प्राधिकरण र निजि क्षेत्रका जलविद्युत केन्द्रको विद्युत् उत्पादनमा ह्रास आउँदा नाफा प्रभावितः कार्यकारी निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बताए ।
नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले प्राधिकरण र निजि क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा नाफा प्रभावित भएको बताए । उनले भने, ‘गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा हास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ ।’
आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्व १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।
प्राधिकरणले विद्युत् बिकी र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अधि करिव ८१ अर्व रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्व १८ अर्व रुपैयाँ पुगेको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार प्राधिकरणको संचित नाफा ११ अर्वबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको घिसिङले बताए । साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए ।