वय र सहकार्यः नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सिडिएससी तथा क्लियरिङ्ग लिमिटेड, निक्षेप सदस्य, आस्वा सदस्य बैंक तथा विप्रेषण कम्पनीहरू, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग (श्रम स्विकृति प्रदान गर्ने निकाय), सेयर ब्रोकर, निष्काशन तथा बिक्रि प्रबन्धक सहित सम्पूर्ण सरोकारवाला संघसंस्थाहरू विच प्रभावकारी समन्वय एवं सहकार्यबाट मात्र यस व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न सकिन्छ । तसर्थ, सरोकारवाला पक्षहरू विच उचित समन्वय र सहकार्य कायम गर्दै यस व्यवस्थाको अधिकतम लाभको क्षेत्रमा अगाडी बढ्नु आजको आवश्यकता रहेको छ ।

घ) अन्त्यमा,
बैदेशिक रोजगारीमा रहेको नेपालीलाई सेयर प्रदान गर्ने व्यवस्थाले विदेशबाट नेपालमा औपचारिक माध्यमबाट बिप्रेषण पठाउदा शुल्कको सोधभर्ना सेयर मार्फत हुने तथा बैदेशिक रोजगारीबाट भएको आम्दानी उत्पादनमुलक क्षेत्रमा लगानी भई उचित प्रतिफल समेत प्राप्त हुन्छ । यस व्यवस्थाले राष्ट्रिय पुँजी निर्माणमा सहयोग गरी समग्र देशको औद्योगिकरण तथा औद्योगिक पूर्वाधार निर्माण, विद्युत उत्पादन, प्रशारण र वितरण, पूर्वाधार निर्माण, पर्यटन, व्यापार, यातायात, सञ्चार आदि क्षेत्रहरूमा पुँजी परिपालन भई आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग पुग्नेछ भने राष्ट्रिय बिकासका लागि आवश्यक पुँजीको संकलन भई सार्वजानिक निजी साझेदारी मोडेलको सफतलापूर्वक कार्यन्वयन हुने देखिन्छ नेपालीहरू बैदेशिक रोजगारीका अलवा उच्च शिक्षा अध्ययन, स्थायी बसोबास अनुमति पत्र प्राप्त तथा भारतमा रोजगारमा समेत ठूलो संख्यामा रहेकोले यस्तै प्रकारको आरक्षणको थप आवश्यकता समेत रहेको देखिन्छ ।

नेपालको धितोपत्र बजारमा भएको पछिल्लो असल अभ्यासले प्राथमिक निष्काशनमा ठूलो परिवर्तन भएको छ । प्राथमिक निष्काशनमा सिआस्वा मार्फत आवेदन गर्न सकिने व्यवस्थाले सहज र सरल पहुँच पुग्नुका साथै छिटो छरितो र मितव्ययी सेवा पाइरहेको छन् । प्राथमिक निष्काशनमा दश कित्ते नितीले पचास लाख भन्दा बढिको मेरो सेयर खाता रहेको र करिव पन्द्र लाख सक्रिय लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा कारोवार गरिरहेको वर्तमान अवस्थामा बैदेशिक रोजगारीमा गएका नेपालीहरूले समेत लगानी गर्दा नेपालको पुँजी बजारको दायरा फराकिलो भई नयाँ उचाई बनाउने देखिन्छ यसले लगानीकर्ताको संख्यामा गुणात्मक परिवर्तन हुनेछ भने आवश्यक क्षेत्रमा वचत परिचालन मार्फत लगानीको क्षेत्रहरू खुला भई आर्थिक वृद्धि र बिकासमा सहयोग पुग्ने देखिन्छ । तसर्थ, नेपाल धितोपत्र बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय असल अभ्यासको अनुसरण गर्दै स्वच्छ, पारदर्शी एवं प्रभावकारी पुँजी बजार निर्माणका लागि सरल, सहज, मितव्ययी एवं गुणस्तरिय सेवा प्रवाहमा जोड दिनुपर्ने हुन्छ ।

(प्रकाशित लेख नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवमा प्रकाशित ‘लेख विशेषाङ्क’ बाट साभार गरिएको हो)


प्रतिक्रिया दिनुहोस्