बीमालेख धितो कर्जाको माग बढ्दै: ८४ अर्ब ७९ करोड कर्जा प्रवाह, पौने ८ अर्ब ब्याज आम्दानी, कुनको कति ? « Arthapath.com
५ भाद्र २०८०, मंगलवार

बीमालेख धितो कर्जाको माग बढ्दै: ८४ अर्ब ७९ करोड कर्जा प्रवाह, पौने ८ अर्ब ब्याज आम्दानी, कुनको कति ?



काठमाडौं । पछिल्लो समय बीमालेख धितो कर्जाको माग बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर प्रवाह गर्ने कर्जा बढेको हो । 

गत वर्ष कम्पनीहरूले ८४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । ती कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  

अघिल्लो आवको तुलनामा भने कम्पनीहरूको बीमालेख धितो कर्जा २७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्म कम्पनीहरूले ६६ अर्ब ७६ करोड ३६ लाख रुपैयाँ बढी बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।

जीवन बीमा कम्पनीहरूको मुख्य आम्दानीमध्ये बीमालेख धितो कर्जा पनि हो । बीमालेख धितो कर्जा पछिल्लो समय कम्पनीको आम्दानीको नयाँ माध्यम बनेको छ । गत वर्ष कम्पनीहरूले बीमालेख धितो कर्जा लगानीबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीहरूले कर्जा लगानी बढाएसँगै यस बापत हुने आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमालेख धितो कर्जाबाट हुने आम्दानी २७.०७ प्रतिशतले बढेको हो । 

बीमितले आफ्नो आर्थिक समस्या समाधान गर्न पनि यस्तो कर्जा लिने गरेका छन् । बीमालेख धितो राखेर लिने कर्जाले साना तथा घरेलु व्यवसाय गर्न सहज हुने नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । मुख्यतः बीमालेख धितो कर्जाले बीमितलाई भइपरी आउने आर्थिक सङ्कट समाधान गर्न सहज भएको निर्देशक पौडेलले बताए । उनले भने,–‘बीमितले खर्च टार्नलाई यस्तो कर्जा लिने गरेको देखिन्छ । आफ्नो आर्थिक सङ्कट टार्न र साना व्यवसायका लागि यस्तो कर्जा उपयुक्त हुन्छ । यस्तो कर्जा बढ्न स्वाभाविक हो ।’

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ । कम्पनीहरूबाट बीमितले बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन पाइने व्यवस्था रहेको छ । बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ । 

प्राधिकरणले तीन वर्षपछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण/त्याग्न गर्न सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । निर्देशिका अनुसार एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको हो । बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ । 

बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएकाले नै कर्जा प्रक्रिया सहज मानिन्छ । बैङ्कको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झन्झट मुक्त भएकाले बीमालेख धितो राखी कर्जा लिने बीमितको सङ्ख्या बढ्दै गएको देखिन्छ ।एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने–‘बीमितले कर्जाबापत पाउने पैसा आफ्नै हो । कर्जा निकाल्न बैङ्कमा जस्तो झन्झटिलो प्रक्रिया पनि हुँदैन, जसले गर्दा पनि बीमालेख धितो कर्जाको माग बढ्ने गरेको छ ।’

सामान्यतया कम्पनीहरूले ९ प्रतिशतदेखि १२  प्रतिशतसम्मको ब्याजदरमा यस्तो कर्जा प्रवाह गर्ने गरेका छन् । बीमालेख धितो राखेर लिएको कर्जाबाट बीमितहरुले साना तथा घरेलु व्यवसाय समेत गरेको कम्पनीहरूले बताउँछन् । यस्तो कर्जाले साना तथा घरेलु व्यवसाय सुरु गर्न पनि सहज बनाएको कम्पनीहरूको दाबी छ । सोही व्यवसायबाट नै आम्दानी गरी बीमा शुल्क र कर्जाको किस्ता तिर्ने गरेका छन् । 

बीमालेख धितो कर्जा लगानी र आम्दानीमा नेपाल लाइफ, एलआइसी र नेशनल अगाडि

बीमालेख धितो कर्जा प्रवाहमा नेपाल लाइफ, एलआईसी र नेशनल लाइफ अगाडि देखिएका छन् । गत वर्ष नेपाल लाइफले ३० अर्ब ४५ करोड ५९ लाख रुपैयाँ बढी बीमालेख धितो कर्जा प्रवाह गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा थप २२.९५ प्रतिशत कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो कर्जा लगानीबाट हुने आम्दानी पनि २४.६० प्रतिशतले बढेर २ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । 

दोस्रो स्थानमा एलआईसी नेपाल देखिएको छ । कम्पनीका बीमितले गत वर्ष बीमालेख धितो राखी २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लिएका छन् । जुन अघिल्लो आवको तुलनामा भने १९.९१ प्रतिशतले बढी हो । गत वर्ष बीमालेख धितो कर्जा लगानीबाट एलआइसीले २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । 

तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने गत वर्ष बीमालेख धितो  राखेर १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको यस्तो अघिल्लो वर्षको तुलनामा भने ३३.८८ प्रतिशतले बढी हो । गत वर्ष यस्तो कर्जा लगानीबाट कम्पनीले गर्ने आम्दानी भने १० प्रतिशतले बढेर ८२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा अर्ब ७१ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफले ४ अर्ब ७० करोड २३ लाख, सूर्यज्योतिले ३ अर्ब ६७ करोड ६३ लाख, राष्ट्रिय बीमा संस्थानले २ अर्ब ८६ करोड १४ लाख, मेट लाइफले १ अर्ब ५५ करोड ५८ लाख र सानिमा रिलायन्सले १ अर्ब ४ करोड ५७ लाख बढी बीमालेख धितो राखेर कर्जा लगानी गरेका छन् । 

यी कम्पनीहरूको सो कर्जा लगानीबाट हुने आम्दानी भने क्रमशः ४२ करोड २२ लाख,  ४२ करोड ९३ लाख, ३३ करोड २७ लाख, १८ करोड ९ लाख, १५ करोड ८९ लाख र २ करोड ३० लाख रुपैयाँ रहेको छ । 

यस्तै, गत वर्ष प्रभु महालक्ष्मीले ८७ करोड ४३ लाख, आइएमईले ५० करोड ७१ लाख, सिटिजनले ४६ करोड ८१ लाख, सन नेपालले ४६ करोड ६८ लाख र रिलायवल नेपालले ३० करोड ३१ लाख रुपैयाँ बीमालेख धितो कर्जा लगानी गरेका छन् । यी कम्पनीहरूको ब्याज आम्दानी भने क्रमशः ३ करोड ७२ लाख, ५ करोड ३८ लाख, ५ करोड २४ लाख, २ करोड १७ लाख र ९० लाख रुपैयाँ रहेको छ ।  

कुन कम्पनीको धितो कर्जा र आम्दानी कति ?


प्रतिक्रिया दिनुहोस्