युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आव्हान गरेका हुन् । युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए ।