ठूलो र महत्वपूर्ण आयोजना बेवारिसे अवस्थामा पुग्नु दुर्भाग्यः घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् ।
उनले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूलो र महत्त्वपूर्ण आयोजना बेवारिसे अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे । सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गएको असारबाट ठप्प छ ।
ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीवार ललितपुरमा भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने काममा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताए ।