टप फाइभ माइक्रोफाइनान्सलाई दाँज्दाः छिमेक र साना किसानको अब्बल प्रस्तुति, को कति बलियो (विवरणसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७९।०८०को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अधिकांश लघुवित्तहरुले सार्वजनिक गरी सकेका छन् । लघुवित्तको रिपोर्ट हेर्दा अधिकांशको मुनाफा लगायतका अन्य सूचकमा निराशाजनक रहेको छन् । खराब कर्जा बढ्दा कम्पनीको मुनाफामा पहिरो गएको देखिएको छ ।
आज हामीले भने बजारमा चर्चित लघुवित्त कहलिने पाँच लघुवित्तलाई चौथो त्रैमासिक अवस्थासँग दाँजेर हेरेका छौं । लगानीकर्ता झुम्मिने वा सर्वाधिक रुचाइएका लघुवित्तहरु छिमेक, जीवन विकास, नेष्डो समृद्ध, महिला र साना किसान विकास लघुवित्त को कति बलियो रहेका छन् भनेर विष्लेषण गरेका छौं । यी लघुवित्तहरुले सेयर बजारमा लगानीकर्ताले निकै रुचाएका लघुवित्तमा पर्ने गर्दछन् । सेयर बजारमा समेत यीनिहरुको मूल्य निकै उच्च हुने गर्दछ ।
छिमेक र साना किसानले मात्र बढायो नाफा
असा मसान्तसम्मको अवधिमा नाफा बढाउने कम्पनीमा छिमेक र साना किसान विकास लघुवित्त रहेको छ । तीन वटै कम्पनीको मुनाफा घटेपनि छिमेकको नाफा भने १२.१ प्रतिशतले बढेर १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ पुगेको छ । छिमेक सबै भन्दा बढी नाफा रहेको कम्पनी पनि हो । पाँच लघुवित्तको नाफाको आधारमा छिमेक लघुवित्त निकै बलियो देखिएको छ ।
दोस्रो स्थानमा रहेको साना विकास विकास लघुवित्तको नाफा ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १६.७४ प्रतिशतले बढी नाफा हो । चौथो त्रैमासिकसम्मको अवधिमा जीवन विकास लघुवित्तको मुनाफा ५०.०८ प्रतिशतले घटेर ४० करोड ५२ लाख ४९ हजार रुपैयाँ रहेको छ । जीवन विकास यी पाँच लघुवित्त मध्य सबै भन्दा बढी नाफा घटाउने कम्पनी हो ।
त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको मुनाफा २८.८ प्रतिशतले घटेर १४ करोड ६७ लाख ४८ हजार रुपैयाँ र महिला लघुवित्तको १९.१२ प्रतिशतले घटेर ७ करोड ५५ लाख १८ हजार रुपैयाँ रहेको छ ।
नाफा सर्वाधिक गुमाउनेमा जीवन विकास र कम नाफा रहेकोमा महिला लघुवित्त देखिएको छ ।

चुक्तापूँजीमा साना किसानको अग्रता कायमै, पुछ्रमा महिला
चालु आर्थिक वर्षको चौथो त्रैमासिकको अवस्थालाई हेर्ने हो भने साना किसान विकास लघुवित्तले चुक्तापूँजीका आधारमा पनि आफ्नो अग्रतालाई कायम गरेको छ । कम्पनीको चुक्तापूँजी ११२.९६ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ रहेको छ ।
चुक्तापूँजी धेरै हुने दोस्रो नम्बरमा छिमेक लघुवित्त रहेको छ । कम्पनीको चुक्तापूँजी २२ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा चुक्तापूँजीको आधारमा क्रमशः जीवन विकासको १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ, नेष्डो समृद्धको २२ करोड ५० लाख र महिला लघुवित्तको २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी दुईले घटाउदा तीनले बढायो
खुद ब्याज आम्दानीमा छिमेकको अग्रता देखिएको छ । छिमेकको खुद ब्याज आम्दानी १४.३१ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ संकलन गरेको छ ।
धेरै खुद ब्याज आम्दानी संकलन गर्ने दोस्रो नम्बरमा साना किसान विकास लघुवित्त रहेको छ । यस अवधिमा कम्पनीको ब्याज आम्दानी १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा २३.९६ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा जीवन विकास लघुवित्तले १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तले ३८ करोड ११ लाख रुपैयाँ र महिला लघुवित्तले २९ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

साना किसान र नेष्डोले खराब कर्जा घटाउदा अन्य तीन वटै लघुवित्तको संकुचन
यस अवधिमा तीन वटै लघुवित्तको खराब कर्जा बढेको छ । खराब कर्जा बढेका कारण कम्पनीको मुनाफा समेत प्रभाव गरेको छ । साना किसान लघुवित्तका भने खराब कर्जा ०.७ प्रतिशतले घटेर ०.६१ प्रतिशत रहेको छ । सबै भन्दा कम खराब कर्जा सोहि कम्पनीको रहेको छ । नेष्डो समृद्धको भने खराब कर्जा ०.५ प्रतिशतले घटेर ७.७२ प्रतिशत रहेको छ । पाँच लघुवित्त मध्ये कै यो सबै भन्दा बढी हो ।
यस्तै, क्रमश छिमेक लघुवित्तको ०.८९ प्रतिशतले बढेर १.७२ प्रतिशत, जीवन विकास लघुवित्तको खराब कर्जा १.४८ प्रतिशतले बढेर २.३९ प्रतिशत र महिला लघुवित्तको १.९ प्रतिशतले बढेर ४.९४ प्रतिशत पुगेको छ ।

पाँच वटै कम्पनीको प्रतिसेयर आम्दानी खुम्चियो, नेष्डोको आम्दानी सर्वाधिक
पाँच लघुवित्तमा नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर आम्दानी सबै भन्दा बढी रहेको छ । कम्पनीको उक्त आम्दानी ५७ रुपैयाँ ५५ पैसा रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा २३ रुपैयाँ २८ पैसाले कम हो ।
प्रतिसेयर आम्दानी धेरै हुनेमा साना किसान विकास लघुवित्त दोस्रो नम्बरमा रहेको छ । कम्पनीले उक्त आम्दानी ३ रुपैयाँ ८९ पैसाले घटेर ४० रुपैयाँ ६९ पैसा पुगेको छ ।
यस्तै, छिमेक लघुवित्तको ६ रुपैयाँ ९७ पैसाले घटेर ३७ रुपैयाँ ४५ पैसा, महिला लघुवित्तको २८ रुपैयाँ ५९ पैसाले घटेर ३४ रुपैयाँ ७१ पैसा र जीवन विकासको ३४ रुपैयाँ ४१ पैसाले घटेर ३४ रुपैयाँ २८ पैसा रहेको छ ।

छिमेकको संचालन नाफा सर्वाधिक
असार मसान्तसम्मको अवधिमा यी पाँच लघुवित्त मध्ये छिमेक लघुवित्तको संचालन नाफा सर्वाधिक रहेको छ । कम्पनीको संचालन नाफा ५.७ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १८ लाख रुपैयाँ रहेको छ । जुन यी पाँच लघुवित्त मध्ये कै बढी संचालन नाफा हो ।
दोस्रो स्थानमा सबै भन्दा बढी संचालन नाफा गर्ने कम्पनीमा साना किसान विकास लघुवित्त रहेको छ । कम्पनीको उक्त नाफा १ अर्ब १६ करोड ८ लाख रुपैयाँ रहेको छ । जुन गत आवको भन्दा १६.६३ प्रतिशतले बढी हो ।
त्यस्तै, क्रमशः जीवन विकास लघुवित्तको ५९.०८ प्रतिशतले घटेर ५७ करोड ८९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २८.९९ प्रतिशतले घटेर २० करोड ९६ लाख रुपैयाँ र महिला लघुवित्तको १८.९३ प्रतिशतले घटेर १० करोड ७८ लाख रुपैयाँ संचालन नाफा रहेको छ ।

नेष्डो र जीवनको प्रतिसेयर नेटवर्थ बढी
प्रतिसेयर नेटवर्थमा नेष्डो समृद्ध लघुवित्तको अग्रता रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ ७२ पैसा रहेको छ । जुन पाँच लघुवित्त मध्ये कै सबै भन्दा बढी हो ।
त्यस्तै, जीवन विकास लघुवित्तको २६३ रुपैयाँ ७ पैसा, साना किसानको २५९ रुपैयाँ ३९ पैसा, छिमेकको २३८ रुपैयाँ २७ पैसा र महिला लघुवित्तको २१२ रुपैयाँ ६३ पैसा रहेको छ ।

चार लघुवित्तको जगेडा कोषमा सुधार, नेष्डाको भने घट्यो
असार समान्तसम्मको लघुवित्तको रिपोर्ट हेर्दा चार लघुवित्तको जगेडा कोषमा सुधार देखिएको छ । सबै भन्दा जगेडा कोष संकलन गर्ने लघुवित्तका साना किसान लघुवित्त रहेको छ । कम्पनीको जगेडा कोष १०१.१६ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, छिमेक लघुवित्तको जगेडा कोष ८.३५ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको २.८४ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३१ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३.३३ प्रतिशतले घटेर २५ करोड ५१ लाख रुपैयाँ र महिला लघुवित्तको ३९.८१ प्रतिशतले बढेर २० करोड ६५ लाख रुपैयाँ रहेको छ ।
