अटो बजारमा नफर्किएको उत्साह: ‘नाडा अटो शो’पछि नजिकिएको चाडबाडमा गाडी व्यापारको माहोल कस्तो ? « Arthapath.com
२२ आश्विन २०८०, सोमबार

अटो बजारमा नफर्किएको उत्साह: ‘नाडा अटो शो’पछि नजिकिएको चाडबाडमा गाडी व्यापारको माहोल कस्तो ?



काठमाडौँ । कोरोना महामारी, आर्थिक मन्दी र आयात प्रतिबन्धले मारमा परेको अटोमोबाइल्स क्षेत्रमा अझै उत्साह फर्किएको छैन । अघिल्ला वर्षहरूमा कोरोना महामारीले अटो बजार प्रभावित बन्यो । गत वर्ष  सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र तरलता अभाव भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयातमा पनि प्रतिबन्ध लगायो । त्यसपछि अटोमोबाइल क्षेत्र नै आर्थिक सङ्कटमा गुज्रियो । आयात प्रतिबन्ध, आर्थिक सङ्कट लगायतका कारण गाडी व्यापारमा ठुलो धक्का पुग्यो । केही वर्षदेखि सुस्ताएको यस क्षेत्रमा अझै उत्साह फर्किएको छैन । 

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपाल नाडाले पनि तीन वर्षपछि काठमाडौँको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ आयोजना गर्‍यो । ६ दिनसम्म चलेको विशाल प्रदर्शनीले पनि अटो व्यापारमा केही रौनकता थपिदियो । उक्त अटो शोका अवलोकनकर्ताहरूको पनि उल्लेख्य सहभागिता रह्यो, ७६ हजार भन्दा बढी अवलोकन गरे । सवारी बुकिङ पनि राम्रै  भएको थियो । उक्त शो समापनमा नाडाका अध्यक्ष ध्रुव थापाले सुस्ताएको अटो बजारलाई थप उत्साहित बनाएको बताए । उनले अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताए । उनले भनेका थिए,–‘अटो शोका अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रह्यो । सुस्ताएको अटो क्षेत्रलाई थप उत्साहित बनाउने गरी सर्वसाधारणहरूले सहभागिता जनाए । आर्थिक सङ्कट लगायतका बाबजुद पनि सवारी बुकिङको सङ्ख्याले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।’

अध्यक्ष थापाले भने जस्तै नाडा अटो शोले थप रौनकता बढाएपछि व्यापारीहरू पनि उत्साहित थिए । अटो शो हेर्न आउने सर्वसाधारणको सहभागिताले अटो क्षेत्र थप चलायमान बनाउने आशा व्यक्त गरिरहेका थिए । अब चाडपर्व पनि नजिकै भएकाले अटो बजार थप चलायमान हुने र यसले व्यापारमा थप टेवा पुग्ने उनीहरूको विश्वास थियो । यति बेला नेपाली हिन्दुहरूको महान् चाड मानिने दसैँ, तिहार लगायतका चाडपर्व नजिकिएको छ । विशेषगरि दसैँ तिहार गाडी व्यापारको सिजन मानिन्छ । 

चाडपर्व नजिकिएसँगै व्यापार बढाउनकै लागि सवारीसाधन बिक्रेता कम्पनीहरूले विभिन्न अफरहरू ल्याउने गरेका छन् । चाडपर्व लक्षित अफरले सवारी साधन खरिद गर्न चाहनेहरूलाई धेरै नै आकर्षित पनि गर्ने गरेको छ । ग्राहकले पनि विभिन्न सेवा सुविधा र छुट पाइने भएकाले नै दसैँ तिहारमा नै नयाँ सवारी किन्ने योजना बनाएका हुन्छन् । दसैँ तिहारजस्ता ठुला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । यस वर्षको नाडा अटो शो पछि नजिकिएको चाडपर्वले व्यापारीहरू पनि उत्साहित नै छन् । व्यापार बढाउनैका लागि कम्पनीहरूले विभिन्न अफरहरू पनि अघि सारेका छन् । तर, व्यापारी उत्साहित भए पनि व्यापार भने सुस्त छ, अर्थात् रौनकता छैन ।

केही वर्षअघिको दसैँ तिहारको माहोल  गाडी बिक्रेता कम्पनीहरूका शोरुमहरु ग्राहकको चहलपहल निकै हुने गर्दथ्यो । तर, अहिले बिस्तारै आर्थिक गतिविधि चलायमान हुन थाले पनि अटो बजारमा भने रौनकता फर्किएको छैन । नाडाका महासचिव सुरेन्द्र उप्रेतीले व्यापारमा उत्साह नभएको बताए । आर्थिक सङ्कट र बढ्दो महँगीका कारण नै यस क्षेत्रमा ठुलो धक्का पुगेको महासचिव उप्रेतीको भनाई छ । उनले भने– ‘चाडबाडको बेला हुनुपर्ने व्यापारको रौनकता खास छैन । आर्थिक सङ्कटकै कारण सर्वसाधारण उपभोक्ताको क्रय शक्तिमा ह्रास आएको छ, उच्च महँगी छ । ग्राहकको खरिद गर्ने क्षमता बढ्न सकेको छैन, यसले गाडीको व्यापारमा असर गरेको छ।’

आर्थिक सङ्कट र बढ्दो महँगीले नै मानिसको दैनिक उपभोग्य बस्तु खरिदमा समेत धौधौ भएको उनले बताए । ‘विशेषगरि दुई पाङ्ग्रे सवारीको व्यापार दसैँको बेला निकै नै हुने गरेको थियो । तर, आयात पनि छैन, बिक्री पनि नभएको अवस्था छ । चार पाङ्ग्रेमा पनि चाडपर्वको खासै उत्साह छैन–महासचिव उप्रेतीले भने ।  उनका अनुसार नाडा अटो शोका बुकिङ र बिक्री भएका बाहेक थप व्यापार बढ्न सकेको छैन । अटो बजार सुस्ताउँदा नै गाडी आयातकर्ता र बिक्रेताहरुहरु नाजुक अवस्थामा पुगेको उप्रेतीले बताए । उनले भने,–‘हिजोका दिनहरूमा एउटा इम्पोर्टरले दैनिक २०० देखि ३०० वटासम्म गाडी बेचिरहनुभएको थियो। तर, आजको दिनमा ३०/४० वटा पनि बिक्री भएका छैनन् । अटो बजारको अवस्था दयनीय नै छ ।’ उनले थपे,–‘असोजमा १/२ प्रतिशत भए पनि ब्याजदर घट्छ भन्ने थियो, घटेन । राष्ट्र बैङ्कले पनि नीतिमा खासै एड्रेस गरेन । अहिले पनि अन्यौलकै स्थिति छ ।’ 

कोरोना महामारीदेखि सुस्ताएको अटो बजार अझै लयमा फर्किन सकेको छ । अन्य क्षेत्रहरू बिस्तारै चलायमान हुँदै गए पनि अटो क्षेत्र भने अलि सुस्त नै छ । यद्यपि, यस क्षेत्रलाई चलायमान बनाउनकै लागि बैङ्क तथा वित्तीय संस्थाहरूले पनि जोड दिइरहेका छन् । कर्जा लगानी विस्तारका लागि विभिन्न अफरहरू समेत ल्याएको पाइन्छ । जसले गाडी व्यापारीहरूलाई प्रोत्साहन समेत गरेको छ । ग्राहकलाई पनि सुविधा दिएको छ ।

नाडा अटो शोले व्यापारमा सकारात्मक सन्देश दिएकाले व्यापार बढ्ने नाडाका पूर्व अध्यक्ष कृष्ण दुलालले बताए । उनले भने,–‘नाडा अटो शो बजार चलायमान बनाउने खालको सकारात्मक सन्देश दिएको छ । गत वर्षको तुलनामा भने केही व्यापार बढ्छ भन्ने विश्वास छ । पहिले जस्तो नभए पनि दसैँको माहोल केही मात्रामा देखिएको छ ।’ अटो व्यवसाय पुरानै लयमा फर्कन अझै केही समय लाग्ने उनको भनाई छ । उनले भने,–‘आर्थिक अवस्था अझै नाजुक नै छ, यस्तो अवस्थामा व्यापार त के बढ्थ्यो । अन्य क्षेत्रको पनि दसैँमा हुने व्यापार भएको छैन । यद्यपि, अटो बजार अब बिस्तारै बढ्ने अपेक्षा छ । पुरानै लयमा फर्किन अझै एक वर्ष लाग्छ ।’ 

यता, व्यावसायीहरु पनि बिस्तारै व्यापार बढ्नेमा आशावादी छन् । आर्थिक गतिविधि बिस्तारै बढ्दै गएकाले पनि अटो व्यापार बढ्ने उनीहरूको भनाई छ । ‘पहिलोको जस्तो व्यापार त छैन । दसैँको माहोलमा पहिले पहिले निकै नै चहलपहल हुन्थ्यो, अहिले त्यस्तो छैन । तथापि, अब बिस्तारै बढ्छ, त्यसमा हामी सकारात्मक नै छौँ’–एक व्यवसायीले भने । 

आर्थिक सङ्कुचन र बैङ्क ब्याजदर नियन्त्रण भएको खण्डमा व्यापार बढ्ने उनी बताउँछन् । उनी भन्छन्,–‘विगतका वर्ष भन्दा व्यापार सामान्य बढेको छ, पहिले जस्तो माहोल सृजना नभए पनि अगामी दिनमा बढ्छ भन्ने आशा छ ।’ 

गाडीको व्यापार बढाउनैका लागि कम्पनीहरूले विभिन्न अफर ल्याएकाले पनि कारोबार बढ्ने उनीहरूको तर्क छ । गाडी बिक्रेता कम्पनीहरूले चाडबाडको समयमा नगद छुट, सहज फाइनान्सको सुविधा, बिमा सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सस्तो मासिक किस्ताबन्दी लगायतका योजना धमाधम ल्याइरहेका छन् । यसले पनि ग्राहक आकर्षित भई आगामी दिनमा व्यापार बढ्ने व्यवसायीहरू बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्